‘समभोक’: भोक, भोग र सम्भोगको त्रिवेणी आख्यान
दुई-दुई थान कथा र कविता संग्रह ल्याएका लेखक शिव प्रकाशले पहिलो आख्यान हालसालै बजारमा ल्याएका छन् । शिखा बुक्सले प्रकाशन गरेको आख्यानले अहिले बजारबाट पाठकको अध्ययन सूचीमा फेरो मारिरहेको छ । झन्डै साढे दुई दशकदेखि अमेरिकामा मुकाम बनाएर नेपाल ओहोरदोहोर गरिरहने लेखक शिव प्रकाशले आफ्नो पहिलो आख्यान पनि नेपाल-अमेरिका जोड्ने पात्रहरुबाटै गरेका छन् । उपन्यासको कथाको क्षेत्रफल नेपालदेखि अमेरिकासम्म पुग्छ । तर, नेपालदेखि अमेरिकासम्म जोड्ने आम प्रचलित कथनभन्दा भिन्न विषयमा भिन्न तरिकाले प्रयोगको प्रयास लेखकले गरेका छन् ।
अमेरिका पुगेका नेपालीहरुको भोक, भोग र सम्भोकको कथालाई मियो बनाएर उनले उपन्यास तयार गरेका छन् । भोकको पक्षमा उनले सुवी नामक पात्र उभ्याएका छन् । अमेरिका पुगेकी सुवीको प्रस्ट भोकवादको दर्शन छ- जीवन भोक हो । शरीरमात्र हो, मान्छे ।
भोगको विम्बलाई लेखकले मुग्धा नामक पात्रबाट देखाएका छन् । मुग्धाको पनि भोगवादको आफ्नै दर्शन छ । मुग्धालाई लाग्छ- जीवन भोक र भोग हो । शरीर र आत्मा हो, मान्छे ।
सम्भोगको पक्ष देखाउन लेखकले सिन्धुका नामक पात्र उभ्याएका छन् । सिन्धुकाको पनि आफ्नै सम्भोगवाद छ । उनलाई लाग्छ- भोक र भोगभन्दा माथि सम्भोग हो, जीवन । शरीर, आत्म र परमात्मा हो, मान्छे । परमात्मा प्राप्ति हो, सम्भोग ।
कथाको भावभूमि पनि अमेरिकै हो । भोगको म्याराथनको गन्तव्य उनीहरुले अमेरिका बनाएका छन् । त्यसलाई चित्र देखाउँदै पुस्तकमा भनिएको छ, ‘अमेरिका भोकको दौड हो । दौडँदै सबै यही आइपुगेका छन् ।’
भोक, भोग र सम्भोगलाई तीन पात्रहरुबाट चित्रित गरिए पनि लेखकले तीनै पात्रलाई असरल्ल पारेका छैनन् । उनले ईशू नामक पात्रलाई मियोको रुपमा उभ्याएर तीन पात्रहरुलाई दौडाउँछन् । घरी उनीहरुसँगै हुन्छन् । घरी अलग हुन्छन् । तर, एकै धर्कोका विभिन्न कुनाहरुमा उनीहरु कथामा उभिन्छन् । कथाको भावभूमि पनि अमेरिकै हो । भोगको म्याराथनको गन्तव्य उनीहरुले अमेरिका बनाएका छन् । त्यसलाई चित्र देखाउँदै पुस्तकमा भनिएको छ, ‘अमेरिका भोकको दौड हो । दौडँदै सबै यही आइपुगेका छन् ।’
साहित्यमा के लेखिन्छ भन्दा पनि कसरी लेखिन्छ भन्ने महत्वपूर्ण हुन्छ । साहित्यमा के कथा छ भन्दा पनि कथालाई कसरी भनिएको छ, त्यो महत्वपूर्ण हुन्छ । यो मामिलामा लेखक सफल जस्तै देखिएका छन् । उनको कथा भन्ने तरिका फरक छ, सुुन्दर छ । उनले अमेरिकाका मान्छेको नग्नतालाई प्रकृतिसँग दाँजेर सुन्दर तरिकाले भनेका छन् । उनी भन्छन्, ‘अमेरिकाको बोस्टन पनि वर्षमा दुईपटक नाङ्गिन्छ । ६ महिना प्रकृति, ६ महिना मान्छे । प्रकृतिलाई हिउँ र स्याँठले नङ्ग्याउँछ । मान्छेलाई मौसम र फेसनले नङ्ग्याउँछ ।’ यही प्रसंगको अभिव्यक्तिमा उनी भोक जोड्दै थप्छन्, ‘प्रकृति भोकाए रुख नाङ्गिन्छन् । मान्छे भोकाए आफै नाङ्गिन्छन् । नग्नता पनि भोक हो ।’
कथालाई संकेतमा भन्नमा पनि लेखक खप्पिस छन् । उनले एक ठाउँमा भनेका छन्, ‘टपरामा दशैँका जमरा पलाएजस्तो ईशूका मनमा भोका जिज्ञासा पलाउँछन् ।’ अर्को प्रसंगमा भनिएको छ, ‘हातले मोबाइल खेलाए पनि मनले भोक खेलाइरहेकी छे । मनमनै भोकका बटन थिचिरहेकी छे ।’ अर्को प्रसंगमा भनिएको छ, ‘उसको हात हल्लाइ पनि वेग्लै छ आज । सुवीका हातले बिदाइ गरेको होइन, बोलाइरहे जस्तो लाग्छ ।’ यी र यस्ता सुन्दर अभिव्यक्तिहरु पुस्तकमा धेरै छन् ।
पुस्तकको नामै नेपाली शब्दकोषमा नपाउने ‘समभोक’ छ । उसो त शब्दकोषमा भएका शब्दहरुमात्रै खोजेर लेख्ने लेखक शिव प्रकाशको लाइन होइन । उनले आफ्ना थुप्रै आलेखहरुमा नयाँ नयाँ शब्द क्वाइन गर्दै आएका छन् ।
लेखकले चयन गरेका अन्य खुद्रा पात्रहरुको नाम पनि रोचक छन् । ‘अँणबहादुर’, ‘ञमराज’ जस्ता नामका पात्रहरु पुस्तकमा छन् । पुस्तकको नामै नेपाली शब्दकोषमा नपाउने ‘समभोक’ छ । उसो त शब्दकोषमा भएका शब्दहरुमात्रै खोजेर लेख्ने लेखक शिव प्रकाशको लाइन होइन । उनले आफ्ना थुप्रै आलेखहरुमा नयाँ नयाँ शब्द क्वाइन गर्दै आएका छन् । कान्तिपुरको कुनै एक आलेखमा उनले ‘बिस्खलन’ शब्द प्रयोग गरेका थिए । स्खलन त सुनिएकै हो । त्योभन्दा डेन्जर र नकारात्मक स्खलन बुझाउन उनले त्यो शब्द क्वाइन गरेका थिए ।
कथाको मूल विषयवस्तुकै भोक, भोग र सम्भोगलाई तीन खण्डमा राखेर उपन्यास तयार भएको छ । भोककी विम्ब सुवी, भोगकी मुग्धा र सम्भोगकी सिन्धुकादेखि उनीहरु विभिन्न चरणमा जोडिने साझा पात्रा ईशूसम्म छ । उनीहरुबीचमा कस्तो तनाव हुन्छ र अन्तिममा कसरी टुंगिन्छ ? त्योबारे बुझ्न त उपन्यास नै पढ्नुपर्ने हुन्छ । सबै कथाभन्दा पढ्न चाहने पाठकलाई अन्याय हुन्छ । तर, उपन्यासमा को प्रोटागोनिस्ट हो भन्नेमा भने मान्छेको फरकफरक मत छ । पुस ३० गते दिउँसो प्रज्ञा डलबी कमलादीमा भएको पुस्तकको विमोचन-विमर्श समारोहमा प्यानलमा बोल्ने शंकर तिवारीले मुग्धालाई प्रोटागोनिस्ट मानेका थिए । समाजशास्त्री सुजना घिमिरेले भने सिन्धुकालाई मानेकी थिइन् । फरकफरक पाठकले फरकफरक पात्रलाई प्रोटागोनिस्ट सम्झनु लेखकले बनाएको अर्को सफलता हो ।
‘विदेशमा धेरैजसोले ठूला महल अगाडि उभिएका, समुद्र किनार डुलेका, पार्कमा घुमेका, राम्रा लुगा लगाएका, गहना भिरेका, कतै बसेका र महँगा गाडी चढेका कुरामात्रै देखाउँछन् । त्यसका लागि आफू जाँतो भएको कहिल्यै देखाउँदैनन् ।’
पुस्तक पढ्नेहरुले भोकको खण्ड अलि धेरै भएको गुनासो गरेका छन् । त्यो गुनासोमा केही बलिया तर्कहरु छन् । उपन्यासमा यो पक्ष सुधार गर्न सकिने ठाउँ छ ।
समभोक भोक, भोग र सम्भोगको कथा मूल कथा भए पनि त्यहाँ अरु कथाहरु पनि छन् । नेपाली झण्डाको टी–सर्ट लगाएकै आधारमा नेपालीहरुको चिनजान भएकोदेखि नेपालीहरुका अमेरिकी दुःखका बान्कीहरुसम्म पुस्तकमा छन् । विदेशमा हुनेहरुले आफ्नो दुःख लुकाएर सुखमात्रै विज्ञापन गर्ने कथालाई देखाइएको छ । एक ठाउँमा भनिएको छ, ‘विदेशमा धेरैजसोले ठूला महल अगाडि उभिएका, समुद्र किनार डुलेका, पार्कमा घुमेका, राम्रा लुगा लगाएका, गहना भिरेका, कतै बसेका र महँगा गाडी चढेका कुरामात्रै देखाउँछन् । त्यसका लागि आफू जाँतो भएको कहिल्यै देखाउँदैनन् । दिनरात नभनी जोतिएको, घामपानी नभनी पसिना बगाएको, ट्वाइलेट-किचेन सफा गरेको, जुठा प्लेट उठाएको, भाँडा माझेको, अरुका छोराछोरीको दिसापिसाब सफा गरेको, बुढाबुढीका र्याल-सिँगान पुछेको पनि कहिल्यै कतै देखाउँदैनन् ।’
समग्रमा ‘समभोक’ नेपाल-अमेरिका जोड्ने आख्यान हो । डीभी भरेर अमेरिका पुगेका नेपाली अनुहारहरुका भोक, भोग र सम्भोगको त्रिवेणी हो पुस्तक । परम्परागत शैलीको आख्यान नभएकाले त्यही शैली खोज्नेलाई नतान्न सक्छ । नयाँपन खोज्नेलाई मज्जाले तान्छ ।
यत्तिमै भोक जाग्यो पढुँ कतिखेर ख्वापख्वाप्ती !