नियुक्तिविना नै क्रिकेट टीमको प्रशिक्षणमा खटाइए मोन्टी देसाई
‘राखेपले स्वीकार नगरे फर्किर्नुपर्ने पनि हुन सक्छ’
काठमाडौं । मोन्टी देसाईले नेपाली राष्ट्रिय क्रिकेट टीमलाई प्रशिक्षण दिन थालेका छन् । औपचारिक रुपमा नियुक्त नभई उनले आइतबारदेखि राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षण सम्हालेका हुन् ।
देसाइको नियुक्ति प्रक्रिया राष्ट्रिय खेलकुद परिषदमा अड्किएको छ । अहिले उनले नेपाल क्रिकेट संघ (क्यान) को आग्रहमा राष्ट्रिय टीमको प्रशिक्षण सम्हालेको क्यानका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले बताए ।
‘क्यानबाट उहाँलाई हामीले प्रशिक्षकको रुपमा राखेपमा सिफारिस गरेका छौं । त्यहाँबाट स्विकृति आएपछि उहाँ औपचारिक रुपमा हाम्रो मुख्य प्रशिक्षकको रुपमा रहनु हुनेछ’, उनले भने ।
खेल नजिकै आइसकेकाले तत्काललाई क्यानको आग्रहमा टीमको प्रशिक्षण सम्हालेको उनले बताए ।
‘राखेपले स्वीकार नगरे उहाँ फर्किर्नुपर्ने स्थिति पनि हुनसक्छ’, मल्लले नेपाल प्रेससँग भने ।
नेपाली राष्ट्रिय क्रिकेट टीमले फागुन २ देखि ९ गतेसम्म त्रिवि क्रिकेट मैदानमा नामिबिया र स्कटल्यान्डसँग आईसीसी पुरुष क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखला खेल्दैछ । जहाँ नेपालले चार खेल खेल्नेछ । त्यसका लागि केही दिनअगाडि क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो ।