सर्वोच्चमा आज टीकापुर घटनाको पेसी, होला त ‘झझी’
कैलाली । सर्वोच्च अदालतमा आज टीकापुर घटनाको पेसी रहेको छ । यस अघि ८ पटक सम्म साधारण तारिक र ५ पटक पेसी सरिरहेको टीकापुर घटनाका विषयमा आज बहस हुने बताइएको छ ।
२०७२ भदौ ७ गते थरुहटको आन्दोलन हिंसात्मक बनेपछि भिडले आक्रमण गरेर नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मीलाई मारिएका थिए ।
उक्त घटनामा रेशम चौधरी सहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । करिब त्यसको २वर्ष पनि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।
फागुन १२ गते रेशम पक्षमा कानुन व्यवसायीहरूले सर्वोच्चमा पुनरावेदनका लागि दिएको निवेदनमाथि आज बहस हुने बताइएको छ ।
सरोज बुढाथोकी,ध्रुवलाल श्रेष्ठ, रन्जितभक्त प्रधानाङ्ग, दीपेन्द्र झा, लोकमनी पोख्रेल, मनिस श्रेष्ठ, आसिश श्रेष्ठ लगायत करिब १ दर्जन बढी वरिष्ठ अधिवक्ताहरूले झझीको लागि बहस गर्ने छन्।
जिल्ला अदालतले ११ जनालाई जन्मकैदको फैसला सुनाएको र उच्च अदालत दिपायलले ८ जनालाई जन्मकैदको फैसला सुनाएको हुँदा सरकारी वकिलले पनि झझीकै लागि बहस गर्ने बताइएको छ । यसअघि सम्म सरेको पेसीमा आज बहस हुने सम्भावना बढी छ ।
टीकापुर घटनाको सन्दर्भमा न्यायाधीशले झझी (झगडिया झिकाऊ)का लागि फैसला गरे टीकापुर घटनाका विषयमा थप बहस हुने छ ।
न्यायाधीशले उच्च अदालतकै फैसला सदर गरे अदालतीय प्रक्रिया मार्फत रेशम रिहाइको बहस सकिने छ ।
कानुन व्यवसायीहरू भने आज दुवै सम्भावना रहेको बताउँछन् ।