चिया किसानलाई अनुदानको रासायनिक मल दिन माग – Nepal Press

चिया किसानलाई अनुदानको रासायनिक मल दिन माग

विराटनगर । झापाका चिया किसानले चिया किसानलाई पनि अनुदानको मल उपलब्ध गराउन सरकार समक्ष माग गरेका छन् ।
मल वितरणमा सरकारले चिया किसानलाई उपेक्षा गरेको उनीहरूको आरोप छ ।

चिया किसान तथा उद्योगीले अन्य कृषि फसलजस्तै चिया क्षेत्रलाई पनि रासायनिक मल आवश्यक हुने भएकाले सरकारले चिया क्षेत्रलाई फरक दृष्टिले हेर्न नहुने बताएका छन् ।

शनिवार बिर्तामोडमा संवाद समूह झापाको संयोजनमा भएको छलफल कार्यक्रममा चिया किसान, उद्योगी र सरोकारवालाले चिया क्षेत्रलाई आवश्यक रासायनिक मल (यूरिया, डीएपी, पोटास, एमोनिया सल्फेटलगायत) सहज उपलब्धताको लागि तीनै तहको सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनीहरूले चिया क्षेत्रले मल नपाइरहेको समस्याको समाधानको लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डमार्फत पहल गर्न, कृषि ज्ञान केन्द्र, कृषि सामग्री कम्पनी, साल्ट ट्रेडिङ लगायतका निकायलाई समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह समेत गरेका छन् ।

अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका–२०७७ले चिया किसानलाई मल दिन बन्देज गराएको भन्दै निर्देशिका संशोधनको माग गरेका छन् ।

२०७७ देखि सरकारले चिया क्षेत्रलाई रासायनिक मल उपलब्ध गराउन छोडेको नेपाल चिया उत्पादक संघका महासचिव शिवकुमार गुप्ताले जानकारी दिए ।

उनले पालिका भित्रका चिया किसानलाई आवश्यक पर्ने मलको परिमाण समेत समावेश गरी प्रदेश र केन्द्र सरकार समक्ष मल माग गर्न आग्रह गरे ।

साना चिया किसानको हकमा चिया सहकारीलाई डिलर दर्ता गरी मल उपलब्ध गराउन तथा चिया कम्पनीको हकमा प्रदेश वा केन्द्र सरकारमार्फत कोटा निर्धारण गरी मल उपलब्ध गराउन गुप्ताले माग गरे ।

झापामा १० हजार ५ सय हेक्टर क्षेत्रफलमा चिया खेती गरिन्छ । उक्त चिया खेतीका लागि वार्षिक १५ सय मेट्रिक टन रासायनिक मल आवश्यक हुने राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्र अधिकारीले जानकारी दिए ।
चिया किसानले २०७६ सालसम्म अनुदानको रासायनिक मल पाइरहेका थिए ।

चिया उत्पादक संघका सहसचिव विनय कुमार गोयलले मलका लागि पटक पटक सरकारको ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएकोमा दुख व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *