रवि लामिछाने प्रकरणमा मिडिया प्रहार- निन्दारसको सामाजिक धारा – Nepal Press

रवि लामिछाने प्रकरणमा मिडिया प्रहार- निन्दारसको सामाजिक धारा

राष्ट्रिय स्वतन्त्र पार्टीको रुपमा उदाएको नवदलका अध्यक्ष रवि लामिछानेले सरकारबाट बाहिरिने पार्टीको निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरे । त्यस पत्रकार सम्मेलनमा उनले वर्तमान सञ्चार जगतका बेथिति र भ्रष्टताबारे खुलेर आफ्नो कुरा राखे । धेरैको मनमा लागेको र मिडियाको सामूहिक आक्रमणमा परिने डरले कसैले पनि बोल्न नसकेको कुरा लामिछानेले बोलेपछि नेपाली मिडियाको एकांकी र अभियानवादी चरित्रमाथि समाजमा बहस हुन थालेको छ ।

तर, परम्परागत मिडिया भाष्य यस्तो डरलाग्दो छ कि मिडिया उद्योगले त्यसको आवरणमा गर्ने जस्तोसुकै अपराध पनि ‘प्रेस र अभिव्यक्ति स्वतन्त्रता’को ढालभित्र सुरक्षित हुनुपर्छ । अभिव्यक्ति स्वतन्त्रता भनेको मिडिया चलाउने र त्यसबाट आफू अनुकूल सञ्चार प्रवाह गरेर निजी फाइदा लिनेहरुको मात्र हुन्छ, अरु जोसुकैले बोल्यो भने त्यो दण्डनीय हो भन्ने भाष्य जबरजस्ती स्थापित गरिएको छ ।

सञ्चार गृहको मालिकले अरु धेरै परियोजनाहरु चलाउन सक्ने र ती जायज-नाजायज परियोजना सफल बनाउने साधनका रुपमा सञ्चारमाध्यमलाई प्रयोग गर्ने हाम्रो समाजको अहिलेको अभ्यास बन्दै आएको छ । स्वार्थअनुसार राजनीतिक दल, राजनीतिक गठबन्धन, व्यापारिक घराना, तिनका वैध/अवैध उद्योगका पक्ष वा विपक्षमा समाजमा वातावरण पैदा गर्नुपर्‍यो, आजका दिनमा नेपाली मिडिया त्यसमा दुरुपयोग भएको छ । अनि यही अभियानको साँघुरो घेरालाई प्रेस र अभिव्यक्ति स्वतन्त्रता भन्दै बाँकीका आवाजहरुलाई निषेध गरिएको छ । यसले समाजमा ठूलो कोलाहल र अराजकता पैदा भएको छ ।

परम्परागत मिडिया भाष्य यस्तो डरलाग्दो छ कि मिडिया उद्योगले त्यसको आवरणमा गर्ने जस्तोसुकै अपराध पनि ‘प्रेस र अभिव्यक्ति स्वतन्त्रता’को ढालभित्र सुरक्षित हुनुपर्छ ।

अझ गहिरिएर हेर्ने हो भने अदालतमा कुन मुद्दामा कस्तो फैसला गराउने, कुन सरकार टिकाउने, कुन सरकार गिराउने, कुन सभामुखले गरेको कस्तो निर्णयमा चुप लाग्ने, कुन इजलासले संविधान मिचेर फैसला दियो भने बचाउ गर्ने र कसलाई अन्याय पर्‍यो भने चुप लाग्ने जस्ता कुरा सबैजसो मिडिया सञ्चालक बसेर तय हुँदै गरेको देखिन्छ । यस्तो सिण्डिकेट टिकाउन र त्यसको निर्णयअनुसार शासन गर्न अघोषित रुपमा न्यायालय, वकिल, सञ्चार गृह र तिनीहरुको अनुकूल राजनीतिक गठबन्धन एकै ठाउँमा रहने अवस्थालाई देखावटी लोकतन्त्रमात्र मान्न सकिन्छ । यसरी शक्ति केन्द्रहरुले एउटै केन्द्रबाट प्रवाह गरेका सूचना जनताको सूचनाको अधिकारको विरुद्धमा हुन्छ । तर, समाजले यस्ता घुमाउरा व्यवहार आफू पीडित भएपछि मात्रै महसुस गर्न पाउँछन् । रवि लामिछानेले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका कुरा त्यस बिन्दुको सुरुवातमात्र हो ।

उनको अभिव्यक्तिको सत्यता परीक्षण समाजले गर्ला र गर्नुपर्छ । तर, त्यसको भोलिपल्टदेखि नै सबैजसो मिडिया रविविरुद्ध जेहाद छेडेर लागेको देखिन्छ । र, पत्रकारको संस्थाको रुपमा देखावटी परिचय पाएको नेपाल पत्रकार महासंघले उही परम्परागत शैलीमा वक्तव्य निकालेर ‘समाचारमा चित्त नबुझे खण्डन गर्ने विकल्प हुँदाहुँदै… प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताविरुद्ध धम्की’ भन्ने चिर्कटोले बहसमा बन्देज लगाएको छ । मिडियाले कसैमाथि संगठित आक्रमण गर्न पाउनु प्रेस स्वतन्त्रता र आक्रमणमा परेको मान्छेले त्यसको प्रतिवाद गर्नु धम्की हुन्छ ? लामिछानेले पत्रकार सम्मेलनमा मिडिया सञ्चालकहरुले अहिले अभ्यास गरिरहेको चरित्र प्रस्तुत गर्दै आफ्नाबारे जे बोले, त्यो उनको खण्डन हो । सञ्चारमाध्यम स्वतन्त्र भएको भए त्यो खण्डनलाई नबङ्ग्याइ प्रस्तुत गर्थे । तर, हाम्रा सञ्चारमाध्यमको राजनीतिक, व्यापारिक र अन्य वैध अवैध उद्देश्य छ, अभियान छ । त्यसैले उनीहरुले त्यसलाई प्रस्तुत गर्दैनन् । आफ्नो स्वार्थअनुरुप एउटाको निन्दामा र अर्काेको रक्षामा भूमिका खेल्छन् ।

नेपाली मिडियाले आफूलाई तटस्थ राखेर, मध्य भागमा राखेर सूचना दिँदैनन् । यिनीहरुले समाचार होइन, समाचारका नाममा त्यसमाथि आफ्नो मत थोपर्छन् । मिडियाको यो एकांकी चरित्रबाट दीक्षित हाम्रो समाज निन्दारसले भरिन पुगेको छ र त्यसको असर सामाजिक सञ्जालमा देख्न सकिन्छ ।

कहिलेकाहीं यसो फुर्सद मिलाएर सामाजिक सञ्जालतिर ध्यान दिनुपर्छ, त्यहाँ समाज सुधारका अनौठा अनौठा आग्रहहरु पढ्न पाइन्छन् । नेतादेखि कार्यकर्तासम्म, प्राध्यापकदेखि पत्रकारसम्म, डाक्टर, कलाकारदेखि कविसम्म सबैका स्टाटसहरु पढ्दा लाग्छ- स्टाटस लेख्ने मान्छे दयालु छ, परोपकारी छ, विवेकी छ, सदाचारी छ, असल गुणले युक्त छ र हरेक विषयको ऊ ज्ञाता छ । बाँकी कोही पनि मान्छे विश्वास गर्न लायक छैन, पाखण्डी छ, भ्रष्ट छ, व्यभिचारी छ र कामै नलाग्ने छ । हरेक मान्छेले आफूलाई यस्तो किन ठानेको छ भने ऊ आजको निन्दालाई आलोचना भन्ने मिडिया भाष्यबाट हुर्केको छ ।

लामिछानेले पत्रकार सम्मेलनमा मिडिया सञ्चालकहरुले अहिले अभ्यास गरिरहेको चरित्र प्रस्तुत गर्दै आफ्नाबारे जे बोले, त्यो उनको खण्डन हो । सञ्चारमाध्यम स्वतन्त्र भएको भए त्यो खण्डनलाई नबङ्ग्याइ प्रस्तुत गर्थे । तर, हाम्रा सञ्चारमाध्यमको राजनीतिक, व्यापारिक र अन्य वैध अवैध उद्देश्य छ, अभियान छ ।

मान्छेले यति उचाइ लिइसकेको भेटिन्छ कि संसारको कुनै पनि कुनामा कुनै घटना भयो भने त्यसमा कसको के दोष छ, कसले गल्ती ग¥यो, को अन्यायमा प¥यो, तत्कालै विश्लेषणहरु आइहाल्छन् । त्यसलाई शत प्रतिशत झूट भएको फैसला ठोक्दै स्टाटस लेखेर उसले ठाउँको ठाउँ ठहरै पार्छ । यति गर्नलाई उसलाई कुनै पनि घटनाका कारण, कार्यहरु जरासम्म पुगेर अध्ययन अनुसन्धान त परै जाओस्, घटना नै भएको हो होइन पनि केही चाहिँदैन । अनि तत्काल मान्छेहरु यो वा त्यो पक्ष लिएर हिलो छ्यापाछ्याप गर्ने लडाइँमा सहभागी भैहाल्छन् । अनि यस्तै हेरेर आइरहेका त्यसका दर्शक, स्रोता या पाठकलाई पनि यस्तैमा कडा शब्दमा निन्दा गर्न सक्ने, एकदमै व्यवस्थित रुपमा विरोध गर्न सक्नेलाई सक्षम, इमानदार र परोपकारी ठान्ने मनोविज्ञान पनि साथैमा विकास भैरहेको छ । यसरी मान्छेले आफू सर्वज्ञानी, जनप्रिय र असल देखिने (हुने होइन), होडमा प्रेम, श्रद्धा, आदरबाट छुटिएर चरम निन्दक रुप धारण गरिहेको देखिन्छ । अरुको निन्दा गर्न सक्ने मान्छे सक्षम, अरुको दोष देखाउन सक्ने मान्छे निर्दाेष, अरुलाई बेइमानी सावित गर्न सक्ने मान्छे इमानदार । यस्तो सांस्कृतिक विचारधाराले समाजलाई छोपिरहेको छ । नेपाली समाजमा यो चरित्र धर्महीन मिडियाले विस्तार गरेको हो । समाजलाई निन्दा रसमा डुबाएर समाज प्रगति लायक बन्न सक्दैन ।

आलोचना र निन्दामा भिन्नता छ भन्ने कुरा आजको मिडिया जगतले बेवास्ता गरेको छ । पहिला निन्दा शब्दको अर्थ के रहेछ, त्यो हेरौं । निन्दा- अर्काको कुरा काट्ने, कुनै व्यक्ति वा वस्तुको नभएको खोट देखाउने र उल्टो पार्ने काम । अरुको बदनाम गर्नु, तिरस्कार, हेंला, खिल्ली उडाउनु, घृणा या अवज्ञा गर्नु (नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा प्रतिष्ठान)

यस्तो निन्दामा खटिएका हामी आफूले जे कुराको धुँवादार विरोध गरेको छ, त्यही ठाउँमा आफैं भएको भए के गरिन्थ्यो होला भन्ने सोच्न सक्दैनौं । के ‘आलोचनात्मक चेत’ भएपछि जस्तोसुकै चरित्रको भए पनि असल सावित हुने मनोविज्ञानले मानिसलाई परनिन्दाको मैदानमा उतारेको हो ? विरोध गर्दा पाठक र दर्शकबाट वाहवाही पाइन्छ भन्ने लोभले नै मान्छे यस्तो भएको पो हो कि ? कि निन्दाप्रति समाजले भरोसा राख्ने भएर हरेक मान्छेहरु निन्दामा रमाएका हुन् ? यस आलेखमा निन्दा लोकप्रिय हुँदै जाँदा निन्दाका कारण समाजका सही प्रयासहरु पनि असफल हुँदै जाने खतरा रहेको अवस्थामा निन्दामा आकर्षित हाम्रै चेतबारे चर्चा गरौं ।

सुरुमा मान्छेमा आलोचनात्मक चेत कसरी तयार भयो भन्ने कुरा हेरौं । आलोचना सुधारको लागि हुनु गलत हुँदैन । तर, सही भैरहेको कुरालाई पनि आलोचना गरी गरी गलतमा परिणत गरिदिने संगठित अभियानले यस्तो अन्धाधुन्ध निन्दा जन्माएको देखिन्छ । आजको समयमा मिडियाले गरेको अभ्यास सूचनालाई आफ्नो उद्देश्य अनुकूल बनाएर प्रस्तुत गर्नु नै हो र त्यसबाट जन्मिने निन्दा नै हो ।

मान्छेले यति उचाइ लिइसकेको भेटिन्छ कि संसारको कुनै पनि कुनामा कुनै घटना भयो भने त्यसमा कसको के दोष छ, कसले गल्ती गर्‍यो, को अन्यायमा पर्‍यो, तत्कालै विश्लेषणहरु आइहाल्छन् । त्यसलाई शत प्रतिशत झूट भएको फैसला ठोक्दै स्टाटस लेखेर उसले ठाउँको ठाउँ ठहरै पार्छ ।

मिडियाको संगठित अभियानको रुपमा यस्ता ‘आलोचना’ आउन थाले भने झनै डरलाग्दो हुन्छ । आलोचना व्यक्तिको निजी दृष्टिको आधारमा हुनुपर्छ, संगठित सञ्चार अभियानमा आधारित होइन । अर्थात् सञ्चारमाध्यम संगठित हुने अंग होइन, यसले देखिएका घटनामा आफ्नो विवेक प्रस्तुत गर्ने हो । तर ‘आलोचनात्मक चेत’लाई अचेल आम सञ्चारमाध्यमहरुले परोपकारी चरित्रका रुपमा व्याख्या गरेको पाइन्छ ।

कतिसम्म भने यस्तो निन्दाको लागि संगठित रुपमै काम हुन्छ । यसरी संगठित, नियोजित रुपमा अभियान चलाउनु र उसले राम्रो देखाउन खोजेकोलाई सफल बनाउनु र नराम्रो देखाउन खोजेकोलाई असफल बनाउन चलेको अभियानबाट नै हाम्रो समाज निन्दामुखी भएको छ । नराम्रो भएर होइन, नराम्रो देखाउनुपर्ने अभियानमा आफू भएर । आफू र आफ्नोलाई राम्रो भएको देखाउन अरुलाई निचो देखाउन यो सबै गरिन्छ । पञ्जाबी भाषामा एक चर्चित भनाइ छ- ‘त्वडा कुत्ता टमी, स्वडा कुत्ता कुत्ता ।’ अर्थात् दुबै गल्लीकै कुत्ता हुन्, तर आफ्नो कुत्तालाई उन्नत जातको भएको र अरुको कुकुरलाई चाहिं गल्लीको देखाउनुपर्छ । अहिलेको सञ्चार प्रवृत्तिमा यस्तो समस्या देखिन्छ । यहाँ भने झैं हामी एकअर्कालाई हिलो छ्याप्ने कोही पनि उन्नत चेतका होइनौं, दुबै गल्लीकै हौं । तर, आफू र आफ्नालाई उन्नत भएको देखाउन अरुलाई खराब (गल्लीको) देखाउन लागिपरेका छौं ।

अहिले त यस्तो भैसक्यो कि कुनै मुद्दामा कसैले (व्यक्ति या मिडिया) केही लेख्यो भने कति लुकाएर लेख्यो, कति बढाएर लेख्यो, किन र केका लागि लेख्यो भन्ने कुरा पढिनसक्दै चाल पाइन्छ । लाइभकास्ट भएका कार्यक्रमहरुकै सञ्चारमाध्यममा समाचार आउँदा आकाश जमिनको अन्तर देख्न सकिन्छ भने ‘स्रोतका अनुसार’ भनेर आफ्ना इच्छा लादेका समाचारहरुको हालत के होला ? अनुमानको कुरा, त्यस्तो नहुन पनि सक्छ– रवि लामिछानेको पत्रकार सम्मेलनमा लाइभ गरेका मूलधारका मिडियाले पक्कै उनले प्रधानमन्त्रीविरुद्ध बोल्नेछन् र गठबन्धन टुटेर सरकार ढल्नेछ भन्ने अनुमान गरेका थिए । तर, मिडियाकै चरित्रबाट एकएक पोल खोलिन थालेपछि कतिपयले बीचमै लाइभ गर्न रोकेका थिए ।

निन्दा पनि एक उच्च कोटीको हिंसा हो । आज हामी देख्दैछौं, जुनसुकै विषय होस्- सामाजिक सञ्जालमा निन्दाको बाढी छ । कुनै विषय उठ्छ । त्यसमा अनुसन्धान नै भएको छैन, निन्दा पोख्न खप्पिसहरुका निन्दाले उठ्नै नसक्ने गरी उसको उत्साह ढलिसकेको हुन्छ ।

अब निन्दाप्रतिको मानसिक आकर्षणबारे केही कुरा गरौं । मान्छे आफूसँग केही नभएर होइन, अर्कासँग केही भएर दुःखी छ । अनि उसलाई जोसँग छ भन्ने लाग्छ त्यसको निन्दामा खटिएको देखिन्छ । आफूसँग हुनुपर्ने ठानेको कुरा अर्काेसँग देखियो भने हरेक मानिसको मनमा त्यो कुरा आफूसँग नभएको मानसिक असन्तुष्टि हुर्किन्छ । म कस्तो हुन चाहन्थें, आफ्नै मूल्याङ्कनमा पनि त्यस्तो हुन सकिनँ । अनि जब अर्कै मान्छेले मैलेभन्दा बढी प्रगति गरेको देख्छु तब म उसको निन्दामा जोडिन्छु । किनभने उसको भित्र ईर्ष्याले काम गरेको छ । चलनचल्तीको राजनीतिकै कुरा गरौं- आफू संलग्न नरहेको दलको नेता मैले अपेक्षा गरेको भन्दा वा म संलग्न दलको नेता भन्दा क्षमतावान छ । म त्यो कसरी हेरुँ ? मसँग नभएको कुरा अर्काेसँग भएको गुनासोबाट मेरो मनमा निन्दा जन्मिन्छ । अनि मेरो काम सधैं त्यस नेताको निन्दा गर्नु हुनेछ । कसैले केही काम गर्‍यो भने त्यसमा दोष के छ, त्यसको खोजीमा मात्र म व्यस्त रहन थाल्छु । आफू स्वयं त्यस्तो इमानदार हुन सक्दैन । तर, त्यो चाहिँ इमानदार हुनै पर्‍यो ।

निन्दा पनि एक उच्च कोटीको हिंसा हो । आज हामी देख्दैछौं, जुनसुकै विषय होस्- सामाजिक सञ्जालमा निन्दाको बाढी छ । कुनै विषय उठ्छ । त्यसमा अनुसन्धान नै भएको छैन, निन्दा पोख्न खप्पिसहरुका निन्दाले उठ्नै नसक्ने गरी उसको उत्साह ढलिसकेको हुन्छ ।

आजभोलि सामाजिक सञ्जालमा निन्दाका सारतत्व हुन्छन्- मबाहेक सबै इमानदार हुनुपर्छ । खासमा मान्छेमा दया, विनम्रता, समर्पण, प्रेमको भावनात्मक गुण हराउँदा यस्ता निन्दा रस देखापर्ने हो । जब कृतज्ञता हराउँछ तब मान्छेमा निन्दा जन्मन्छ । विनम्र हुनु र कुनै पनि विषयमा प्रतिक्रिया नजनाउनु उसको त्यो विषयमा कुनै विचार वा धारणा छैन भन्ने बुझ्नु हुँदैन । विनम्रताको अर्थ निरीहता होइन । तर, आजको समाजमा निन्दालाई आलोचना र विनम्रतालाई निरीहताको रुपमा बुझ्ने गरिएको देखिन्छ । कसैमाथि हावी नहुनु विनम्रता हो, नजानेर र नसकेर होइन । श्रेय लिने मनोकांक्षा नभएर दाबी पेश गर्न नखोज्नु र सबैभन्दा पछि हुने भाव नै विनम्रता हो । विनम्रताको अर्थ झुकेको, नम्र, विनित स्वभाव (नेपाली बृहत् शब्दकोश नेपाल प्रज्ञा प्रतिष्ठान) हो । यसको मतलब निन्दा र विनम्रता दुबै चरित्रको स्रोत हामीभित्रको भाव जगत हो ।

हरेक मान्छे गहिरोमा कृतज्ञ र शान्त हुन्छ । तर, जब निन्दाले भरिन्छ तब अशान्त र क्रोधी हुन्छ । क्रोधले आफ्नो विचार प्रतिकूल कुनै पनि कुरा देख्न सक्दैन । आफू हुनुको अर्थ उसले सबै कुरामा खोज्छ । अस्पतालमा कुनै नचिनेको बिरामी आफूले थाहा नपाएको रोगले मर्‍यो भने त्यहाँ डाक्टरको दोष देखिहाल्छ । डाक्टर बेइमान भन्ने देखाउँदै तत्काल प्रतिक्रिया नदिइ त्यस्तो व्यक्तिले आफूलाई इमानदार सावित गर्नै सक्दैन । किनभने डाक्टरलाई खराब नदेखाई आफू असल भएको देखाउने ऊसँग कुनै बाटो हुँदैन । अनि उसले निन्दापूर्वक लेखेका कुरालाई हामी सबैले ऊ इमानदार र डाक्टर बेइमान रहेको रुपमा बुझेर प्रतिक्रिया दिन्छौं । यसरी निन्दा रसले समाजको असल सम्भावना मर्दै जान्छ र निन्दक व्यक्ति सुपात्रको रुपमा उदाउन थाल्छ ।

तर, सञ्जालमा यस्तो भयो भन्दैमा के संसारमा सबै मान्छे निन्दकमात्र छन् त ? त्यसो पनि होइन । यस विषयमा हाम्रा वैदिक ग्रन्थहरुले राम्रो दृष्टि दिएका छन् । अष्टाबक्र संहिताअनुसार मानिसमा उत्पन्न यस्ता व्यवहार तीन खालका दृष्टिमा निर्भर हुन्छ । बाहिर दृष्टि दिने व्यक्तिले आफूलाई दर्शक चेतनाबाट चलाइरहेको हुन्छ । ऊ दृश्यअनुसार प्रभावित हुन्छ । उसले हरेक दोस्रोमाथि बढी टिप्पणी गर्छ । दोस्रो व्यक्ति यस्तो हुनुपर्थ्यो, यस्तो भयो, उसको कार्यशैली यस्तो हुनुपर्थ्यो, त्यस्तो भयो भन्ने जस्ता अरुका व्यवहारबाट ऊ आफूलाई प्रभावित गरिरहेको हुन्छ । ऊ आफूबाट नियन्त्रित छैन, अरुको व्यवहारबाट उसले के गर्ने भन्ने निर्धारण हुन्छ ।

दोस्रोथरि व्यक्ति, जो दृश्य चेतनाबाट प्रभावित हुन्छन् । अरुले आफूलाई कस्तो देख्छ, कस्तो भन्छ, आफू नराम्रो देखिने हो कि भन्ने कुराले उसको जीवन पद्धति सञ्चालित हुन्छ । राम्रो हुने होइन, राम्रो देखिने ध्याउन्नमा यस खालका व्यक्तिहरु केन्द्रित हुन्छन् । आजको समाजमा सामाजिक सञ्जालसम्म आएर पोखिनेको मूल प्रवृत्ति यिनै आफूलाई अब्बल र अरुलाई खराब देखाउने प्रयासस्वरुप नै भएका हुन् ।

कहाँसम्म भने मान्छे प्रेमी र खुशी भएको देखाउन पनि सामाजिक सञ्जालमा आउँछ । खासमा यसरी देखाउन ऊ किन उद्यत हुन्छ भने असलमा ऊ प्रेमी र खुशी दुबै हुँदैन र सान्त्वनाको लागि उसले सञ्जालको सहारा लिन्छ । यसरी मान्छे प्रेमी, ज्ञानी हुनुमा नभएर देखिनुमा लालायित छ । यसरी अन्त्यमा ऊ निन्दामा पुग्छ ।

असल हुनु नहुनुसँग होइन, अरुले असल ठानून् भन्नुसँग उसको सरोकार हुन्छ । सामाजिक सञ्जालको मूल लडाइँ आफूलाई असल पार्ने होइन, असल भएको देखाउने प्रयास नै हो । कहाँसम्म भने मान्छे प्रेमी र खुशी भएको देखाउन पनि सामाजिक सञ्जालमा आउँछ । खासमा यसरी देखाउन ऊ किन उद्यत हुन्छ भने असलमा ऊ प्रेमी र खुशी दुबै हुँदैन र सान्त्वनाको लागि उसले सञ्जालको सहारा लिन्छ । यसरी मान्छे प्रेमी, ज्ञानी हुनुमा नभएर देखिनुमा लालायित छ । यसरी अन्त्यमा ऊ निन्दामा पुग्छ ।

तेस्रोथरि व्यक्तिको चेतनाको स्रोत आफूमै निहित हुन्छ । त्यस्तो व्यक्तिले आफूले के गर्नु ठीक र के गर्नु बेठीक भन्ने कुरामा ध्यान दिन्छन् । आफूले गरेको कामलाई अरुले के भन्छन् भन्नेमा र अरुले के गर्नुपर्छ वा के गर्नु पर्दैन भन्नेमा उनीहरु मतलब राख्दैनन् । त्यसलाई अष्टाबक्रले आफूमा स्थितचित्त भनेर व्याख्या गरेका छन् ।

खासमा घरघरमा होस्, अफिस, सञ्चारका माध्यम या सञ्जालमा, आखिरमा निन्दा रस त व्यक्तिभित्र तयार हुने कुरा हो । आफूभित्रको हास्य रसले आफूलाई नै प्रफुल्लित बनाएर, त्यसबाट अरुभन्दा पहिले आफैं लाभान्वित भए जस्तै निन्दाको मनोवैज्ञानिक असर पनि पहिले निन्दकलाई नै पर्छ । निन्दा गरेपछि तत्काल त तँलाई दबाएँ भन्ने परेर रमाइलो हुन्छ । किनकि मान्छे अरुलाई दबाउँदा खुशी हुन्छ । तर, त्यसले फेरि अर्को निन्दाको लागि आफूलाई तयार गर्छ । त्यसपछि फेरि अर्को निन्दा हुँदाहुँदै हरेक पटक निन्दा दोहोरिँदा मन मष्तिष्कमा निन्दाको स्वचालित सञ्जाल (सिस्टम) तयार भइसकेको हुन्छ । जसले जे देखे पनि प्रेमको ठाउँमा पनि निन्दामात्र उत्पन्न गर्छ । फेरि अरुलाई जलाउन तयार पारेको त्यो निन्दाको आगो पहिला आफैंभित्र तयार हुनुपर्छ । पहिला त्यसले आफैं जल्नुपर्‍यो । अर्को, दोस्रोलाई त्यो प्रहार लाग्छ नै भन्ने पक्का पनि छैन । तर, प्रहार गर्नेको मन भने जलिसकेको हुन्छ । बुद्धले भनेका छन्- बलिरहेको अंगार तिमीले अरुमाथि फ्याक्न टिप्यौ भने उतिर फ्याँकेको आगोले ऊभन्दा पहिला तिमी जल्छौ (गौतम बुद्ध, ५६३-४८३) । त्यस्तै निन्दा अरुमाथि फ्याँक्न तपाईंले तयार गर्नुभएको मनभित्रको आगो हो । कतिले अरुलाई नराम्रो देखाउनकै लागि नक्कली आईडी बनाएर भिडिरहनुभएको हुन्छ । यस्तो गर्नेलाई मैले मेरो नामबाट चलाएको छैन, मलाई असर गर्दैन भन्ने लाग्ला । तर, जुन नामबाट लेख्नुस्, त्यो निन्दारुपी लाभा बन्ने त तपाईंभित्र नै हो । त्यो झन् असरदार हुन्छ ।

निन्दामात्र हैन करुणा, प्रेम या रिस जति रफ्तारमा हामी अरुमा प्रक्षेपण गर्छौं त्यति नै आफूतिर फर्कन्छ । अर्थात् हामी जति जोडसँग अरुलाई नराम्रो बनाउन लागिपर्छौं, त्यति नै जोडले हामीले आफूभित्रको सुन्दरता गुमाउँछौं । किनकि हरेक क्रियाको बराबर विपरीत प्रतिक्रिया हुन्छ । यो कुरा न्युटनको ल (न्युटन १६४३-१७२६) ले पनि प्रमाणित गर्छ । यसलाई बुझ्न सामाजिक सञ्जालमा लामो समयदेखि निन्दा लेखिरहेकाहरु हिजो र आज कस्ता भएका छन्, तिनीहरुलाई पनि हामीले देख्न सक्छौं । खासमा सधैं निन्दामात्र लेखिरहने मानिसहरु मानसिक रुपमा निकै विक्षिप्त देखिन्छन् ।

अरुलाई जलाउन तयार पारेको त्यो निन्दाको आगो पहिला आफैंभित्र तयार हुनुपर्छ । पहिला त्यसले आफैं जल्नुपर्‍यो । अर्को, दोस्रोलाई त्यो प्रहार लाग्छ नै भन्ने पक्का पनि छैन । तर, प्रहार गर्नेको मन भने जलिसकेको हुन्छ । बुद्धले भनेका छन्- बलिरहेको अंगार तिमीले अरुमाथि फ्याक्न टिप्यौ भने उतिर फ्याँकेको आगोले ऊभन्दा पहिला तिमी जल्छौ (गौतम बुद्ध, ५६३-४८३)

खासमा आफूलाई श्रद्धा गर्ने मान्छेले अरुको निन्दा गर्नै सक्दैन । जसलाई आफूप्रति कुनै विश्वास छैन, उसले नै अरुको खोट निकाल्न लागिपर्छ । र, अरुको हुनुलाई नराम्रो बनाउन कोसिस गरिरहन्छ । आफैंमा रमाइरहेका मान्छेलाई त आफ्नो जीवनबाट बाहिर आएर दुनियाँलाई कमेन्ट गरेर बस्ने फुर्सद नै हुँदैन ।

हामीमध्ये धेरैले यो ठान्छौं, मैले विरोधमा लेखिन भने, मैले कराइन भने, मैले चर्काे आवाज उठाइन भने समाज खत्तम हुन्छ । मैले त सुधार्न लेखेको हुँ । तर, अरुमा दोष देख्नु भनेको आफ्नो घरमा (मनमा) तयार भएको फोहोर लगेर अर्कोको आँगनमा फ्याक्नु जस्तै हो । तपाईंले तपाईंको घरमा (मनमा) तयार भएको कसिंगर (छुद्र विचार) अर्कोको आँगनमा फ्याँक्दा उसले त्यसलाई बढारेर सफा पार्छ । तर, तपाईंको फोहोर उत्पादन गर्ने कारखाना त सधैं दुर्गन्धित नै हुन्छ । अनि कहिले तपाईंको मन र समाज सफा हुन्छ ?

खासमा समाजमा खराबी छ भने अरुले पनि बुझ्छ । असल छ भने पनि बुझ्छ । आफैंले नबुझी मैले कराएको भरमा कोही पनि परिवर्तन हुनेवाला छैन भन्नेमात्रै आफूले बुझ्न बाँकी हो । त्यसरी हुने परिवर्तन एउटा कृत्रिम कोलाहलमात्रै हो । खासमा सुधार अरुमा नभएर स्वयं निन्दकमा हुन जरुरी हुन्छ । लाओत्सेले भनेका छन्- तिमी आफू आफूलाई सम्हाल । अरु मान्छे आफैं सम्हालिन्छन् । तिमी आफू आफूलाई बदल, मान्छेहरु आफैं बदलिन्छन् । यस्तै महात्मा गान्धीले भनेका छन्- ‘जो संसार बदल ने चाहते है । खुद मे एक बदलाव लाने चाहिए ।’

तर, विडम्बना यहाँ त निन्दा ओकलिरहने मान्छेहरु नै सेलिब्रिटीका रुपमा छन् । जसले जति धेरै निन्दा गर्न सक्यो, त्यो उति चर्चित । अझ बोल्दा पनि दाह्रा किटेर, छाती पिटेर बोल्ने नेतालाई क्या सहासी, भविष्यमा नेतृत्व गर्न सक्ने भन्ने ठान्न पुगेका छौं । राम्रो कुरालाई पनि नराम्रो बनाएर विरोध गर्न सक्नु नै मुख्य योग्यता हो भन्ने भ्रम परेको छ ।

यहाँ त निन्दा ओकलिरहने मान्छेहरु नै सेलिब्रिटीका रुपमा छन् । जसले जति धेरै निन्दा गर्न सक्यो, त्यो उति चर्चित । अझ बोल्दा पनि दाह्रा किटेर, छाती पिटेर बोल्ने नेतालाई क्या सहासी, भविष्यमा नेतृत्व गर्न सक्ने भन्ने ठान्न पुगेका छौं ।

हाम्रो निन्दाले केही फरक पार्ने कुरामा मात्र होइन, फरक नपार्ने कुरामा पनि हामी निन्दा नगरी बस्न सक्दैनौं । जो बाइडेन, पुटिन, इलन मस्क आदि सबैका असल र खराब गुण हामीलाई थाहा छ । उनीहरुको विरोध वा समर्थन पनि हामी यहाँ कसैको निन्दा वा कसैको स्तुतिका लागि मात्रै गरिरहेका हुन्छौं । यहाँको राष्ट्रपतिको विरोध गर्नु पर्‍यो भने अर्काे कुनै देशको राष्ट्रपतिबारेको अल्प सूचनालाई लिएर प्रशंसा गर्छाैं । कतिपयले यसलाई सेन्स अफ ह्युमर बताउँछन् । तर, यो सेन्स अफ ह्युमर नभएर सेन्स अफ स्याडनेसको अवस्था हो । सकारात्मक बाटो प्रयोग गरेर नकारात्मक गन्तव्यमा पुग्ने यो एक प्रकारको मानसिक रोग नै हो । सेक्सपियरले भनेका छन्- ‘केही पनि कुरा राम्रो या नराम्रो भन्ने हुन्न, मात्र हाम्रो सोचले त्यस्तो बनाइदिन्छ ।’ किनकि सिनो हाम्रो लागि सबैभन्दा फोहोर चिज भए, त्यही कुरा गिद्धको जीवन हो, प्राण हो ।

के त्यसो भए निन्दाको निदान छैन त ? अवश्य छ । निन्दा मेटाउने एउटै उपाय हो कृतज्ञता । कृतज्ञ हुँदा पाएको आनन्द खिसीबाट पाउन सकिन्न । यहाँ एउटा भनाइ राखौं- कृतज्ञता एक भ्याक्सिन हो, जसले मनको विष नास गरिदिन्छ (जोन हेनरी, १८६४-१९२३)

यो आलेख पढ्न छोडेर एकछिन् आँखा चिम्म गरेर सोच्नुस् त, निन्दाबाहेक अरुलाई दिने कुरा हामीसँग केही छैन ? अवश्य छ । हामीमा प्रेमिल मन छ, यही बाँटौं न ! भनाइ छ-‘तिमी संसारकै सबैभन्दा शक्तिशाली व्यक्ति हौ, किनकि तिमीसँग दिनको लागि कति धेरै प्रेम छ’ (कन्फुसियस (५५१–४७९)

यिनै जीवन बुझेकाहरुको गहिराइलाई मनन गर्दै आलेखको अन्तिममा भन्न मन लागेको एउटा कुरा- हामी सबैलाई हतार छ । त्यही हतारोले हामी आफूलाई बुझ्दैनौं र जसले आफूलाई बुझ्न सक्दैन, त्यसले कसैलाई पनि बुझ्दैन । हतारमा टिप्पणी गर्ने, बोल्ने, लेख्ने आदत छोडेर जीवनका सबै रसहरुको सन्तुलन राख्नु आवश्यक छ । सबै किसिमका आवाजका तारहरुबाट मात्रै मीठो संगीत पैदा हुन्छ । त्यस्तै संगीत हामीभित्र छ, जो हामीले बोकेको निन्दा रसको कर्कस आवाजले बिलाएको छ । त्यसैले हृदयको वीणा बजाउँ, करुणाको रस फैलाउँ, संसार सुखमय छ । सञ्चारमाध्यमलाई पनि निन्दा रस फैलाउने भाष्यबाट मुक्त पारौं ।


प्रतिक्रिया

One thought on “रवि लामिछाने प्रकरणमा मिडिया प्रहार- निन्दारसको सामाजिक धारा

  1. अभिव्यक्ति स्वतन्त्रता भनेको मिडिया चलाउने र त्यसबाट आफू अनुकूल सञ्चार प्रवाह गरेर निजी फाइदा लिनेहरुको मात्र हुन्छ, अरु जोसुकैले बोल्यो भने त्यो दण्डनीय हो भन्ने भाष्य जबरजस्ती स्थापित गरिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *