मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम छिटो लागू गर्न वितरक संघको माग (भिडिओ)
काठमाडौं । नेपाल मोबाइल वितरक संघले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस) छिटो भन्दा छिटो लागू गर्न माग गरेको छ ।
वुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले एमडिएमएस रोकिदा अबैध फोन कारोबार गर्नेलाई फाइदा पुगकोे भन्दै छिटो भन्दा छिटो लागू गर्न माग गरेको हो । यसअघि पुस १५ गतेदेखि लागू हुने भनिएको एमडीएमएस अन्तिम समयमा आएर रोकिएको थियो ।
संघका अध्यक्ष दिनेश चुल्याद्योलेले एमडिएमएस प्रणाली नेपालमा भित्रने मोवाइलहरुको तथ्याङ्क राख्ने तथा नियमन गर्ने प्रणाली भएको र अहिल प्रणालीमा समस्या नभई कर व्यवस्थापनमा समस्या देखिएको बताए । एमडीएमएस लागू नहुँदा वार्षिक १४ अर्ब बराबरको अवैध भन्सार नतिरी फोनहरु भित्रने उनले दाबी गरे ।
त्यस्तै, उनले अहिले कर तिरेर कारोबार गर्ने व्यवसायीहरुको मोवाइल बिक्री वितरणमा कमी आएको बताए । एमडीएमएस लागू भएमा वैदेशिक रोजगारी तथा अन्य सिलसिलामा गएका नेपाली नागरिकले ल्याउने वा पठाउने फोनमा समस्या आउने कुरा भ्रमपूर्ण रहेको उनको भनाइ छ ।
पत्रकार सम्मेलनमा नेपाल दूरसञ्चार प्राधिकरणका सहायक निर्देशक अच्युतानन्द मिश्रले एमडीएमएसलाई पूर्ण रुपमा लागू गर्न गृहकार्य नपुगेकाले तत्कालका लागि स्थगीत गरिएको बताए । उनले एमडीएमएसको परिक्षणकालमा व्यक्तिगत भन्दा पनि अवैध बजारबाट भित्रिएका मोवाइलको दर्ता भएको देखिएको बताए ।
गत पुस १५ गतेदेखि दूरसञ्चार प्राधिकरणले एमडीएमएस कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो । तर, विदेशबाट एक भन्दा बढी मोबाइल ल्याउन नपाइने नियमसँगै चौतर्फी बिरोध पछि प्रधानमन्त्रीले एमडीएमएस रोक्न निर्देशन दिएका दिएका थिए ।