यो देश कसको ?
आजभोलि धेरै नेपाली युवाहरुको मनमा पटक-पटक उठिरहने प्रश्न हो- यो देश आखिरमा कसको हो ? यो देशमा कसले मात्रै गरिखान पाउने हो ? यो देशमा बाँच्ने अधिकार कसलाई मात्रै छ ? के देशमै केही गर्न कसैको गुलामी चाकडी या कार्यकर्ता बन्नैपर्ने हो ?
यस्ता सयौं प्रश्न आफैंसँग गर्दै देशको अवस्थादेखि चिनितत छन् नेपाली युवा र पलायन भएका छन् विदेश । कुनै विकसित मुलुकले सहज र सरल तरिकाले भिसा दिने हो भने नेपाल युवाविहीन देश बन्नेछ । देशमै केही गर्न खोज्ने युवाहरुलाई कसरी राज्य, दलाल, भ्रष्ट, माफिया नेताहरुले दुःख दिन्छन् र कुन अवस्थामा पुर्याउँछन् भन्ने पछिल्लो उदाहरण इलामका प्रेमप्रसाद आचार्यको आत्मदाहले पृष्टि गरिदिएको छ । आज नेपालका युवाहरु राहदानी विभागमा लाइनमा देखिन्छन्, मेनपावरहरुमा भेटिन्छन् । अनि युरोप अमेरिकामा पठाइदिन्छु भन्दै दलालीहरुको फन्दामा परेर गन्तव्यविहीन यात्री जस्तो सडक-सडकमा भौतारिरहेका भेटिन्छन् ।
नेपालमा २००७ सालपछि विभिन्न समयमा राजनैतिक परिवर्तनहरु भए । २४० वर्षको राजतन्त्रको अन्त्यसँगै गणतन्त्र आएको पनि १६ वर्ष भयो । यो १६ वर्षमा नेपाली जनता भूईंमान्छेहरुमा के परिवर्तन आयो ? कति युवा जनशक्तिले देशमै रोजगार पाए ? कति उद्योग कलकारखाना खोलियो ? कति वस्तुहरुको आयात रोकेर स्वदेशमै उत्पादन गरियो ? कति नेपालीलाई स्वरोजगार र सक्षम बनाउन राज्यले कानून निर्माण गर्यो र कार्यान्वयन तहमा लग्यो ?
सायद यसको तथ्याङ्क खोज्ने हो भने निकै कहालीलाग्दो र विकराल अवस्था सामुन्ने आउनेछ । गाउँ-गाउँमा सिहदरबार पुग्यो, आवाज दबिएकाहरुले बोल्न थाले । दलित, महिला, जनजाति, अल्पसंख्यकलगायत हिजो राज्यबाट पछि पारिएकाहरुको अधिकार सुनिश्चित भयो गणतन्त्रपछि भनेर मीठो नारा लगाइयो । मजदुर, किसान र गरिखाने वर्गलाई झुक्याइयो । आज पनि तिनै र त्यस्तै नारा र भाषणमा परिवर्तन भएको छैन, अझै उच्च स्वरमा सुन्न पाइन्छ । आज हामीले हेर्न हो भने जनताको अवस्थामा परिवर्तन भएको छ कि जनता र देशको अवस्था परिवर्तन गर्छौं भनेर हिँडेका राजनैतिक पार्टी र तिनका नेता-कार्यकर्ताको अवस्थामा परिवर्तन भएको छ ?
२४० वर्षको राजतन्त्रको अन्त्यसँगै गणतन्त्र आएको पनि १६ वर्ष भयो । यो १६ वर्षमा नेपाली जनता भूईंमान्छेहरुमा के परिवर्तन आयो ? कति युवा जनशक्तिले देशमै रोजगार पाए ? कति उद्योग कलकारखाना खोलियो ? कति वस्तुहरुको आयात रोकेर स्वदेशमै उत्पादन गरियो ?
आज राजनीति सेवा भएको छ कि व्यापार ? आज नेताहरु टिकट पाउन या मन्त्री बन्न या राज्यको कार्यकारी निकायमा पुग्न तँछाडमछाड किन गर्छन् ? सेवा गर्न कि व्यापार गर्न ? भूईंमान्छेहरुलाई उठाउन कि आफैं उठ्न कि आफ्नो परिवार र नातागोता उठाउन ? आजका दिनसम्म नियमित प्रकियामा हुनेबाहेक विकास नेपालमा के चाहिं उल्लेखनीय भएको छ ? आज राजनीति गरेका नेता र तिनका कार्यकर्ताबाहेक देशको अवस्थाबाट को खुशी छन् ? देशमा अथाह स्रोत र सम्भावना हुँदाहुँदै पनि देश झन झन गरिब हुँदैछ । केही सीमित वर्गमात्रै धनी र सम्पन्न भएका छन् । देश गरिब छ । तर, देश चलाउनेहरु धनी छन् ।
व्यापारीहरु धनी छन् । तर, उत्पादन गर्ने श्रमिक गरिब छ । किसानले दुःख पसिना बगाउँछ, त्यो किसानको पसिनामा बिचौलियाले रजाइँ गर्छ । किसानले तरकारी फलाउँछ, व्यापारीले मूल्य राख्छ । कागज बनाउनेले राज्यको अनुदान लिन्छ । काम गर्नेलाई कागज बनाउन आउँदैन । पार्टीको कार्यकर्ता या नेताको लगानी हुँदा ऊ डुब्दा पनि राज्यबाट असुलउपर गर्छ । केही गरौं भनेर लागेका युवाहरुको लगानी डुब्दा उसको घरबार डुब्छ । आखिर यो देश कसको लागि हो ?
दिनभरि पसिना बगाउने मजुदरलाई एक छाक खान कठिन छ । तर, एउटा राजनैतिक कार्यकर्ता काम गर्दैन, कुनै पार्टीको भजन गाउँछ । नेताको चाप्लुसीमा समय बिताउँछ । तिनै महँगा होटल रेस्टुरेन्टमा दिनरात समय बिताउँछ र गरिखाने वर्गलाई होच्याउँछन् ।
नेपालमा गणतन्त्रको स्थापनापछि बनेका सरकारहरु अहिलेसम्म निरन्तर पाँच वर्षसम्म टिकेका छैनन् । आज पनि देशमा राजनीतिक स्थायित्व छैन । बहुमतको सरकार हुँदासमेत खिचातानीले गर्दा धेरै समय टिकेन । राजनैतिक पार्टीहरुमा सत्ता स्वार्थबाहेक केही देखिँदैन । आफू पावरमा पुग्न आफनो विचार, सिद्धान्त, आदर्श, नैतिककताको कुनै पनि हेक्का राख्दैनन् । पद पावरको लागि जस्तोसुकै हर्कत गर्नसमेत पछि पर्दैनन् र जनतालाई भन्दिन्छ कि देशको स्वाधीनताको लागि, देशको समृद्धिको लागि, राष्ट्रको आजको आवश्यकता हो- सहकार्य । लाजै नमानी गर्वका साथ भनिदिन्छन् । त्यही कुरा प्रचार गर्छन् कार्यकर्ताहरु ।
आज राजनीति गरेका नेता र तिनका कार्यकर्ताबाहेक देशको अवस्थाबाट को खुशी छन् ? देशमा अथाह स्रोत र सम्भावना हुँदाहुँदै पनि देश झन झन गरिब हुँदैछ । केही सीमित वर्गमात्रै धनी र सम्पन्न भएका छन् । देश गरिब छ । तर, देश चलाउनेहरु धनी छन् ।
नेपाल कृषिप्रधान देश हो । अब कृषि क्रान्ति आवश्यक छ । आधुनिक कृषि प्रणाली नेपालमा भित्र्याइनेछ भनेर चर्का भाषण गरिन्छ । नेपालका ठूला भनिएका राजनैतिक दल र तिनका नेताको रोजाइ कृषि मन्त्रालय पर्दैन । कोही लिन चाहँदैन । जनताको जीवनसँग जोडिएका कुराहरुमा सुधार गर्न कोही चाहँदैन । जनता शिक्षित बनून्, चाहँदैन ।
राज्यले हरेक युवा आफ्नो खुट्टामा आफैं उभिन सक्ने हैसियत बनाओस्, चाहँदैन । सरकार जनताको मुहारमा हाँसो आओस्, चाहँदैन । हरेक नेपालीको घरमा उज्यालो होस् तर राज्य चाहन्छमात्रै । भाषणमा जनताको, अनि व्यवहारमा आफ्नो सुख अनि समृद्धि, आफ्नो छेउछाउ सधैं घुमिरहने स्वार्थी समूहको उन्नति चाहन्छ ।
हरेक राजनीतिक दलको नारामा जनता छन् । तर, आज जनताको अवस्था कहाँ छ ? जनताको नाममा राजनीति गरेकाहरुको अवस्था कहाँ छ ? यसले पनि अझै वर्षौं नेपालमा यही अवस्था रहने संकेत देखाउँछ । नेपालमा उदाएका नयाँ राजनैतिक दलहरुलाई चौतर्फी घेरामा पारेर सिध्याउने खेलको सुरुवात भैसकेको छ । केही आशा निराशामा परिणत हुन्छ कि भन्ने डर छ । हरेक स्वतन्त्र नागरिकहरुको आवाज एउटै छ- देशमा काम गर्ने वातावरण भएन, सिस्टम छैन, राज्यको कानून सानालाई मात्रै लाग्छ ठूलालाई लाग्दैन । राज्यका हरेक निकायमा राजनीतिक गन्ध छ । पार्टीको कार्यकर्ताविना केही काम नहुनेलगायतका समस्याले अवस्था जटिल बन्दै गइरहेको छ ।
त्यसकारण अधिकांश युवा देश छोड्न चाहन्छन्, विदेश पलायन हुने रहर पालेका छन् । देशकै भविष्य अन्धकार छ भने नयाँ पुस्ताको भविष्य कस्तो होला ? लाखौं लगानी गरेर सुरु गरेका व्यवसायहरु दिनप्रतिदिन धराशायी बन्दैछ । आखिर नेपालमा जन्मिएर राज्यले त्यही एउटा नेपाली नागरिकतामात्रै दिने हो ? देशमै गरिखाने वातावरण बनाइदिनु पर्दैन ? आखिरमा यो देश कसको लागि हो ? यो देश कसको हो ? अनि यो देश कसले कसका लागि चलाइरहेको छ ?
100% right
ब्यबस्था परिवर्तन भए पनि आम नेपालिको अबस्थामा कुनै परिवर्तन भएको छैन, झनै जिवनस्तर खस्केको छ।। यो ब्यबस्थाले झोले, चम्चे, आसेपासे, नेता, मन्त्री र उनका सात पुस्ते नातागोतालाई भने नेपाल युरोप र अमेरिका भन्दा कम छैन । यहाँ दिनै प्रेम प्रसादहरु जलि रहेको छ।