कमेडी क्लबमा पल शाहको नाम लिइएकोमा ‘ट्वीटर अभियन्ता’को आक्रोश
काठमाडौं । अहिलेको सर्वाधिक लोकप्रिय टिभी रियालिटी शो ‘कमेडी क्लब विथ च्याम्पियन्स’ मा अभिनेता पल शाहको नाम लिइएपछि ट्वीटर केन्द्रित केही महिलावादी आक्रोशित बनेका छन् । शोका प्रस्तोता विशाल भण्डारीले महिला हिंसाका अभियुक्तप्रति सम्मान भाव देखाएको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका हुन् ।
सोमबार प्रसारित पछिल्लो एपिसोडमा भण्डारीले पल शाहको प्रसंग निकालेका थिए । हालै पल शाहलाई जेलमा भेटेर आएका कमेडी च्याम्पियनको दोस्रो सिजनका विजेता भरतमणि ल्याएको सन्देश उनले दर्शकलाई सुनाएका थिए ।
‘भरतमणीजी पल शाहलाई भेट्न जानुभएको थियो । त्यहाँ पलले जेलभित्र आफूहरु समूहमा बसेर हरेक हप्ता कमेडी क्लव विथ च्याम्पियन हेर्ने गरेको उहाँलाई बताउनुभएछ । एक हप्ता कुरेर हामी यो कार्यक्रम हेर्छौं, तपाईंहरु सबैलाई माया छ भन्ने सन्देश पठाउनुभएको छ,’ खुशी हुँदै भण्डारीले सुनाएका थिए । यसलाई लिएर ट्वीटरका केही फेमिनिस्टहरु असन्तुष्ट बनेका हुन् ।
‘गीत दि’ नामक ट्वीटर ह्यान्डलबाट एक फेमिनिस्टले उक्त रियालिटी शो कि अध्यक्ष दिपाश्री निरौलाप्रति खेद व्यक्त गरेकी छन् ।
उनले लेखेकी छन्, ‘यौन दुराचारीको प्रशंसा गरी खुलेर नाम लिँदा ताली बजाउने दिपाका हात तिर आँखा गयो । यस्तो अभिव्यक्तिलाई समर्थन गर्ने तपाईंहरु सबैलाई धिक्कार छ ।’
अर्की ट्वीटर अभियन्ता आन्विका गिरीले पनि नाबालिगमाथि यौनदुव्र्यवहार गर्ने पल शाहको तारिफ गर्नु खेदजनक भएको टिप्पणी गरेकी छन् । अरु थुप्र्रै फेक आइडीबाट विशाल भण्डारीलाई गाली गरिएको छ ।
भण्डारीले यस विषयमा प्रष्टीकरण पनि दिएका छन् । कार्यक्रममा आफूले पल शाहको प्रशंसा नगरेको उनको भनाइ छ ।
‘तारिफ होइन, पलले जेलबाट हामीलाई पठाएको सन्देश भनेका हौं । सजाय पाएर जेल जीवन बिताइरहेका कैदी पनि हाम्रो उत्तिकै प्यारा दर्शक हुन् र उनीहरुले पनि हाँस्ने सामान्य अधिकार राख्छन् भन्ने हाम्रो मान्यता छ । बाँकी कति दोषी र कति सजायको हकदार हेर्न न्यायालय छ र न्यायालयप्रति हामीलाई पूर्ण विश्वास छ,’ भण्डारीले भनेका छन् ।
अभिनेता पल शाह बालयौन दुरुपयोगको कसुरमा हाल जेल सजाय भोगिरहेका छन् । उनीमाथि लगाइएको बलात्कारको आरोपमा भने अदालतले सफाइ दिएको थियो ।