टर्की कि टर्किए ? यी हुन् नाम फेर्ने मुलुकहरु – Nepal Press

टर्की कि टर्किए ? यी हुन् नाम फेर्ने मुलुकहरु

काठमाडौं । केही सयम अगाडि काठमाडौंको शिखा बुक्सले एक पुस्तक प्रकाशन गर्‍यो । कविता संग्रहहरुको पुस्तकको नाम थियो- बलिरहेका थियौं जस्तोः पोएम्स् अफ पोएट्स फ्रम नेपाल एण्ड टर्किए ।

भीष्म उप्रेती र फादिल ओक्तय सम्पादक भएर प्रकाशन गरिएको दुई देशका कविताको संग्रहमा देशको नाम टर्किए भएकोमा धेरैले प्रकाशक पुष्पराज पौडेललाई गुनासो गरे । पौडेलले भनिरहे- टर्कीको ठाउँमा टर्किए हुनुमा कारण नभै दुवै देशका सम्पादकहरुले त्यो नाम दिएनन् । तैपनि अझैसम्म कतिपयले पौडेललाई टर्कीको ठाँउमा टर्किए हुनु गलत भएको भनिरहेका छन् ।

शिखा बुक्सको पुस्तकमा आएको जस्तै अहिले भूकम्पपछिको घटनाक्रममा त्यही घटना आएको छ । कतिपय समाचारमा टर्की लेखिएको छ, कतिपयमा टर्किए । परराष्ट्र मन्त्रालयले टर्किए प्रयोग गरेको छ । मिडियाहरु कतिपयले टर्की त कतिपयले टर्किए लेखेका छन् ।

टर्की र टर्किए नाम आउनुमा अरु केही भएर हैन, हालै उक्त देशको नाम परिवर्तनले काम गरेको छ । सन् १९२३ को स्वतन्त्रतापछि निरन्तर प्रयोग भएको टर्की नामलाई राष्ट्रपति रेसेप तैयेप इर्दोगानले सन् २०२२ मा परिवर्तन गरेका हुन् । अहिले संयुक्त रास्ट्रसंघले सन् २०२२ को जुन महिनाबाट टर्किए नै नाम दिएको छ । टर्कीलाई टर्किए बनाउने प्रक्रिया सन् २०२१ को डिसेम्बरबाट सुरु भएको अलजजिराले उल्लेख गरेको छ । टर्किए नाम नै प्रयोग गरिदिन राष्ट्रपति इर्दोगानले आग्रह गर्दै भनेका थिए, ‘टर्किए शब्दले नै टर्किस देशको संस्कृति, सभ्यता र मूल्यहरुलाई उत्कृष्ट रुपमा व्यक्त गर्न सक्छ ।’

औपचारिक रुपमा नयाँ नाम प्रयोग गर्न आग्रह गरिए पनि बीबीसी, अलजजिरा जस्ता विश्व च्यानलले भने पुरानै नाम प्रयोग गरेका छन् । टर्कीको विश्व च्यानल टीआरटी वर्ल्डले भने टर्किए नै प्रयोग गरेको छ । कतिपय अरु देशका मिडियाहरुमा पनि टर्किए नै नाम प्रयोग भएको देखिन्छ । उसो त नाम परिवर्तनमा सक्रिय देशहरुमा टर्कीमात्रै पहिलो होइन । अरु देशहरु पनि छन् । यी हुन् नाम परिवर्तन भएका विश्वका अरु केही देशः

१. इरान

सन् १९३५ को मार्चसम्म इरानलाई पर्सिया भनेर चिनिन्थ्यो । तर, नाम परिवर्तनपछि अहिले इरान नै आधिकारिक भएको छ ।

२. थाइल्याण्ड

धेरै अगाडिसम्म सिआम नामले चिनिन्थ्यो थाइल्याण्ड । तर, सन् १९३९ मा आएर नाम परिवर्तन गरिएको थियो ।

३. कम्बोडिया

घरी गणतन्त्र, घरी राजतन्त्र भएको देश कम्बोडियाको नाममा गणतन्त्र र राजतन्त्रका फुर्कोहरु जोडिने काम फरकफरक समयमा भएको छ । सन् १९७५ देखि सन् १९७९ को समयमा साम्यवादी सत्ता हुँदा नामै फरक थियो । त्यो समयमा कम्बोडियाको नाम डेमोक्रेटिक काम्पोचेआ थियो ।

४. म्यानमार

नेपालमा उखान छ- बर्मा गए कर्मसँगै । यो उखानको नाम कुनै वेला देशकै नाम थियो । बीपीको आत्मकथामा पनि उनले नेपालको क्रान्तिमा हतियार खरिद गर्दा बर्मा पुगेको लेखेका छन् । बर्मालाई सैन्य सत्ता आएपछि मात्रै नाम परिवर्तन गरेर म्यानमार दिइएको हो । सन् १९८९ मा म्यानमार नाम दिइएको हो ।

५. नेदरल्याण्ड

कुनै समयमा हल्याण्ड भनेर चिनिने देश अहिले नेदरल्याण्डले परिचित छ । साउथ हल्याण्ड र नर्थ हल्याण्ड नामका दुई क्षेत्र नेदरल्याण्डमा सन् २०२० को जनवरीमा विलय भएपछि यो नाम साझा भएको हो ।

६. आयरल्याण्ड

इरिस फ्री स्टेटको रुपमा परिचित भएको देश थियो आयरल्याण्ड । सन् १९३७ पछि यसको नाम आयरल्याण्ड भएको छ ।

७. श्रीलंका

१९औं शताब्दीमा नेपालका प्रधानमन्त्री जंगबहादुर बेलायत जाँदा श्रीलंका हुँदै गएका थिए । त्यो समयमा त्यो क्षेत्रलाई सिलोन भनिएको छ । जंगबहादुरको बेलाइत यात्रामा श्रीलंकालाई सिलोन नै भनिएको छ । सन् १९४८ मा बेलायतबाट स्वतन्त्र हुनु अगाडिसम्म श्रीलंकालाई सिलोनकै नाममा चिनिन्थ्यो । अहिले पनि कतिपय मिडिया र क्षेत्रहरुमा सिलोन नाम प्रयोग भएको पाइन्छ ।

८. स्वाजिल्याण्ड

नेपालमा वेलावेला ठट्टा गरिन्छ । नेताहरुले स्विजरल्याण्ड नबनाए पनि स्वाजिल्याण्ड चैं बनाए । अफ्रिकी देश स्वाजिल्याण्डसँग तुलना गरेर यस्ता ठट्टा हुने गरेका छन् । तर, अहिले स्वाजिल्याण्डले आफ्नो नाम परिवर्तन गरेको छ । सन् २०१८ को अप्रिलबाट यो देशको औपचारिक नाम इसवातिनी रहन गएको छ ।

९. जिम्बावे

सन् १९६१ सेप्टेम्बर १८ मा तत्कालीन संयुक्त राष्ट्रसंघका महासचिव ड्याग ह्यामरसोल्डलाई हत्या गरिएको थियो । उनको हत्या भएको क्षेत्र रोधेसिया थियो । त्यो हत्या काण्डको अन्तर्राष्ट्रिय छानबिन समिति बनेको थियो । अध्यक्ष थिए नेपालका संयुक्त राष्ट्रसंघका लागि प्रथम स्थायी प्रतिनिधि ऋषिकेश शाह । आफ्नो आत्मकथा लुकिङ व्याक एट माइ ओन करिअरमा शाहले उक्त क्षेत्रको नाम रोधेसिया नै लेखेका छन् ।

तर, आजकाल रोधेसियाको नाम परिर्वतन भएर जिम्बावे भएको छ । सन् १९८० अप्रिलको स्वतन्त्रतापछि रोधेसियाको नाम जिम्बावे भएको छ ।


प्रतिक्रिया

One thought on “टर्की कि टर्किए ? यी हुन् नाम फेर्ने मुलुकहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर