रवि बमबार्ड द मिडिया हेडक्वाटर
निवर्तमान गृहमन्त्रीले आफू पदमुक्त भएपछिको पत्रकार सम्मेलनमा जे विषय र जुन कुरा उठाए, त्यसमा आपत्ति छैन । आपत्ति हुने र मर्का पर्नेलाई कानूनको ढोका खुला छ । त्यसको वादविवाद, पक्ष र विपक्षमा खण्डनमण्डन आउने क्रम जारी छ । बयानबाजी र प्रष्टीकरणको ननस्टप श्रृंखला चलेको छ । मेरो सरोकार पनि रविले उठाएको कन्टेन्टमा बिमति होइन । मिडियामा आएका १२ भाइभन्दा अरू भाइ पनि छन् । १३औं भाइ रवि पनि हुन् भन्ने मान्छेहरूको तर्क पनि छ । नारीवादीहरूको तर्क छ- रविको ‘सम्पादक्नी भाउजूहरू’ स्त्रीद्वेषी बोली हो । पुरुषको बदमासी बक्न पनि नारीद्वेषी भाषा बोल्नु नारीको मर्यादा र सम्मानमाथिको उपेक्षा हो ।
वक्तव्यबाजीका यावत विषय छन् । म त्यता जान्न । मात्र एउटा पूर्वगृहमन्त्री, चौथो ठूलो राष्ट्रिय दलको सभापति र २०७९ मङ्सिरको चुनावमा सबैभन्दा बढी मतान्तरले विजयी पूर्वसांसदको भाषा, शैली र प्रतिवादको नग्न रूपप्रति थोरै बिमति छ । उनले पालन गर्नुपर्ने न्यूनतम मानवीय अनुशासन पालन नगरेकामा दुःख लागेको हो । अभिव्यक्ति स्वतन्त्रताको कुरा गर्दा अभिव्यक्तिको मर्यादा र सीमाको कुरा पनि आउँछ । मैले रास्वपाको सभापतिलाई र एक शुभेच्छुकको नाताले थुप्रै सञ्चारमाध्यमबाट आफ्नो ह्याउ र बुताले भेट्ने सल्लाह, सुझाव, आलोचना र ध्यानाकर्षण गराएँ । एउटा शुभचिन्तकले गर्ने यति नै हो । उनलाई सम्बोधन र समर्पण गरेर नयाँ पुस्ताका सबैलाई आफ्नो सरोकार, चिन्ता, शुभेच्छा र आलोचना पस्किरहें । आलोचनात्मक चेतसहितको खबरदारी गरिरहें ।
म एक सर्वसाधारण राजनीतिमा चासो राख्छु, राजनीति धेरथोर बुझ्छु भन्ने ठान्छु । बहुदलीय व्यवस्था प्राप्तिपछिका प्रायः राजनीतिक घटनाक्रम नियाल्दै आएको पनि छु । राजनीतिशास्त्रको विद्यार्थी पनि भएकाले म राजनीति र अराजनीतिको भिन्नता थोरै भए पनि केलाउन सक्छु । त्यसैले पनि राजनीतिक टिप्पणी गर्नु, राजनीतिक विश्लेषण गर्नु, विरोध र समर्थन गर्नु, खबरदारी गर्नु, यदाकदा हिस्सेदारी खोज्दै सञ्चारमाध्यममा पोखिनु मेरा रहर, रूचि र रुझान भएका छन् । समय, पात्र, घटना, परिस्थिति र विषयमा मैले बुझेसम्म म तटस्थ रहन प्रयास गर्छु । तथापि म एक सामाजिक मान्छे र प्रभावबाट निरपेक्ष बस्न नसक्ने स्वभावको कारण कहिलेकाहीं आग्रह देखिएको होला, म त्यसलाई अस्वीकार गर्न सक्दिनँ ।
अदालतले नागरिकता विवादमा रवि लामिछानेको जे जे खोस्यो, त्यो अकल्पनीय थियो । एउटा व्यक्तिको आकस्मिक उदय अनि त्यसैगरी शीघ्रातिशीघ्र विस्थापन सामान्य टर्चरको विषय होइन । झन् अरु सम्भावित कहालीलाग्दा परिदृश्यले एउटा मान्छेको मन बेचैन, अस्थिर र अराजक नहुने कुरै भएन ।
मैले गत चुनावमा पनि मलाई मनपरेका उम्मेदवार जुनसुकै पार्टी र विचारधाराका भए पनि आफ्नो भित्तोबाट भोट मागें । मेरो कमजोरी नै रह्यो, म मलाई मनपरेको मान्छेको वैचारिक आस्था हेर्दिनँ । उसको प्रतिभा र क्षमतामा लोभिएर फलानोले जिते हुन्थ्यो, फलानो अघि आइदिए हुन्थ्यो भन्ने धारणा बनाएर खुलेआम भन्छु । मन परेको कुरा बोल्छु । मन नपरेको कुरा पनि प्रस्टसँग राख्छु । राजनीतिक पार्टीका भक्तलाई आफ्ना नेताको प्रशंसामात्र मनपर्छ, प्रश्न मनपर्दैन । मलाई आजसम्म गोरखापत्र दैनिक, अन्नपूर्ण पोष्ट, नयाँ पत्रिका, अनलाइन खबर, रातोपाटी, सेतोपाटी, इमेज खबर, नेपाल प्रेस, सदृश्यलगायत ख्यातिप्राप्त राष्ट्रिय समाचार माध्यमसहित दुई दर्जनभन्दा बढी मिडियाले आफ्नो फोरम उपलब्ध गराएर मेरा विश्लेषण, मूल्याङ्कन र धारणा राख्ने मौका दिएका छन् ।
यसर्थ मिडियाका साहु यिनका प्रवृत्ति, श्रम शोषण, प्रेरणा, सहयोग सिकाइ, फगत कामदारलाई वस्तु सम्झने जस्ता सकारात्मक नकारात्मक सबै पक्षको भुक्तभोगी पनि छु । मिडियाका असल र खराब पक्षबारे धेरथोर जानकार छु । त्यसैले कुनै पनि विषयप्रतिको धारणा निर्माणको लागि समय लिएर घोत्लन्छु र आफ्नो निष्कर्ष सुनाउँछु । मलाई अनुसन्धान सिकाउने मेरा गुरुहरूले भनेका छन्- एउटा व्यक्तिको निष्कर्ष सही नै हुन्छ भन्ने हुँदैन । कुनै पनि विषयलाई बहुकोणले परख गर्नुपर्छ । तसर्थ म मेरो निचोड अन्तिम सत्य भनेर जिकिर गर्दिनँ र अनुसन्धानको स्तरमा त्यो मानिन्न पनि । खोज जहिल्यै बाँकी रहेको हुन्छ र सापेक्षित रहन्छ । त्यसैले आज देखेको सत्य भोलि अर्धसत्य, आंशिक सत्य र असत्य लाग्न पनि सक्छ भन्ने अनुसन्धान दर्शनको प्राज्ञिक दृष्टिबोधप्रति म सचेत रहने प्रयास गर्छु ।
अदालतले नागरिकता विवादमा रवि लामिछानेको जे जे खोस्यो, त्यो अकल्पनीय थियो । एउटा व्यक्तिको आकस्मिक उदय अनि त्यसैगरी शीघ्रातिशीघ्र विस्थापन सामान्य टर्चरको विषय होइन । झन् अरु सम्भावित कहालीलाग्दा परिदृश्यले एउटा मान्छेको मन बेचैन, अस्थिर र अराजक नहुने कुरै भएन । संविधानविद् डाक्टर भीमार्जुन आचार्यका अनुसार राहदानी छानबिनको विषय र मुद्दा योभन्दा पेचिलो र संवेदनशील पक्ष हो । अराजक अस्थिर, क्षोभ र कुण्ठा रविले उसै पोखेका हैनन् । रविले ख्याल राख्नुपर्ने विषय चै हिजो सञ्चारकर्मी हुँदा जसरी राजनीतिज्ञलाई खेदे, त्यसरी नै रविलाई पनि राजनीतिमा आएपछि र सत्तामा गएपछि मिडियाले ज्यादा खेदेको हो । मिडियाको खेदाइमा नपर्ने राजनीतिज्ञ निकै कम हुन्छन् । रविले ममात्रै परें भनेर सोच्नु गलत हो । आफूले कतिलाई कसरी र कुन हदको शब्द प्रयोग गरेर खेदेका थिए रविले स्मरण गर्नुपर्थ्यो । एउटा मान्छेको आवेग रविको हकमा बञ्चित हुने विषय होइन यद्यपि सार्वजनिक व्यक्ति त्यसमाथि नवोदित शक्तिको नेतालाई समान्य मान्छेले झैं रुने हाँस्ने डुक्रने कुरामा केही प्रोटोकल बनेको हुन्छ । जसलाई पालना गर्दामात्रै सुसंस्कृति राजनीतिज्ञ हुनुको अर्थ मिल्छ ।
रविले ख्याल राख्नुपर्ने विषय चै हिजो सञ्चारकर्मी हुँदा जसरी राजनीतिज्ञलाई खेदे, त्यसरी नै रविलाई पनि राजनीतिमा आएपछि र सत्तामा गएपछि मिडियाले ज्यादा खेदेको हो । मिडियाको खेदाइमा नपर्ने राजनीतिज्ञ निकै कम हुन्छन् । रविले ममात्रै परें भनेर सोच्नु गलत हो ।
कतिपय अवस्थामा आफ्नो जिन्दगीको निजीपन बिर्सेर सार्वजनिक जीवन जिउँदा व्यक्तिगत स्वतन्त्रता हनन हुन्छन् पनि । रविले एक आममान्छे र हिजो गरेको पत्रकारिताको आफ्नो स्टायल अवलम्बन गरे, जुन सर्वथा गलत देखियो । रवि एक पत्रकारमात्र होइनन्, यो देशको गृहमन्त्री भैसकेका व्यक्ति हुन् । उनले मिडिया सञ्चालक, सम्पादक र पत्रकारको रूपमा मात्रै आफूलाई सीमित राखे । जब कि उनी सबैका अभिभावक भइसकेका थिए । देशको मन्त्री सबैको अभिभावक हो । हिजोको प्रतिस्पर्धा हिजोको इख र डाहा आज रविको अभिभावकीय भूमिकालाई म्याच गरेन । सल्लाहकार, शुभचिन्तक र विज्ञको कुरा सुन्ने र निर्णय लिने यस्तै वेलामा हो । संवेदनशील समयमा, असाध्यै सङ्कटमा, असहज परिस्थितिमा सल्लाहको खाँचो पर्छ । पार्टीसँग सल्लाह गरेको भए पनि यति तल्लोस्तरको प्रतिक्रिया दिनबाट रवि रोकिन्थे ।
रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले विरक्त लागेर नै यस्तो लेखेका हुन्- ‘त्यो भँडास हो या भण्डाफोर हो, तपाईंहरू जान्नुस् । आधिकारिक बैठकमा छलफल नै नभएको र पार्टीमा औपचारिक/अनौपचारिक रूपमा थाहै नदिएको वक्तव्यको धारणा र परिणामका बारेमा बोल्नैपर्ने बाध्यता स्वयं व्यक्तिबाहेक अरूलाई बोल्न बाध्य बनाउनु न्यायसङ्गत हुन्न ।’ अर्का केन्द्रीय सदस्य अरनिको पाण्डेले पनि रविको पत्रकार सम्मलेनका विषय उनका निजी मामला भनेका छन् । यसले स्पष्ट पार्छ रवि आफ्नो मर्जीमा बोलेका छन् । आफ्ना सहकर्मीसँग सल्लाह नलिएर उपेक्षा गर्दै बोलेका हुन् ।
एउटा कुरा सत्य हो । हाम्रो जस्तो कुण्ठाग्रस्त समाज र आफ्नो दुःखमा भन्दा अर्काको प्रगतिमा डाहाले दुःखी हुनेमान्छे भएको ठाउँमा एउटा पत्रकार गृह र उपप्रधानमन्त्री बन्दा अन्य पत्रकार, सिनियर मिडिया साहुहरू डाहाले जलेका थिए । एउटा पत्रकारको रूपमा अर्काे पत्रकारको त्यो उचाइमा गर्व गर्नुपर्नेमा कुण्ठा र ईर्ष्याले पाकेका थिए । त्यसैले रविको राजनीतिक छलाङमा खुशी हुने कुरै थिएन । रवि खुर्मुरिएको हेर्न चाहन्थे । रविले पनि हतारमा शिखर चढे र खुर्मुरिए । दोष जति अरूको भागमा घोप्ट्याइदिएर आफू निर्दोष करार गर्न भए नभएको सबै बोले । रविले गृहमन्त्री भएर राम्रो गरे गरेनन्, त्यसको मूल्याङ्कन गर्न हतारो हुन्छ । तसर्थ म उनले जे प्रतिक्रिया दिए त्यो उनको दर्जामुताबिक भएन भनेर आफ्ना तर्क राख्दैछु । रविको मुद्दामा अदालतले लिएको तदारुकता र शीघ्र फैसलाले पनि रवि सबैको तारो थिए भन्ने कुरा बुझ्न कठिन छैन । पत्रकार विजयकुमार पाण्डेका शब्दमा ‘अदालतको रविका सन्दर्भमा बुलेट ट्रेनको स्पीडमा फैसला र उस्तै प्रकृतिका मुद्दामा इन्जिन नै स्टार्ट हुन्न’ भन्ने भनाइले रविले छिटो न्याय पाउनुको अन्तर्य बुझ्न सघाउँछ ।
हाम्रो जस्तो कुण्ठाग्रस्त समाज र आफ्नो दुःखमा भन्दा अर्काको प्रगतिमा डाहाले दुःखी हुनेमान्छे भएको ठाउँमा एउटा पत्रकार गृह र उपप्रधानमन्त्री बन्दा अन्य पत्रकार, सिनियर मिडिया साहुहरू डाहाले जलेका थिए । एउटा पत्रकारको रूपमा अर्काे पत्रकारको त्यो उचाइमा गर्व गर्नुपर्नेमा कुण्ठा र ईर्ष्याले पाकेका थिए ।
फैसला जति छिटो आए पनि रविको कमजोरीलाई टेकेर नै आएको भन्नेमा दुई मत छैन । रविले प्राविधिक त्रुटि गरेका हुन् । रवि भावनात्मक भए प्रक्रियात्मक बन्न सकेनन् । जसको सजाय उनी भोगिरहेका छन् र विरक्त बनेर आक्रोशको ज्वालामुखी ओकलेर धेरैको निद्रा खोसेका छन्, चैन खलबल पारिदिएका छन् । उनीमाथि पनि थुप्रै अभद्र टिप्पणी र अतिरञ्जना गरिएका समाचार छापिएका छन् । ती सबै खेदजन्य छन् । तीन स्त्रीसँग बिहे गरेको कुरालाई चार भनेर मिडियाले एकको संख्या बढाएकोमा रविको आपत्ति देख्दा उनका असली नारी शुभेच्छुकहरूलाई कस्तो लाग्दो हो ?
यहाँ एउटा संख्या बढेकोमा होइन उनको नियत र प्रवृत्तिमा प्रश्न हो । तीन स्त्रीसँगको बिहेलाई उनले सामान्य रूपमा लिएका छन् । कतै खेद र दुःख मानेका छैनन् । गलत भयो भन्ने मनसाय राखेका छैनन् । एउटा व्यक्तिको घर सप्रिनु र बिग्रनु नितान्त व्यक्तिगत कुरा हो । तर, सार्वजनिक मान्छेको जीवनमा त्यसले सम्प्रेषण गर्ने अर्थ विशेष हुन्छ । दैवी र प्राकृतिक विपत्तिले विवाहको संख्या वृद्धि हुनु, स्त्रीवरणको संख्या बढ्नु सामान्य कुरा हो । कुनै एकसँग सम्बन्ध दुर्घटना हुनु पनि असामान्य होइन । तर, तीन जनासँगको सम्बन्ध र उनकी पूर्वपत्नीका अनुसार अरू धेरैसँगको सम्बन्ध सामान्य मान्ने स्थिति नेपाल जस्तो समाजले सहजै पचाउँदैन । त्यसमाथि पनि सार्वजनिक सञ्चारको माध्यमबाट अरूलाई सधैं आदर्श, नैतिकता, इमान र कर्तव्यको पाठ पढाउने मान्छेको सवालमा धेरै पटक चुकेर पनि विषयलाई सामान्य रूपमा लिएको झन सुहाउन्न ।
उनले बारम्बार भनेका छन्- यो आक्रोशको अभिव्यक्ति हो । एकै पटक हातमा रहेका, पोल्टामा भएका, ताजमा पहिरिएका सबै चिज खोसिएपछिको तीव्र आक्रोश हो । उनले गिर्ने क्रममा कुनै एक अमुक नेताको अण्डर गार्मेन्ट बराबरको बौद्धिक लम्बाइ भनेर कसैको ट्विटलाई होच्याएर तुच्छ बोलेका छन् । रवि जति पनि आलोचना गर्छन् । तर, आफू पचाउन सक्दैनन् । मानाैं आलोचना गर्ने उनको मात्रै वैधानिक हक हो । उनलाई अरूले आलोचना गर्नु अपराध र पाप हो । यो हदको सोच र संस्कृतिले राजनीतिको राजमार्ग कति फराकिलो बनाउला ? पत्रकार, मिडिया हाउस र तिनका सञ्चालकप्रति विषवमन गर्ने रविले के आफू पत्रकारितामा रहुञ्जेल यस्ता विषय खोतले ? राजनीतिक दल र तिनका नेता–कार्यकर्तालाई मात्र गाली गरिरहे । एक ख्याति प्राप्त सञ्चारकर्मीले पाएका यतिका सूचना आजसम्म लुकाएर राख्नुमा उनको पनि स्वार्थ थियो भनेर सोच्ने कि नसोच्ने ? राष्ट्रको अहित हुने गरी भएका आर्थिक अपराध, लेनदेन, अपारदर्शी धन्धाबारे चुइक्क नबोलेर राष्ट्रलाई खोक्रो बनाउनेको कुकर्म ढाकिदिने काम किन गरे ? राज्यलाई सूचना दिएर आर्थिक अपराध रोक्न किन पहिले सघाएनन् ? आफ्नो टाउको फुटेपछि मात्र मितको टाउको बेलै सरी ठान्नुमा कुनै नियत थिएन र ? तथापि नेपाली मिडियामा रविले गरेको क्षेप्यास्त्र प्रहार पद गुमाएपछिको विक्षिप्त अवस्थाको प्रतिक्रिया मात्रै भनेर बुझ्ने भुल गर्नुहुँदैन । फरक यति हो रविले अरूको इँजार तानिदिँदा आफ्नो सुरुवाल पनि वेलावेलामा घुँडाभन्दा मुनि पुगेको चाल पाएनन् । जुन दुःखद छ ।
रवि जति पनि आलोचना गर्छन् । तर, आफू पचाउन सक्दैनन् । मानाैं आलोचना गर्ने उनको मात्रै वैधानिक हक हो । उनलाई अरूले आलोचना गर्नु अपराध र पाप हो । यो हदको सोच र संस्कृतिले राजनीतिको राजमार्ग कति फराकिलो बनाउला ?
नदी सिद्धान्त खोज्दैन, सीप खोज्छ । रविहरू थ्योरी घोकेर नदीमा हाम्फाले । नदीले चिनेन । राजनीतिमा पनि हिरोइजम, पपुलिज्म र स्टन्टको खोजी गरिन्छ । लोकप्रिय बन्न कसलाई मन लाग्दैन ? राम्रो काम गरौं कसले भन्दैन ? नराम्रो गर्छु भनेर आजसम्मको राजनीतिमा आएको छ । त्यसैले राजनीतिमा हिरोइजम, पपुलिज्म र स्टन्टको मोसन ढिलो हुन्छ । सबैलाई थाहा छ बीपी कोइराला, पुष्पलाल, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मदन भण्डारी, मनमोहन अधिकारी, उनीहरूले बाँचेको जिन्दगीमा भन्दा आज बढी पपुलर र सामाजिक स्वीकार्यतामा अघि छन् । राजनीति १०० मिटरको दौड होइन, हजारौं माइलको म्याराथन हो । अरूलाई नंग्याउँदा आफू नांगिनुपर्दैन ? विडम्बना यहाँ दुवै निर्वस्त्र देखिए । देशको गृहमन्त्री भैसकेको व्यक्ति मिडिया घेर्न आफैं आउँछु, आफ्ना शुभचिन्तक लिएर आउँछु भन्ने बोलीमा गुण्डागर्दीको आभास मिल्छ । पत्रिका गलत लेख्छ भने त्यसविरुद्ध कानूनी उपचारको हक सुरक्षित छ । मिथ्या आरोप र लान्छना कसैले कसैलाई लाउन पाइन्न । झन राज्यको उत्तरदायी निकायमा बसेर आएको मान्छेले विधिलाई प्राथमिकीकरण गर्नुपर्छ, बललाई होइन ।
देश मिडियाले चलाउने होइन । राजनीतिक पार्टी र नेताले चलाउने हो । ‘सक्छौ भने चुनाव लड्न आऊ चितवन’ भनेर राजनीति गर्ने भए आफूसँग प्रतिस्पर्धा गर्न निम्तो दिएका छन्, यो अन्यथा मानिन्न । रविले चुनौती दिएर नै शिखर चढेका र शिखरबाट झरेका हुन् । चितवनबाट प्रचण्डलाई धपाएर गोरखातिर जान बाध्य पारेकै हुन् ।
रविले मूलधारका पत्रिकाको कालो कर्तुत छताछुल्लमात्रै पारेका छैनन् । अरू मझौला र झिनामसिना मिडिया र तिनका सञ्चालकको सातो पनि खाइदिएका छन्, जो कमाउ धन्धामा छन्न् । पत्रकारिताको फेटा बाँधेर तस्करी ब्ल्याकमेलिङ र लेनदेनको काम गर्छन् । बिचौलिया, दलाल र गुण्डागर्दीको पत्रकारिता गर्छन् । पत्रकारिताको नाममा धन्धा गर्छन् । आफ्ना सबै अपराध ढाकछोप गर्छन् । ब्ल्याकमनीलाई ह्वाइट बनाउन फ्यासिलेटेड गर्छन् । तिनलाई रविले तर्साएका छन् । आम मान्छेलाई पत्रकारको आवरणमा गरिने गलत हर्कत सुनाएका छन् । त्यसको लागि धन्यवाद छ । गृहमन्त्री भएर प्रहरीलाई कामको आधारमा सरुवा र बढुवाको नीति बोलेर नि राम्रो सुरू गरेकै हुन् ।
वाइडबडी, ३८ केजी सुन, ओम्नी, यती, बालुवाटार जग्गा, एनसेल करछली, स्वास्थ्य सामग्री खरिदको घोटाला, लडाकू शिविरमा भएको आर्थिक हिनामिनालगायत अनगिन्ती विषय र चुनावअघि उत्खनन गर्छु भनेका छानबिन, खोजतलास र सत्तोसरापबारे कति काम भयो ? कति हुँदै थियो ? कतिमा अवरोध सिर्जना भयो आदिको प्रोग्रेस रिपोर्ट दिन छुटाए ।
रविको विरोधमा लेख्नेको उनले उछितो काढे । तर, आफूलाई सकारात्मक आलोचना गर्ने, प्रशंसा गर्ने, आफ्नो भलो चिताउने र आशाको उज्यालो देखाएर लेख्नेप्रत्ति कतै सहानुभूतिशील बन्न सकेनन् । मिडियाले खेदेकोमात्र विषय उल्लेख गरेर आफ्ना पक्षमा असल मनसायसहित लेख्नेका मुखमा समेत अगुल्टो झोसिदिए । रविले आफूले गृहमन्त्री भएर गर्न लागेको कुराको विस्तृत कुरा गरे । तर, चुनावअघि वाचा गरेको पुराना राजनीतिक पार्टी र ती पार्टीका नेता संलग्न काण्डको छानबिन गर्ने, धूलो लागेर बसेका खतरनाक षड्यन्त्रका फाइल खोल्ने कुरा कतै बोलेनन् । वाइडबडी, ३८ केजी सुन, ओम्नी, यती, बालुवाटार जग्गा, एनसेल करछली, स्वास्थ्य सामग्री खरिदको घोटाला, लडाकू शिविरमा भएको आर्थिक हिनामिनालगायत अनगिन्ती विषय र चुनावअघि उत्खनन गर्छु भनेका छानबिन, खोजतलास र सत्तोसरापबारे कति काम भयो ? कति हुँदै थियो ? कतिमा अवरोध सिर्जना भयो आदिको प्रोग्रेस रिपोर्ट दिन छुटाए । मेरो प्रश्न यो नियतबस छुटेको थियो कि नभ्याएर ? आम मान्छेको चासो यसैमा थियो होइन र ? किन आम मान्छेको चासो सम्बोधन भएन ? जुन वर्षौंदेखि मान्छेको दिमाग हल्लाएर बसेको थियो ।
रविजीले आक्रोशमा जे निर्णय गर्नुभयो, त्यो उचित थिएन । सत्तामा जाने जसरी हतार गर्नुभयो, त्यसरी नै सत्ताबाट फर्किन पनि हतार भयो कि ? भन्छन् नि- एउटा खेलाडीले रेड कार्ड पाउँदा टीम नै बाहिरिनु पर्दैनथ्यो । गृहमा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हुन्थ्यो भने त्योबाहेक जुनसुकै मन्त्रालय लिएर पनि आजसम्म कसैले गर्न नसकेको काम गरेर देखाउने र शिक्षा, श्रम र स्वास्थ्य मन्त्रालयमा बेजोड काम गरेर देखाउने अवसर थियो । त्यो मौका किन गुमाउनुभयो ? तपाईंहरूको कामको मूल्याङ्कन गर्ने बेलै भएको थिएन ? जाँदा र आउँदा दुवै हतार भयो कि ?
रविजीले आफ्नो बोली सबै खोसिएपछिको आक्रोश हो भन्नु भएको छ । सबैलाई थाहा छ, रिस उठेको वेला कोही पनि वेदको ऋचा पढेर बस्दैन । तर पनि एउटा ठूलो जिम्मेवारी लिएको पार्टीको नेता, पूर्वउपप्रधानमन्त्रीलाई यो हदको छुद्र टिप्पणी सुहाएन कि ? तपाईले जे जति भन्नुभयो, ती कुरालाई मर्यादित र शिष्ट भाषामा राखेको भए तपाईंको आफ्नै मर्यादामा आँच आउने थिएन । भाषामा सन्तुलन कायम गरेर पनि जे भन्न खोज्नुभएको हो, त्यो भन्न सकिन्थ्यो । आज भनेको जति कुरा सबै भन्न सकिन्थ्यो । यद्यपि बिग मिडिया हाउसमाथि तत्कालीन माओले आफ्नो पार्टीका लिडरसिपप्रति बमबार्ड द हेडक्वाटर भनेर आक्रमण गरेको शैलीमा बम बर्साए झैं जुन आक्रोशको बम फ्याक्नु भयो, त्यो निःसन्देह राष्ट्रिय विमर्शको विषय बनेको छ । जसले थुप्रै अनुत्तरित विषयको उत्तर खोज्न सघाउनेछ । यसबाट प्राप्त हुने सकारात्मक र नकारात्मक परिणति छिट्टै देख्न पाइनेछ ।
(लेखक कार्की त्रिभुवन विश्वविद्यालयका अनुसन्धाता, एमफिल-पीएचडी हुन् ।)