दलालतन्त्रले विनाश पारेको कृषितन्त्र- किसानका दुःखमा किन कोही बोल्दैनन् ?
औद्योगिक उत्पादन शून्य प्राय रहेको हाम्रो देशमा जीवन धान्न सदियौंदेखि प्रयोग हुँदै आएको कृषि प्रणाली पनि देशमा व्याप्त दलालतन्त्र, विचौलिया राज र विदेशी बजारको चर्को दबदबाका कारण ध्वस्त नै हुने अवस्थामा पुगेको छ । गरिब तथा मध्यम किसानहरुलाई कृषि व्यवसाय गरेर जीवन गुजार्ने अवस्था छैन भने बर्सेनि खर्बौं रुपैयाँ खाद्यान्न आयातमा विदेसिएको छ ।
अर्कोतर्फ खेती गरेर जीविकोपार्जन गर्ने किसानहरुलाई न राज्यले कुनै सहयोग गर्छ न त आवश्यक मल, बीउ तथा अन्य सामग्री सहजै पाउने अवस्था छ । देशमा यस्तो न गरिखाने न त मरिजाने अवस्था कसरी आयो ? यो कठिनाइबाट देशका किसानलाई कसरी मुक्ति दिन सकिन्छ ? यो विषयमा गम्भीर भएर नसोच्ने हो र देशको कृषिलाई बिचौलियातन्त्रकै हातमा सुम्पिरहने हो भने अब गरिब किसानले बाँच्ने अवस्था रहँदैन र देशको अस्तित्व नै संकटमा पर्छ ।
अहिले किसानहरु बजार नपाएर बाटोमा तरकारी पोख्न बाध्य छन् । कुखुरा व्यवसायीहरु अण्डा तथा मासु बिक्री नभएर टाटपल्टिने अवस्थामा छन् । जसले पसिना बगाएर खाद्यान्न उब्जनी गरेको छ, जसले तपाईं हामीलाई खानको लागि खानेकुरा उब्जाउँछ, आज त्यही किसान मारमा परेका छन् । महँगो मल तथा बीउबिजन किन्न बाध्य भएर आजित भएका किसानहरु फेरि अहिले आफूले उत्पादन गरेको वस्तुको बजार नपाएर फाल्न बाध्य छन् । उत्पादन गरेका तरकारी सडकमा रमिता बन्न पुगेको छ ।
कृषिमा यस्ता अनेक खालका पीडा भोगेर किसानहरुले कतिदिनसम्म कृषि पेशालाई निरन्तरता दिन सक्छन् ? गाउँ-बस्तीहरु रित्ता हुन थालिसके । गाउँका युवा कि विदेश पसेका छन् कि शहर छिरेका छन् ।
किसानका पीडा कसले सुनिदिने ? किन किसानप्रति जवाफदेही बन्न सकिरहेका छैनौं ? सडकमा चिच्याइरहेका साना तथा उत्पादनमा लागेका किसानहरुप्रति न सरकार संवेदनशील भएको देखिन्छ न त देशका नीति निर्माता, बुद्धिजीवी, पत्रकार तथा आम शहरिया जनमानस नै छलफलमा जुटेका छन् । देशमा किसान र मजदुर वर्गलाई प्रतिनिधित्व गर्ने पार्टीहरुकै सरकार छन् । तर, नीति निर्माणमा बिचौलियाहरुलाई फाइदा पुग्ने र जनतालाई लखेट्ने खालका शक्तिकै पहुँच हुन्छ । यो के कारणले भैरहेको छ । अब हामीले गम्भीर भएर सोच्ने बेला आएको छ । केही नगर्ने र नसुने झैं गरेर बस्ने हो भने अहिले सडकमा देखिएका आन्दोलनहरु कुनै दिन ठूला विद्रोह बनेर निस्कन बाध्य हुनेछन् ।
कृषिमा यस्ता अनेक खालका पीडा भोगेर किसानहरुले कतिदिनसम्म कृषि पेशालाई निरन्तरता दिन सक्छन् ? गाउँ-बस्तीहरु रित्ता हुन थालिसके । गाउँका युवा कि विदेश पसेका छन् कि शहर छिरेका छन् । बाँकी केहीले कृषिलाई आफ्नो पेशा बनाउन पनि नखोजेका होइनन् । तर, अनेकौं अड्चनका कारण अब पूर्ण पलायनउन्मुख छन् ।
अन्य भौतिक विकास जतिसुकै भए पनि खाद्यान्नमा जबसम्म आत्मनिर्भर हुन सक्दैनौं, तबसम्म हाम्रो मौलिक समृद्धिको यात्रा तय हुँदैन । जबसम्म ग्रामीण किसानहरुलाई आत्मनिर्भर र उत्पादनमुखी बनाउन सक्दैनौं, तबसम्म देशमा गरिने विकासले शहरिया उच्च वर्ग र दलालतन्त्रलाई नै फाइदा पुगिरहेको हुन्छ । यो हिसाबले देश अहिले एउटा कठिन अवस्थाबाट गुज्रिएको छ । अब विकासका गफ दिएर र शहर केन्द्रित भौतिक निर्माणले हामीलाई केही उन्नति हुनेवाला छैन । गरिबमुखी र खाद्यान्नमा आत्मनिर्भर उत्पादन गर्नेतर्फ जोड नदिने हो भने ठूल्ठूला संकटले हामीलाई घेर्नेछ ।
कृषि कर्मका लागि अति आवश्यक मल, बीउ तथा अन्य लगानीका स्रोतमा किसानहरुलाई तत्काल पहुँच पुग्ने गरी राष्ट्रिय संयन्त्रको निर्माण आवश्यक छ । वास्तविक किसानको पहिचान गरी उनीहरुलाइ विशेष प्याकेजसहितको अनुदान नदिएसम्म हामी कृषिमा आत्मनिर्भर हुन सक्दैनौं ।
कृषिमा देखापरेको यो विषम अवस्था र कृषकहरुका आन्दोलनलाई ध्यानमा राखेर राष्ट्रिय सहमति कायम गर्दै केही सुधारका कुरा तत्कालै थाल्न आवश्यक छ । कृषि कर्मका लागि अति आवश्यक मल, बीउ तथा अन्य लगानीका स्रोतमा किसानहरुलाई तत्काल पहुँच पुग्ने गरी राष्ट्रिय संयन्त्रको निर्माण आवश्यक छ । वास्तविक किसानको पहिचान गरी उनीहरुलाइ विशेष प्याकेजसहितको अनुदान नदिएसम्म हामी कृषिमा आत्मनिर्भर हुन सक्दैनौं । खाद्यान्न सामग्रीमा हामी जबसम्म आत्मनिर्भर हुनसक्दैनौं, तबसम्म देशको समृद्धि हुन सग्दैन, देशको विकास हुन सक्दैन ।
त्यसैगरी साना तथा मध्यम किसानहरुले उत्पादन गरेका कृषिजन्य वस्तुहरुलाई सहज बजारको व्यवस्था गरिनुपर्छ । यो प्रयोजनका लागि दुइटा महत्वपूर्ण काम हुनु जरुरी छ ।
पहिलो- तरकारी, फलफूल तथा मासुजन्य कुरामा देशव्यापी रहेको बिचौलियातन्त्र तत्काल हटाउनु पर्दछ । सरकारी निकायबाट किसानहरुसँग किनेर बजारसम्म पुग्ने व्यवस्था मिलाउन सके बिचौलियातन्त्र हावी हुन पाउने छैन ।
खुला बजारको रुपमा भारतीय सामानहरु बिनारोकटोक नेपाल प्रवेश गरी बिचौलियाहरुका माध्यमबाट नेपाली किसानहरुको उत्पादन हुने समय पारेर सस्तोमा बिक्री गर्ने र नेपाली उत्पादनलाई उठ्नै नसक्ने गरी थेचार्ने तरिकाले नेपाल कहिल्यै खाद्यान्नमा आत्मनिर्भर हुन सक्दैन ।
दोस्रो- खुला बजारको रुपमा भारतीय सामानहरु बिनारोकटोक नेपाल प्रवेश गरी बिचौलियाहरुका माध्यमबाट नेपाली किसानहरुको उत्पादन हुने समय पारेर सस्तोमा बिक्री गर्ने र नेपाली उत्पादनलाई उठ्नै नसक्ने गरी थेचार्ने तरिकाले नेपाल कहिल्यै खाद्यान्नमा आत्मनिर्भर हुन सक्दैन । खुला बजार नीतिमा केही परिधिहरु बनाउन आवश्यक छ । कृषिजन्य वस्तुमा यो तरिकाले नेपाललाई उठ्नै नसक्ने बनाएको छ । राष्ट्रिय सहमति कायम गरी नेपाली कृषि उत्पादनको वृद्धि हुनेगरी विदेशी सामानमा रोक लगाउने र आन्तरिक बजार व्यवस्थापन गर्नु जरुरी छ ।
कृषिलाई महत्व दिने हो भने धेरै युवा विदेशिने अवस्था आउँदैन । साना तथा मझौला किसानलाई लक्षित गरेर कृषि व्यवसायीकरण गर्ने हो भने प्रशस्त रोजगारी सिर्जना गर्न सम्भव छ । त्यसैले किसानको पसिनाको मूल्य सरकारले बुझोस् । कृषिप्रधान देशमा किसानहरु आफूले उत्पादन गरेको सामानको बजार नपाएर तरकारी बारीमा कुहाएर बसेका छन्, सडकमा फालेका छन् । कृषि का यी तमाम विषयमा हामी जिम्मेवार बन्न आवश्यक छ । सरकारसँगै समाज किसानप्रति र किसानले पसिना बगाएर उत्पादन गरेको सामानप्रति पूर्ण सहयोगी भावना लिएर अघि बढ्न आवश्यक छ ।
हामीले अब उत्तर खोज्नैपर्छ । किन प्रत्येक वर्ष बाटोमा दूध पोखिन्छ ? किन तरकारी सडकमा फालिन्छ ? यो विषयमा हामी गम्भीर हुन सकेनौं भने न हाम्रो समृद्धिको यात्राले यो देशलाई कतै पुर्याउँछ न त देश र जनताको स्वाभीमान बढेर जान्छ । किसानहरु बाध्य भएर देशव्यापी आन्दोलित हुनुपर्यो भने कसैलाई भलो हुनेछैन ।
राम्रो लेख रहेछ । तथ्याङ्क मिसाउन पाएकाे भए लेखले धूरी चढ्थ्याे । लेखनकला राम्रो छ । तपाईले लेख्दा विषयगाम्भीर्य प्रष्टिन्छ ।