टर्की भूकम्पः कमसल भवन बनाउने १५ ठेकेदार पक्राउ, १ सयभन्दा बढीलाई पक्राउ पुर्जी
इस्तानाबुल । टर्की सरकारले सोमबारको भूकम्पमा भत्किएका भवनहरू निर्माण गर्ने ११३ ठेकेदारहरुलाई पक्राउ पुर्जी जारी गरेको छ । जसमध्ये टर्की पुलिसले निर्माण ठेकेदारसहित कम्तिमा १५ जनालाई हिरासतमा लिइसकेको छ ।
भूकम्प प्रतिरोधी घर निर्माण नगरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । झन्डै तीनसय निर्माण कम्पनीका ठेकेदारहरु पक्राउ पर्ने देखिएको छ । निर्माण ठेकेदारहरु यति तीब्र गतिमा पक्राउ परिरहेका छन्, मानौं टर्की सरकारले भूकम्प पीडितको उद्धार र राहतमा भन्दा पक्राउमा बढी ध्यान दिएको छ ।
गत सोमबार गएको ७.८ रेक्टरको भूकम्पमा परी ज्यान गुमाउनेहरुको संख्या २५ हजारभन्दा माथि पुगिसकेको छ । त्यसमाथि हिमपात र वर्षाको कारण उद्धार र राहतमा बाधा पुगिरहेको छ ।
यसअघि सरकारले भूकम्प प्रतिरोधी घर बनाउन अनुमति दिएको भए पनि ठेकेदार कम्पनीहरुले नबनाउँदा र त्यसमा भ्रष्टाचार गरेका कारण विशाल संरचना भत्कन पुगेको टर्की सरकारका अधिकारीहरुले निष्कर्ष निकालेका छन् ।
ठेकेदारले भूकम्प प्रतिरोधी घर नबनाएका कारण धेरैको ज्यान गएको टर्कीका सुरक्षा अधिकारीहरुले निष्कर्ष निकालेपछि निर्माण कम्पनी र त्यसका ठेकेदारहरुलाई तीब्र गतिमा पक्राउ गर्न थालिएको हो ।
भूकम्पका क्रममा टर्कीका हजारौं विशाल भवनहरू भत्किन पुगेका छन् ।