विराटनगर विमानस्थलमा देशकै ठूलो आन्तरिक टर्मिनल भवन बन्दै, मन्त्री किराँतीले गरे शिलान्यास (भिडिओ)
विराटनगर । विराटनगर विमानस्थलमा २ अर्ब ४२ करोड लागतको टर्मिनल भवन निर्माण कार्य सुरू भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सोमबार बिहान एक कार्यक्रमबीच उक्त भवनको शिलान्यास गरे ।
आयोजनाअन्तर्गत पीक आवर ट्राफिकिङको बेला १८ सय यात्रुको क्षमतासहित डिजाइन गरिएको भवन ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । १६,२७७ वर्ग मिटरको टर्मिनल भवनमा पार्किङ, एक्सेस रोड ल्यान्ड स्केपिङलगायतका संरचना रहने बताइएको छ । भवन निर्माणको ठेक्का केसी-डाँफे जेभीले पाएको छ ।
यस भवनलाई नेपालकै ठूलो आन्तरिक तर्फको टर्मिनल भवन बनाइने विराटनगर विमानस्थल प्रमुख रिन्छी शेर्पाले बताए ।
व्यवसायिक प्रयोजनका लागि पर्याप्त कमर्सियल स्पेसको व्यवस्था गरिएको टर्मिनल भवन मुलतः आन्तरिक हवाई यात्रुको लागि डिजाइन गरिए पनि, क्रस वोर्डर उडान अवतरणको सम्भावनालाई समेत मध्यनजर गरेर आन्तरिक तथा अन्तराष्ट्रिय हवाई यात्रुलाई समेत सोही टर्मिनल भवनबाट सुविधा दिन सकिने शेर्पाले जानकारी दिए ।