कर्णालीको अख्तियारमा निर्माण उपभोक्ता समितिविरुद्ध उजुरीको चाङ (भिडिओ) – Nepal Press

कर्णालीको अख्तियारमा निर्माण उपभोक्ता समितिविरुद्ध उजुरीको चाङ (भिडिओ)

सुर्खेत । कर्णाली प्रदेशमा निर्माण उपभोक्ता समिति र व्यवसायीविरुद्ध उजुरीको चाङ लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयमा उपभोक्ता समितिबाट भएका निर्माण कार्यमा उजुरीको चाङ नै लागेको हो ।

त्यस्तै निर्माण व्यवसायीले गलत इस्टिमेट, गलत मूल्याङ्कन प्रतिवेदन तयार गर्ने, प्राविधिक र ठेकेदारको मिलेमतामा दोहोरो भुक्तानी लिने, नियम–कानूनको पालना नगर्ने, झूटा विवरणहरू तयार गर्ने गरेको उजुरी धेरै आएको शाखा अधिकृत सुशीला मरासिनीले जानकारी दिइन् ।

उनका अनुसार वन अतिक्रमण, सामुदायिक वनको रकम हिनामिना, सामुदायिक सुरक्षा भत्ता र सहकारीका उजुरीहरू पनि धेरै आएका छन् । स्थानीय सरकारमा हुने भ्रष्टाचारका उजुरीहरु पनि उतिकै आउने गरेको उनले बताइन् ।

चालू आर्थिक वर्ष २०७९/०८० को माघ २५ सम्म कर्णालीका ७९ पालिकामध्ये ७२ वटा पालिकाविरुद्ध ४८१ वटा उजुरीउपर छानबिन भइरहेको कार्यालयले जनाएको छ ।

सुर्खेतका स्थानीय तहमध्ये सबैभन्दा बढी अनियमितताको उजुरी गुर्भाकोट नगरपालिकाविरुद्ध रहेका छन् । उक्त नगरपालिकाविरुद्ध २२ वटा अनियमितताका उजुरी परेका छन् ।

साथै पञ्चपुरी नपामा ९, भेरीगंगा नपामा ८ र लेकवेशी नपामा ७ तथा चौकुने गाउँपालिका, चिङ्गाड गापा र बराहताल गापामा ४-४ वटा उजुरी परेका छन् । सिम्ता गाउँपालिकाबाट एक वटा उजुरी अख्तियार कार्यालय सुर्खेतमा दर्ता भएको छ । दैलेख जिल्लामा ११ उजुरी दर्ता भएको छ ।

त्यस्तै दैलेखकै नारायण नपाका २३, भैरवी गापाका १५, गुराँस गापाका १९, नौमुले गापाका दुई, दुल्लु नपाका ६, महावु गापाका ५, आठबीस नपाका ७, चामुण्डाविन्द्रसैनी नपाका ७, भगवतीमाइ गापाका ५, ठाँटीकाध गापाका ५ र डुङ्गेश्वर गापाका दुई वटा भ्रष्टाचारका उजुरी अख्तियार कार्यालय सुर्खेतमा दर्ता भएको शाखा अधिकृत मरासिनीले जानकारी दिइन् ।

कालिकोट जिल्लाका नौ स्थानीय तहमा ५४ वटा उजुरी अख्तियारका नाममा दर्ता भएका छन् । जसमा खाँडाचक्र नपाका १३, सान्नीत्रिवेणी गापाका ९, रास्कोट नपाका ९, पलाता गापाका ५, शुभकालिका गापाका ४, पचालझरना गापाको १, तिलागुफा नपाका ६, नरहरिनाथ गापाका ४ र महावै गापाका तीन वटा भ्रष्टाचारसम्बन्धी उजुरी अख्तियारमा परेको छ ।

यस्तै सल्यानका १० वटै पालिकामा ३४, मुगुको मुगुम कर्मारोङ गाउँपालिकाबाहेकका तीन वटा स्थानीय तहमा ४९, डोल्पाको मध्य छार्का तोङसोङ र डोल्पोबुद्ध गापाबाहेक अन्य पालिकाका १८ वटा उजुरी अख्तियारमा परेका छन् ।

जुम्लाको सिंजा र तातोपानी गाउँपालिकाबाहेकका पालिकाका ३८, रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाबाहेक अरु सबै पालिकाका २३, जाजरकोटका सात वटा पालिकाका ४३ वटा उजुरी अख्तियारमा दर्ता भएका छन् ।

चालू आर्थिक वर्षको सात महिनाको अवधिमा कर्णालीका स्थानीय तहका ४८१ वटा उजुरी अख्तियारले दर्ता गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर