प्रेमीहरुले ‘प्रेम मन्दिर’ बनाएको बुढासुब्बा – Nepal Press

प्रेमीहरुले ‘प्रेम मन्दिर’ बनाएको बुढासुब्बा

काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले गरेको कार्यक्रममा सहभागी हुन आएका बंगलादेशका नौरोज इम्तियाज बुढासुब्बा मन्दिर परिसरमा पुगेर जिज्ञासु देखिए । बुढासुब्बाको शाब्दिक अर्थ खोज्दा कुनै पाका पुरुषसँग जोडिएको अर्थ बुझेपछि उनले नेपाल प्रेसकर्मीलाई सोधिहाले- यो बुढा मान्छेसँग जोडिएको मन्दिरमा प्रेमीप्रेमिकाहरु चै किन आएका ? माघ १५ गते बुढासुब्बा परिसरमा पुगेर यो प्रश्न सोधेका बंगलादेशका पूर्वपत्रकार तथा चिनिएका पर्यटन उद्यमी इम्तियाजको जस्तै प्रश्न धेरैको हुने गरेको छ ।

मौखिक मिथकहरुले जोडिएका कथाहरु बुढासुब्बाका इतिहास हुन् । एक मिथकले युगौं अगाडि बुढासुब्बा क्षेत्रमा बुढा सुब्बा र उनकी सुब्बिनी बहिनी बस्ने गरेको भन्छ । एक दिन काग आएर बाँसमा बस्दा गुलेलीले हान्दा काग भागेको तर बाँसको टुप्पो छिनेको बताइन्छ । त्यही गुलेलीले लागेर छिनेकाले बुढासुब्बाको बाँसमा टुप्पो नहुने मिथक प्रचलित छ । उनै बुढासुब्बाले पछि ध्यान गर्न थालेर उनको समाथि स्थल नै मन्दिर बनेको हो ।

अर्को कथा छ, लिम्बूवानका राजा बुद्धिकण रायलाई गोर्खाली फौजले मारेपछि उनको चिहानस्थललाई श्रद्धाले मन्दिर बनाइएको भन्ने गरिन्छ ।

यस्तै एक अर्को महाभारतकालीन मिथक छ । यो मिथक धरानका पर्यटन उद्यमी वासुदेव बरालले धेरै ठाउँमा लेखेका र भनेका छन् । त्यो मिथकअनुसार महाभारतको युद्धबाट जो हारे÷जिते पनि आफ्नै वंश भएकाले युद्धबाट भागेर तपस्या गर्न आएका एकलव्यको समाधिस्थल नै बुढासुब्बा हो ।

बुढासुब्बा मन्दिरमा बलि पनि दिइन्छ । कुखुरा र सुँगुर बुढासुब्बाको बलिमा धेरै प्रयोग हुन्छन् । सत्ता संघर्ष, ध्यान, युद्ध, महाभारत, बलि आदि जोडिएको बुढासुब्बाका पुजारी मगर समुदायका छन् । डम्बरबहादुर आलेमगरका सन्ततिहरुले पालैपालो समय मिलाएर पुजारीको रुपमा काम गर्ने गरेका छन् । पुजारीहरु पनि मन्दिरको कथनमा प्रेमको इतिहास नभए पनि पछि प्रेम जोडिएको सुनाउँछन् ।

प्रेम प्रसंग धेरैपछि जोडिए पनि बुढासुब्बाको प्रेम प्रसंग सबैभन्दा धेरै लोकप्रिय छ । यही सवालमा धरान घर भएका नेपालका चर्चित पप गायक सविन राईले चर्चित गीत गाएका छन् । धरानकै गोपाल देवानले लेखेको गीतको एक ठाउँमा बुढासुब्बाको प्रसंग यसरी आउँछः

आजै गई बुढासुब्बा लेखौं नाम बाँसैमा
कत्ति बस्नु म तिमी आउने आशैमा

अहिले यो गीतमा भनिए जस्तै बाँसमा नाम लेख्न निषेध गरिएको छ । त्यसको विकल्पमा जोडी धागो बाँध्ने प्रचलन आएको छ । बाँसमा नाम लेख्ने चलन प्रेमीप्रेमिकाहरु आफैंले चलाएका हुन् । बाँसमा धागो बाँध्ने प्रचलन भने मन्दिर व्यवस्थापन समितिले चलाएको हो । बुढासुब्बा मन्दिर व्यवस्थापन समितिका सचिव उत्तम आलेमगरका अनुसार २०५० सालबाटै बाँसको समस्या देखिएको थियो । त्यो समस्या समाधान गर्न बाँसमा लेख्न निरुत्साहित गर्न थालिएको हो । त्यो समयबाटै बाँसमा लेख्नेभन्दा धागो बाँध्न भनेका थियौं ।

‘बुढासुब्बामा बाँसमा नाम खोप्ने त पुरानो चलन हो’, सचिव आलेमगर भन्छन्, ‘२०५५ सालपछि डोरा धागो आदि बेच्ने पसलहरु खुलेपछि धागो डोरा किन्ने र बाँध्ने प्रचलन सुरु भएको हो ।’

बुढासुब्बा मन्दिर क्षेत्र समेटिने धरान १४ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईका अनुसार बाँस खोप्न निषेध गरिएको नौ वर्ष हाराहारी भएको हो । स्थानीय तहको पहिलो चुनावभन्दा तीन वर्ष अगाडि बन्द गरिएको भट्टराईले बताए ।

‘बाँसलाई जोगाउन कंक्रिट पर्खाल लगाइएको थियो । तर, बाँसले फैलिन पाएन भने बढ्दैन रहेछ, तामा हाल्दैन रहेछ’, दुई कार्यकाल वडा अध्यक्ष भएका भट्टराई भन्छन्, ‘यो बुझेपछि हामीले कंक्रिट पर्खालको सट्टामा तारजालीमात्रै लाएका छौं । अहिले तामा बढेको छ । बाँस फैलिएको छ ।’

अध्यक्ष भट्टराईले मेयर तिलक राईको पालामा स्थानीय तहबाट १० लाख बजेटबाट बाँस संरक्षण, गोडमेल आदिमा काम भएको बताए । गोडमेल र संरक्षणले बाँस जोगिए । जोडीधागोले स्थानीयको व्यापार पनि बढ्यो । अध्यक्ष भट्टराई भन्छन्, ‘सुखी दाम्पत्य जीवन र अमर प्रेम जीवनको लागि जोडी धागो बाँध्ने चलन बसिसकेको छ ।’

बुढासुब्बाका मिथकहरुमात्रै एकभन्दा धेरै छैनन्, शाखाहरु पनि एकभन्दा बढी छन् । सुनसरीकै इटहरीको तालतलैया क्षेत्रबाट उत्तरी मोरङको सुन्दरहरैंचाको हसिना सिमसार क्षेत्रमा बुढासुब्बा मन्दिरहरु छन् । धरानमा बाँसको नाममा लेख्न निषेध गरिए पनि इटहरी र हसिनामा भने निषेध छैन । धरानको जस्तो बुढासुब्बा क्रेज भने अन्त देखिँदैन ।

बुढासुब्बाको अर्को पनि रोचक पक्ष छ । मूर्ति नभएको नेपालको एक्लो मन्दिर बुढासुब्बा भएको वडा अध्यक्ष भट्टराई बताउँछन् । उनी भन्छन्, ‘सम्भवतः विश्वकै मूर्ति नभएको मन्दिर यही हुनसक्छ ।’

बुढासुब्बा कवितामा पनि सबैभन्दा धेरै आउने प्रदेश १ को मन्दिर हो । लिम्बूवान आन्दोलनका अगुवा तथा कवि कुमार लिङदेनले २०५६ माघ ६ गते एक कविता लेखेका छन् । २०६० सालमा विराटनगरबाट प्रकाशन भएको लिङदेनको कविता संग्रह ‘आधा चन्द्रमा’मा समावेश भएको कवितामा बुढासुब्बालाई विम्ब बनाएर भनिएको छः

मध्य दिनमा माङ्गेनामाथि बज्रपात हुँदा पनि
धरानको विजयपुरमा
ऊ लम्पसार सुतिरहन्छ
हजारौं बोका, कुखुराको रगत पिएर पनि
ऊ व्युँझन सकेन
कति लामो भोक र निन्द्रा हो यो ?

ऊ हाङ थियो
माङ भएको छ
समय आएको छ
उसले व्युँझनै पर्छ ।

बुढासुब्बाको उदार प्रेम कहानी र टुप्पोविनाको बाँसलाई विम्ब बनाएर कवि मुनाराज शेर्माले सुन्दर कविता लेखेका छन् । प्रकाश दिप्साली राई सम्पादक भएर २०७८ मा काठमाडौंबाट प्रकाशित ग्रन्थ ‘लकडाउनमा सर्जन र सिर्जना’मा समावेश मुनाराज शेर्माको ‘हजारौं प्रेमीहरुको आत्मासँगको महासंवादमा’ शीर्षक कविताले भन्छः

बुढा सुब्बा !
आयौ र धन्न टुप्पाविहीन रोपेछौ बाँस
टुप्पा त हाम्रो नाक रहेछ, जो अहंको उचाइ नाप्छ
टुप्पा त हाम्रो टुप्पी रहेछ, जो श्रेणीको विभाजन गर्छ
टुप्पा त हाम्रो श्रेष्ठता रहेछ, जो विभेद गोडमेल गर्छ

टुप्पा त हामीलाई सधैं थिचिरहने भार रहेछ
टुप्पा त हाम्रो नङ रहेछ, छाँटिरहनु पर्ने
यो त कहाँ बढ्ने हुर्कने पलाउनेमात्र रहेछ र

यहाँ कति सर्किनीहरु बाहुनहरुसँग आएछन्
बाँसमा खोपेछन् नाम र काटेछन् टुप्पा समान हुनलाई
यहाँ कति दर्जिनीहरु लिम्बूसँग आएछन्
र बाँधेछन् डोरा कसिलोसँग नछुटी बाँच्नलाई
कति मधेसी थरुनी यादव मुसहर आएछन्
पहाडे क्षेत्री मगर गुरुङ सन्न्यासी आदि आदिसँग
र काटेछन् निरङ्कुश साँस्कृतिक शीर
छिनिरहेको दैनिक पशुहरुको शीर जस्तै
तिमी त जीवन थिएछौ बुढा लिम्बू !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *