रोहित र कुशलबीच कीर्तिमानी साझेदारी, नेपाल बलियो स्थितिमा
काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्ध अहिले भइरहेको खेलमा नेपालका प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल र कप्तान रोहित पौडेलले शानदार ब्याटिङ गरेका छन् ।
२८६ रनको लक्ष्य पाएको नेपालका लागि यी दुई ब्याटसम्यानले दोस्रो विकेटका लागि शतकीय साझेदारी गरिसकेका छन् । नेपालले ३३ ओभरमा २ विकेट गुमाएर १८६ रन जोडेको छ । नेपाललाई अब १७ ओभरमा १०० रन आवश्यक छ ।
भुर्तेल ८१ र रोहित ७२ रनमा खेल्दैछन् । यी दुईबीच १३३ रनको साझेदारी भइसकेको छ । नेपालले ५३ रन जोड्दा दोस्रो विकेटका रुपमा ज्ञानेन्द्र मल्ललाई व्यक्तिगत २५ रनमा गुमाएको थियो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यति ठुलो लक्ष्य यसअघि पुरा गर्न सकेको छैन ।
नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २५५ रनसम्मको लक्ष्य पूरा गरेको इतिहास छ । सन् २०१९ को जनवरीमा नेपालले दुबईमा यूएईले दिएको २५५ रनको लक्ष्य पूरा गरेको थियो ।
तर नेपालले तेस्रो पालीमा यसअघि २८६ रनसम्म बनाएको इतिहास छ । सन् २०२२ को मार्चमा नेपालले कीर्तिपुर मैदानमा पपुआ न्युगिनीले दिएको २९३ रनको लक्ष्य पछ्याउनेक्रममा २ सय ८६ रनसम्म बनाएको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय श्रृंखलामा नामिबिया विरुद्धको खेलमा दिपेन्द्रसिंह ऐरी र देव खनालले पपुवा न्यूगिनी विरुद्ध २०२२ मार्च २६ मा बनाएको १२९ रनको साझेदारीको कीर्तिमान राेहित र कुशलले तोडेका छन् ।
खेलमा ३३ ओभरको अन्तिम बलमा भुर्तेलले चौका प्रहार गर्दै १८६ रन बनाउँदा हालसम्मको सबैभन्दा धेरै रनको साझेदारी गरेका हुन् ।