सरुवा भइसकेका हाकिमले एक महिनासम्म पनि छोडेनन् सरकारी क्वाटर, रमाना बुझ्न पत्र
कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक प्रसाद आचार्यको पुस २८ गते सरुवा भयो ।
संघीय प्रशासन तथा सामान्य प्रशासन मन्त्रालयले २८ गते आचार्यलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सरुवा गरेर उनको ठाउँमा लक्ष्मण बहादुर कठायतलाई खटाउने निर्णय भएको थियो ।
संघीय प्रशासन तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त) समूहबाट घोडाघोडी नगरपालिकामा खटिएका प्रमुख कार्यकारी अधिकृत सरुवा भएको केही समय पछि नगरपालिकामा हाजिर भए । तर, नगरपालिकाबाट सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत आचार्यले भने १ महिना सम्म पनि रमाना बुझेनन् ।
कार्यालय प्रमुखले प्रयोग गर्ने सरकारी क्वाटर पनि अहिले आचार्यले नै प्रयोग गर्दै आइरहेका छन् । कार्यालय प्रमुखको कामकाज सुरु गरिसक्दा पनि सरुवा भइसकेका कार्यालय प्रमुखले सरकारी आवास नछोडेपछि अहिले नयाँ कार्यकारी प्रमुख कहिले धनगढी त कहिले बनबेहेडाबाट कार्यालय आइरहेका छन् ।
धनगढीबाट कार्यालयको दुरी करिब ६० किलोमिटर रहेको छ भने बनबेडा स्थिति कार्यालय प्रमुखको निजी निवासबाट पालिका ३५ किलोमिटरको दुरीमा पर्दछ । नगरपालिका नजिकै रहेको सरकारी आवास सरुवा भइसकेका हाकिमले नछोडेपछि समस्या भएको नगरपालिका स्रोतको दाबी छ ।
१ महिना सम्म पनि रमाना नबुझेका पुराना हाकिमलाई रमाना बुझ्न आज एक पत्र पनि काटिएको छ । बरबुजारत गरि रमाना लिने समय सकिँदा सम्म पनि रमाना नलिएको भन्दै आगामी ४ गते सम्म रमाना लिन पत्रमा आग्रह गरिएको छ ।