लुम्बिनीमा सबै मन्त्रालयका लागि तीन वर्षमा भौतिक संरचना तयार हुने
राजधानी व्यवस्थापनको चरण प्रारम्भ भयो : मुख्यमन्त्री गिरी
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले प्रदेशको राजधानी व्यवस्थापनको चरण प्रारम्भ भएको बताएका छन् ।
प्रदेश सरकारका प्रशासनिक भवनको शिलान्यास गर्दै मुख्यमन्त्री गिरीले भने, ‘राजधानी व्यवस्थापनको चरणको प्रारम्भ भएको छ । सरकारले प्रशासनिक भवन निर्माण कार्यको प्रारम्भ गरेको छ । यो कार्यलाई समय मै सम्पन्न गर्नेछौँ ।’
राजधानीको निर्णय कार्यान्वयनका क्रममा सरकारले थुप्रै समस्या बेहोरेको गिरीले बताए ।
प्रदेशको राजधानीलाई मुलुककै नमुना र उत्कृष्ट बनाउने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री गिरीले सबैको आपसी सहयोगले मात्रै यो कार्यले पूर्णता पाउने बताए । उक्त अवसरमा निर्धारित मुख्यमन्त्री गिरीले समयमा निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए ।
उक्त अवसरमा बोल्दै खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्री चेतनारायण आचार्यले सरकारलाई पूर्वाधार सम्पन्न बनाउनतर्फ लाग्ने प्रतिबद्धता जनाए ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका साथै अन्य ९ वटा मन्त्रालयका प्रशासनिक भवन ३ वर्षमा निर्माण सम्पन्न गर्ने गरी निर्माण प्रारम्भ गरेको भन्दै मन्त्री आचार्यले शर्मा/सगुन जे.भी.सँग निर्माण सम्झौता गरिएको बताए ।
‘समयमै निर्माण सम्पन्न गर्ने गरी सरकारले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका साथै अन्य ९ वटा मन्त्रालयका गरी १० वटा प्रशासनिक भवन निर्माणको कार्य प्रारम्भ गरेका छौँ’, मन्त्री आचार्यले भने, ‘निर्माण कम्पनीले निर्धारित समयमै निर्माण कार्य सम्पन्न गर्ने बचन दिएको छ । यस कार्यलाई समयमै सम्पन्न गराउनतर्फ लाग्नु हामी सबैको दायित्व हो ।’
मन्त्री आचार्यका अनुसार २०८२ साल पुस २८ गते निर्माण सम्पन्न गर्ने आयोजनाका लागि मूल्य अभिवृद्धि करबाहेक ३ अर्ब ९ करोड १ लाख २९ हजार ३८ दशमलव ७२ पैसाको लागत छुट्याइएको छ ।