तीन वर्षअघिको दिलिप महतोको हत्यामा क्रसर सञ्चालकसहित तीनजना दोषी ठहर
जनकपुरधाम । तीन वर्ष अगाडि क्रसर माफियाद्वारा हत्या गरिएका धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका दिलिप महतोको मुद्दामा जिल्ला अदालत धनुषाले तीन जनालाई दोषी ठहर गरेको छ ।
घर अगाडिको औरही खोलामा २०७६ पुस २५ गते महतोको हत्या गरिएको थियो । उनको हत्या मनशायपूर्वक गरिएको ठहर गर्दै अदालतले विपिनकुमार महतो, मुनिन्द्र महतो र जितेन्द्रकुमार महतोलाई दोषी ठहर गरेको छ ।
अदालतले दोषी ठहर गरेपनि प्रतिवादीहरूलाई सजाय तोकिएको छैन । फागुन १२ गते दोषी ठहर भएकाहरुलाई सजाय तोकिने अदालतका श्रेष्तेदार विकास बस्नेतले जानकारी दिए ।
दोषी ठहर भएका विपिन चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक हुन् । जितेन्द्र र मुनीन्द्र विपिनकै उद्योगका कामदार रहेको बुझिएको छ ।
अदालतले प्रतिवादीहरू रोशनकुमार यादव, शत्रुघन महतो, सत्यनारायण महतो र विनोदकुमार महतोले सफाइ दिएको छ ।
बालुवा प्रशोधन केन्द्र मृतक दिलिपकै जग्गामा सञ्चालनमा थियो । दिलिपले नदीमा भइरहेको उत्खननको विरोध गर्दा उनीहरु योजनावद्ध ढंगले टिपरले टाउको कुल्चिएर विभत्स रुपमा हत्या गरेको थियो ।