प्रहरीको गाडी आगजनी गर्ने र मोबाइल पसल लुटपाटमा संलग्न अहिलेसम्म ३८ जना पक्राउ
काठमाडौं। यातायात मजदुरको प्रदर्शनका क्रममा गत आइतबार नयाँ बसपार्क र माछापोखरीमा भएको प्रहरीको गाडी आगजनी र मोबाइल पसल लुटपाटमा संलग्नहरू हालसम्म ३८ जना पक्राउ परेका छन् ।
काठमाडौं प्रहरी परिसर र काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले मोबाइल पसल लुटपाटमा संलग्न ११ जना तथा आगजनी र तोडफोडमा संलग्न २७ जनालाई पक्राउ गरेको छ । घटनास्थलको फुटेज हेरेर प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
काठमाडौं प्रहरी परिसरको टोलीले बुधवार आगजनी र तोडफोडमा संलग्न ६ जना र मोबाइल पसल लुटपाटमा ४ जनालाई सार्वजनिक गरेको छ । परिसरको टोलीले बिहीबार आगजनी र तोडफोडमा संलग्न थप ९ जना र लुटपाटमा संलग्न थप ४ जना पक्राउ गरेर म्याद थप्ने तयारी गरेको छ ।
यता काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले आगजनी तोडफोडमा संलग्न १२ जना र मोबाइल पसल लुटपाटमा संलग्न ३ जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।
प्रहरीका दुई वटा गाडीमा तोडफोड र आगजनी भएको थियो भने ल्होत्से मलमा रहेको दुई वटा मोबाइल पसलमा लुटपाट भएको थियो । मोबाइल पसल सञ्चालकले ८ करोड रुपैयाँ बराबरको मोबाइल लुटिएको दाबी गरेका छन् ।