बसपार्क घटनाको छानबिनका लागि डीआईजी नेतृत्वमा समिति गठन
काठमाडौं । प्रहरी प्रधान कार्यालयले गत आइतबार नयाँ बसपार्क र माछापोखरीमा भएको घटनाको छानबिन गर्न डीआईजीको नेतृत्वमा छानबिन समिति बनाएको छ ।
डीआईजी मसउद आलम खाँको नेतृत्वमा समिति बनाएको केन्द्रीय प्रवक्ता पोषराज पोखरेलले जानकारी दिए । यातायात मजदुरको प्रदर्शनका क्रममा माछापोखरीमा रोकिराखेका प्रहरीका दुईवटा गाडीमा आगजनी र तोडफोड भएको थियो भने नयाँ बसपार्कमा रहेको ल्होत्से मलका मोबाइल पसलमा लुटपाट मच्चिएको थियो ।
प्रहरी भिड नियन्त्रण गर्न नसकेर भाग्नुपर्ने अवस्था बनेको थियो । सोही घटनालाई लिएर बालाजु प्रहरी वृत्त प्रमुख रविन विष्टलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी तानिएको छ । प्रहरीले लुटपाट र आगजनीमा संलग्न हालसम्म ३८ जना पक्राउ गरेको छ ।