धाप ड्यामले वागमती सभ्यता जोगाउने कार्यमा नयाँ आयाम थपियो: उपप्रधानमन्त्री लिङ्देन (भिडिओ)
काठमाडौं । उपप्रधानमन्त्री एवं उर्जा जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देनले वागमती सभ्यता जोगाउने कार्यमा धाप ड्याम निर्माणले नयाँ आयाम थपिएको बताएका छन् । धाप ड्यामको समुदघाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री लिङ्देनले बागमती सभ्यताको संरक्षण एवं बागमती सफाइका लागि उदाहरणीय काम भएको बताएका हुन् ।
उनले धाप ड्याम जस्तै अर्को नागमती ड्याम छिटो सम्पन्न गर्न निर्देशन दिँदै आफ्नो तर्फबाट नीतिगत, प्रशासनिक र सबै प्रकारको सहयोग हुने बताए ।
जलाधारको विकास, जलाशयको निर्माण र यस्ता संरचनाहरु पर्यटकीय दृष्टिले समेत आकर्षणको केन्द्र बन्ने, वन्यजन्तुको संरक्षण हुने, पर्यावरण जोगाउन योगदान पुग्ने उल्लेख गर्दै उपप्रधानमन्त्री लिङ्देनले महाशिवरात्री पर्वको पूर्वसन्ध्यामा बहुआयामिक महत्त्वको कार्य प्रारम्भ गरिनु सुखद भएको बताए ।
शहरी विकास मन्त्री विक्रम पाण्डेले धाप ड्याम जस्ता संरचना बनाउँदा बायो इन्जिनियरिङमा ध्यान दिनुपर्नेमा जोड दिए । परामर्शदाता र निर्माण पक्षको आपसी समन्वय नहुँदा आयोजना निर्धारित समयमा बन्न नसकेको र लागत बढ्ने गरेको हुँदा निर्माण प्रक्रियामा रहेका आयोजनाले ध्यान पुर्याउन निर्देशन दिए। धाप ड्यामको निर्माणबाट राजधानीबाट नजिकै नयाँ पर्यटकीय गन्तव्य थपिएको मन्त्री पाण्डेले उल्लेख गरे ।
गोकर्णेश्वर नगरपालिका वडा नं १ अन्तर्गतको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एशियाली विकास बैंकको ८९ करोड सहयोगमा धाप ड्यामको निर्माण भएको हो ।
सुख्खा यामको समयमा समेत वागमतीमा जल प्रवाह वृद्धी गराउने उदेश्यले काठमाडाैंकाे सुन्दरीजलबाट १८ किमि टाढा चौवीस उचाईमा एकसय ७५ मिटर लम्वाई रहेको उक्त ड्याम सुख्खा र मुख्य चाडपर्वको समयमा चार सय प्रति सेकेण्ड पानी प्रवाह गर्न सक्ने जनाइएको छ ।