मिलापत्र गरेको भोलिपल्टै किशोरीले विष पिएपछि…..
काठमाडौं । माघ ८ गते पाँचथरको तुम्बेवा गाउँपालिका- २ का इन्द्र मगर बिहानै सुँगुर काट्न गाउँ निस्किए । उनी उठ्दा श्रीमती मीना घरमा थिइनन् ।
काम गरिरहेका बेला नजिकै रहेका व्यक्तिको मोबाइलमा फोन गरी मीनाले इन्द्रलाई बोलाइन्- म यहाँ निराको घरमा छु, चाँडै आउनू ।
इन्द्र साथीको मोटरसाइकलमा निराको घरमा पुग्दा मीना, आमा इन्द्रमाया र गाउँका मान्छेहरु जम्मा भइसकेका थिए । त्यहाँ मीनाले निरा राईलाई भन्दै थिइन्, ‘मेरो बुढालाई पटक-पटक फोन गर्नुपर्ने कारण के थियो ? मेरो छोरा र मलाई पनि देखेकै छौ, किन फोन गरिरहन्छौ ? अस्ति पनि फोन नगर्नू भनी सम्झाउँदासमेत किन मान्दैनौ, के काम छ ?’
निराका एक आफन्तले उनी र इन्द्र दुवैलाई पिटे। अन्यले दुवैलाई सम्झाउन थाले । निराकी दिदी बसन्तीका अनुसार त्यस दिन आफूहरु बारीमा काम गरिरहेका वेला मीना एक महिलासहित बिहानै घरमा आइपुगेकी थिइन् । कुरा गर्नु छ भन्दै मीनाले बोलाएपछि आफूले उनका श्रीमानलाई पनि बोलाउन लगाएकाे बसन्तीले बताएकी छन् ।
इन्द्रका अनुसार तीन महिनाअघि स्थानीय खेल मैदानमा फुटबल खेल्न जाँदा निरासँग परिचय भएकाे र मोबाइल नम्बर आदानप्रदान भएको थियो । त्यसपछि उनीहरुबीच मोबाइलमा कुराकानी भइरहन्थ्यो । त्यसबारे एकदिन मीनाले थाहा पाएपछि इन्द्रलाई गाली गरेकी थिइन् ।
इन्द्रले ‘मैले फोन गर्दिनँ, उसैले फोन गर्ने हो, नपत्याए आफैं फोन गरेर सोध’ भने । त्यस दिनदेखि इन्द्रले दुवै जना सँगै भएका बेलामात्र मोबाइल चलाउन पाउन थाले । इन्द्रका अनुसार मीनासँग आफ्नो मोबाइल भएका बेला निराले फोन र म्यासेज गरिरहेकी हुन्थिन् । त्यही कारण मीनाले मोबाइलमा भएको सिमकार्ड निकालेर अर्को सिमकार्ड राखेर चलाउन थालिन् । तर पनि निराको फोन आउन नछाडेको इन्द्रको भनाइ छ ।
इन्द्रका अनुसार माघ ७ गते साँझ उक्त नम्बरमा फोन आएपछि मीनासँग चर्काचर्की नै भएको थियो । निराकी दिदी बसन्तीका अनुसार आमाको नम्बरमा मिसकल आएपछि कलब्याक गर्दा मीनाले उठाएकी थिइन् । त्यसपछि मीनाले अघि मिस कल आएको थियो, निरा खोई भनेको बसन्तीको भनाइ छ । त्यसबारे निरालाई सोध्दा आफूले कसैलाई फोन नगरेको बताएको बसन्तीको भनाइ छ ।
यता मीनाले श्रीमानको मोबाइल आफूले बोक्न थालेपछि फोन आउँदा उठाए पनि फोन काट्ने र कहिलकाहीं निराले फोन गरेको होला भनेर अरुले फोन उठाउने गरेको बताएकी छन् । मीनाको दाबीअनुसार श्रीमानको सिम निकालेर फ्याँकेपछि आफूले निराको घरमा एक्लै गएर उनलाई आइन्दा फोन नगर भनेको र उनले पनि हुन्छ भनेकी थिइन् ।
तर, निराको फोन आउने क्रम नरोकिएपछि उनी माघ ८ गते बिहान फेरि निराको घर पुगेकी थिइन् । पछिपछि उनकी सासू चन्द्रमाया पनि पुगेकी थिइन् । मीनाले फोन गरेर छलफलका लागि आउनुपर्यो भनेपछि आफू त्यहाँ पुगेको चन्द्रमायाले बताइन् ।
निराकी दिदी बसन्तीका अनुसार छलफलमा दुवै पक्षबीच मिलापत्र भएको थियो र आइन्दा एक-अर्कालाई फोन नगर्ने कागज पनि भएको थियो । कागजमा दुवै पक्ष र गाउँलेले हस्ताक्षर पनि गरेका थिए ।
तर, भोलिपल्ट बिहान निरा आफ्नै कोठामा भमिट गरिरहेको अवस्थामा भेटिइन् । नजिकै विषको बोतल पनि भेटियो । उनलाई अस्पताल लिगयाे । माघ ११ गते धरानस्थित घोपा अस्पतालमा उनकाे मृत्यु भएको थियो । मृतककी दिदी अस्मिताका अनुसार विष सेवनपछि निराले इन्द्र र मीनाको परिवारले जहिलेतहिले बदनाम गरी शारीरिक तथा मानसिक तनाव दिएका कारण आत्महत्या गर्ने निर्णयमा पुगेको बताएकी थिइन् ।
प्रहरीले अस्मिताकै जाहेरीका आधारमा इन्द्र, मीना र चन्द्रमायालाई पक्राउ गरेको थियो । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार आत्महत्या दुरुत्साहन मुद्दामा जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको छ ।