नेपालमा बंगलादेशी पर्यटक बढाउने बंगलादेशकै पर्यटन उद्यमीका ५ टिप्स
काठमाडौं । नेपाली पर्यटन क्षेत्रमा बंगलादेशी पर्यटकहरुको आगमन पछिल्लो समयमा बढिरहेको छ । सन् २०२२ को तथ्यांक हेर्दा २५ हजार ३०० बंगलादेशी पर्यटकहरु नेपालमा आए । उक्त वर्ष नेपालमा आउने विदेशी पर्यटकहरुमा सबैभन्दा धेरै पर्यटक आउने पाँचौं देश बंगलादेश बन्न पुगेको थियो ।
झण्डै ३० लाख हाराहारी बंगलादेशी विदेशमा पर्यटक भएर जाने गरेको अनुमान गरिन्छ । जसमा २० लाख हाराहारी बंगलादेशीहरु भारतमा आउने गरेका छन् । नेपालमा भने भारतको तुलनामा ज्यादै थोरै बंगलादेशीहरु आउने गरेका छन् । आर्थिक रुपमा विकास गरिरहेको र मध्यम वर्गको तीव्रत्तर विकास भइरहेको बंगलादेशका पर्यटकहरु नेपालमा आउनुपर्ने जति नआएको पर्यटन क्षेत्रका सबैको साझा बुझाइ छ ।
प्रदेश नम्बर १ को धरानका पर्यटन व्यवसायी वासुदेव बराल भन्छन्, ‘लाख बढी बंगलादेशी पर्यटकहरु नेपालमा आउने सम्भावना हुँदाहुँदै आधा लाख पनि नआउनु दुःखद पक्ष हो । अझ स्थलमार्गबाटै आउन सकिने प्रदेश नम्बर १ का पर्यटकीय क्षेत्रहरुमा बंगलादेशी अनुहारहरु भेटिन्न भन्दा पनि हुन्छ ।’
पर्यटन व्यवसायी बरालको जस्तो दुःखेसो देशभरका बंगलादेशी पर्यटकहरुको आगमन कुरेका व्यवसायीहरुको छ । पूर्वी सिमानाबाट एक घण्टाभन्दा छोटो सडक दूरी तथा ढाका-काठमाडौं एक घण्टाको सीधा उडान हुँदाहुँदै बंगलादेशीहरु नेपालमा आउनुपर्ने जति नआएको पर्यटन व्यवसायीहरु बताउँछन् । नेपालमा कसरी बढीभन्दा बढी पर्यटकहरु बंगलादेशबाट कसरी ल्याउने भन्नेबारेमा नेपाल प्रेससँग बंगलादेशका पर्यटन उद्यमी नौरोज इम्तियाजले केही तौरतारिकाहरु सुझाएका छन् । नौरोज बंगलादेशको छुटी बंगलादेश नामक ट्राभल कम्पनी चलाँउछन् । नेपालमा दश पटक ओहोरदोहोर गरेका नौरोजसँग नेपाल प्रेसले गरेको कुराकानीमा उनले नेपालमा बंगलादेशी पर्यटकहरु बढाउने पाँच प्रमुख सुझाव दिएका छन्ः
१. बाङ्ला भाषामा प्रचार, वर्षभरि नै प्रचार
नेपालको तर्फबाट हुने बंगलादेशको पर्यटन प्रचारमा अंग्रेजी व्यापक प्रयोग हुने भन्दै नौरोजले त्यसको प्रभावकारिता कम हुने बताउँछन् । बंगलादेशमा बहुसंख्यकले बुझ्ने भाषा बाङ्ला भएकाले त्यही भाषाका प्रचार सामग्रीले अतिरिक्त सहयोग हुने उनको भनाइ छ । प्रचार गर्दा डिजिटल माध्यम महत्वपूर्ण हुने उनको सुझाब छ ।
यस्तै भारतीय कम्पनीहरुले जस्तै नेपाली पर्यटन कम्पनीहरुले पनि वर्षभरि प्रचार गर्नुपर्ने नौरोजको तर्क छ । नेपालको तर्फबाट वेलावेलामात्रै हुँदै आएको प्रचार वर्षभरि निरन्तर हुनुपर्ने उनको सुझाव छ । प्रचारको लागि दुई देशका पर्यटन पत्रकारहरुलाई र पत्रकारका संस्थाहरुमा एकापसमा जोडेर थप संस्थागत गर्न सकिने नौरोजको तर्क छ ।
नेपालमा दोस्रोपटक आउने बंगलादेशी पर्यटकले अतिरिक्त ३० अमेरिकी डलर तिर्नुपर्ने व्यवस्था हटाइए थप सहज हुने उनको भनाइ छ । दोस्रो पटक आउने पर्यटकले १०० डलर खर्च गर्ने सम्भावना यस्ता अतिरिक्त शुल्कले बन्द गर्नसक्ने उनी बताउँछन् ।
२. मध्यम वर्ग लक्षित कार्यक्रम
बंगलादेशबाट नेपाल आउन बंगलादेशबाट दिल्ली, जयपुरदेखि कास्मिर आदि जानुभन्दा सस्तो भएको भन्दै नौरोजले नेपालले यो कुरा विज्ञापन गर्न सक्ने बताए । नेपालले बंगलादेशका मध्यम वर्ग तथा युवाहरुलाई लक्षित गरेमा त्यो वर्ग नेपालमा आउने उनको भनाइ छ ।
३. बंगलादेशीहरुलाई खास सहुलियतको व्यवस्था
नेपालमा बंगलादेशी पर्यटकहरुलाई भारतीयलाई जस्तै सहुलियत दिएमा थप पर्यटक आउने नौरोजको भनाइ छ । नेपालमा दोस्रोपटक आउने बंगलादेशी पर्यटकले अतिरिक्त ३० अमेरिकी डलर तिर्नुपर्ने व्यवस्था हटाइए थप सहज हुने उनको भनाइ छ । दोस्रो पटक आउने पर्यटकले १०० डलर खर्च गर्ने सम्भावना यस्ता अतिरिक्त शुल्कले बन्द गर्नसक्ने उनी बताउँछन् ।
४. थप हवाई सेवा विस्तार र स्थलमार्गको प्रवर्द्धन
अहिले नेपालमा बंगलादेशबाट आउने हवाई पर्यटकहरु ढाकादेखि काठमाडौं आउँछन् । अरु नेपालका विमानस्थलहरुमा यस्तै जोड्न सकिए राम्रो हुने नौरोजको भनाइ छ । बंगलादेशका चित्तगोङ र कोक्स् बजारबाट सीधा नेपालका अरु अन्तर्राष्ट्रिय विमानस्थलहरुमा उडान भएमा थप सहयोग हुने नौरोज बताउँछन् । यसतर्फ नेपाल र बंगलादेशले सहकार्य गर्नुपर्ने उनको सुझाब छ ।
यस्तै बंगलादेशको राजधानी ढाकाबाट चङ्ग्राबन्धा स्तरीय बस चल्ने र त्यहाँबाट पूर्वी नेपालको सिमामा आउन थोरै समयमात्रै लाग्ने भन्दै यो रुटलाई प्रवर्द्धन गर्न आवश्यक भएको उनको तर्क छ । काकरभित्ताबाट काठमाडौंको सडक दुरी छोट्याउने सहज सवारीको व्यवस्था भएमा पूर्वी नेपालमात्रै होइन काठमाडौं जानेहरुले पनि यही रुट प्रयोग गर्ने उनको भनाइ छ ।
५. भारतसँग डबल इन्ट्री भिजामा सहजीकरणः सिक्किम, दार्जिलिङ आएकालाई नेपाल प्रवेश
नौरोज धेरै बंगलादेशीहरु भुटान जान भारतबाट डबल इन्ट्री भिजा लाएर जाने गरेको भन्दै नेपालमा जान पनि त्यही कुरा प्रवर्द्धन गर्न आवश्यक भएको बताउँछन् । कतिपय पर्यटकहरुले भारतको सिंगल इन्ट्री भिजा लिएर आउँदा समस्या झेलेको भन्दै उनले नेपाल र भारतले दुईपक्षीय कुनै सम्झौता गरेर यसमा सहजीकरण गर्नुपर्ने बताए ।