अनेरास्ववियुको निर्वाचन- विद्यार्थी राजनीतिमा उजागर गरेका सुखद संकेत
हालै सम्पन्न एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको निर्वाचनले नेपाली राजनीतिको केही सुखद भाष्य कोरेको छ । नेपाली राजनीतिक इतिहासमा विद्यार्थी संगठनहरुको भूमिका एकदमै ठूलो र अन्य राजनीतिक संगठनभन्दा निकै अब्बल र अतुलनीय छ । विगतमा जहानियाँ राणा शासनदेखि निर्दलीय पञ्चायतसम्मको सबै राजनीतिक गतिविधिको मियो नै विद्यार्थी आन्दोलन थियो ।
राणासँगको संघर्षको इतिहासमा ‘जयतु संस्कृतम्’को आन्दोलनमार्फत विद्यार्थी राजनीति जोडिएको थियो । ‘जयतु संस्कृतम्’को वेगलाई रोक्न राणाहरुले गरेको निर्वासन नै अन्ततोगत्वा भारत छोडो आन्दोलनदेखि गान्धीको अहिंसाको आन्दोलन हुँदै नेपालमा प्रजातान्त्रिक आन्दोलनको मियो बन्न पुग्यो । राणाविरोधी आन्दोलनको सफलतासँगै विद्यार्थी राजनीति भनेको राजनैतिक सिद्धान्तभन्दा पनि विद्यार्थी हकहितको लागि हुनुपर्छ भन्ने मान्यताले प्रशय पायो र विद्यार्थी राजनीतिबाट उदाएका भए तापनि सात सालका नेताहरु राजनीतिक विचारमा आधारित विद्यार्थी संगठन बनाउनतिर लागेनन् ।
तर, प्रजातन्त्र प्राप्तिको १० वर्षमै निर्दलीय पञ्चायत लादिएपछि फेरि सिद्धान्तमा आधारित राजनीतिक विद्यार्थी संगठनको आवश्यकता महसुस हुन थाल्यो । निर्दलीय पञ्चायत सँगसँगै राजा महेन्द्रले विद्यार्थी संगठनको महत्व बुझेर नै गैरदलीय विद्यार्थी संगठन निर्माणको काम गरे । तत्कालीन अवस्थामा राष्ट्रवादी विद्यार्थी मण्डल राजा महेन्द्रको विचारमा आधारित विद्यार्थी संगठनलाई रोक्ने योजनाकै उपज थियो । सीमित सञ्चार र निरंकुश व्यवस्थाबीच विचार र दर्शनको प्रवाह गर्ने गराउने थलो विद्यार्थी संगठनमात्र थिए । विचार निषेधित र पार्टी प्रतिबन्धित रहेको अवस्थामा विद्यार्थी संगठनबाहेक अन्य कुनै विकल्पबाट समाजसम्म पुग्ने अवस्था थिएन ।
यो अवस्थाबीच अखिल सन् १९६८ देखि नै सक्रिय राजनीतिक चिन्तनमा लागिरहेको थियो । अखिलको उदय सँगसँगै नेपाली कांग्रेसले समेत विद्यार्थी राजनीतिको महत्व बुझेर सन् १९७० मा नेविसंघलाई सक्रिय बनाउन सुरु गर्यो । अखिल र नेविसंघको ठूलो योगदान र बलिदानले वि.सं. २०४६ को परिवर्तन सम्भव भयो । तर, परिस्थतिको उपजले नेपाली विद्यार्थी राजनीति क्रमशः स्खलित हुँदै गयो ।
शिक्षामा निजीकरण सँगसँगै नेपालमा समानान्तर रूपमा दुई प्रकारको शिक्षा देखिन थाल्यो । एक सरकारी (जहाँ पढाइ लेखाइभन्दा बढी अन्य गतिविधि हुन थाल्यो) र अर्को निजी (जहाँ शिक्षण र सिकाइमात्रै प्रथम उद्देश्यको रूपमा देखियो) । वि.सं. २०४६ सालपछिको राजनीतिक परिवर्तन र खुला समाजसँगै विद्यार्थी संगठनहरु सरकारी शिक्षण संस्थामा मात्र सीमित हुन पुगे । निजीमा फैलिन नसकेको विद्यार्थी संगठन सरकारी संस्थाहरुमा मात्रै राजनीतिक दर्शन र विचारभन्दा पर, विद्यार्थीका समस्याहरुबाट टाढा केबल राजनीतिक उपलब्धिको सिंढीसरह बन्न पुगे ।
विचार र दर्शनबाट टाढिएका अनि सीमित स्वार्थले प्रेरित राजनीति क्रमशः अर्थोपार्जन र अपराधको थलो बन्न पुगे । यही कमजोर भाष्य र आचरणको कारण वि.सं. २०६१ सालमा राजाले प्रजातन्त्रमाथि ठाडो प्रहार गर्दा विद्यार्थी संगठनहरुलाई प्रतिरोधमा उत्रन हम्मेहम्मे पर्यो ।
विचार र दर्शनबाट टाढिएका अनि सीमित स्वार्थले प्रेरित राजनीति क्रमशः अर्थोपार्जन र अपराधको थलो बन्न पुगे । यही कमजोर भाष्य र आचरणको कारण वि.सं. २०६१ सालमा राजाले प्रजातन्त्रमाथि ठाडो प्रहार गर्दा विद्यार्थी संगठनहरुलाई प्रतिरोधमा उत्रन हम्मेहम्मे पर्यो । तर, अन्ततोगत्वा विद्यार्थी संगठनहरुकै सक्रिय नेतृत्वले वि.सं. २०६३ को परिवर्तन सम्भव भयो ।
वि.सं.२०६३ को परिवर्तनपछि हिजोका दिनमा भएका गल्तीले सिर्जित कमजोरी सुधार्नुको साटो फेरि पनि विद्यार्थी संगठन पुरानै ढर्रातर्फ अग्रसर रहेको देखिन्छ । आज विकृत रूपमा पछिल्लो समयमा विद्यार्थी राजनीति उन्नत लोकतान्त्रिक चरित्रको साटो नेताको भक्तिगानबाट आर्जन हुने पदतर्फ आकर्षित हुने साह्रै डरलाग्दो अवस्था बन्दै गइरहेको सन्दर्भमा हालै सम्पन्न अखिलको महधिवेशनले थुप्रै सुखद संकेत देखाएको छ । थुप्रै कमजोरी रहेको भनेर आलोचना पनि भएका छन् । तर, यसका बाबजुद यो महाधिवेशनले लोकतन्त्रको उन्नत अभ्यास गर्दै सम्भावनाको एउटा सुखद खाका कोरेको छ ।
पछिल्लो समय नेतागणको भक्ति गानबाट पद प्राप्त गर्ने विकृत भाष्यबाट आवधिक निर्वाचनतर्फ विद्यार्थी संगठनलाई डोर्याउन यो अधिवेशन सफल भएको छ । यो निर्वाचनमात्र नभएर विशेष रह्यो । नेपाली राजनीतिमा मौलाउँदै गएको गुटबन्दी रोक्न एउटा उदाहरण बन्यो यो निर्वाचन ।
प्यानल बनाएर निर्वाचन हुन नदिनु र सबै नेतृत्व अपेक्षितहरुलाई व्यक्तिगत क्षमताको आधारमा निर्वाचन लड्न लगाउनु नेकपा एमाले नेतृत्वको सफलता हो । यो निर्वाचन शैली यहाँमात्र नभएर आफ्नो अन्य जनसंगठन र भ्रातृ संघसंगठनमा प्रयोग गरेको अवस्थामा नेकपा एमालेभित्र लोकतान्त्रिक प्रतिस्पर्धा समुन्नत हुनेमात्र नभएर गुटगत राजनीति मौलाउने खतरा पनि काम हुँदै जानेछ । यो कुशल निर्णयको लागि नेतृत्वगण साधुवादका पात्र भएका छन् ।
निर्वाचनबाटै स्थापित भएको अर्को जबरजस्त भाष्यले पनि सुखद सम्भावनालाई इंगित गरेको छ । यो पटकको केन्द्रीय समितिमा विगतमा जस्तो विद्यार्थी संगठनको राजनीतिमात्रै गर्न भनी विद्यार्थी बनिरहेकाहरु भन्दा पनि प्राविधिक शिक्षाको उच्चतम विन्दुतर्फ अग्रसर युवाहरुलाई जबरजस्त रूपमा स्थापित गरेको छ । चिकित्सकमात्रै ४ जना विजयी हुँदा सचिवतर्फ लोकप्रिय मत नै चिकित्सकले पाएका छन् । अझ सबैभन्दा लोकप्रिय मत पनि इन्जिनियरले प्राप्त गरिन्, जो थापाथली क्याम्पसको अनेरास्ववियुको नेतृत्वबाट आएकी हुन् ।
राजनीतिमा लोकतान्त्रिक आन्तरिक अभ्यास मार्दै गएको सन्दर्भमा आन्तरिक प्रजातान्त्रिक अभ्यासको सुरुवातमात्र नभई गुटगत राजनीतिलाई रोक्ने उदाहरणको रूपमा प्रस्तुत भएको छ अखिल ।
यो सँगसँगै वकिल, व्यवस्थापनका साथीहरु निर्वाचित हुनु एउटा सुखद सुरुवातको संकेत हो । आज समाजले युवा अनि काबिल नेतृत्व खोजिरहँदा अखिलको यो सुरुवातले भोलिको राजनीतिलाई निर्दिष्ट गरेमा हामीले खोजेको परिवर्तन देखिन सक्छ भन्ने आशा जगाउने काम यो मत परिणामले गरेको छ । यो अभियानमा आफूलाई होम्ने सबै युवा साथीहरु प्रशंसाका पात्र हुन् ।
अखिल महाधिवेशनको अर्को सकारात्मक पक्ष भनेको तडकभडकपूर्ण प्रचारप्रसार र नारा जुलुसमाथिको प्रतिबन्ध हो । आफ्नो आन्तरिक प्रतिस्पर्धामा राजनीतिक दलको भ्रातृ संगठनले यो स्तरको राजनीतिक संस्कार स्थापित गर्नु आफैंमा सुखदमात्र नभएर भोलिको दिनमा युवा पंक्तिलाई मूलधारको राजनीतिक माहोलमा आकर्षण गर्ने उदाहरण बन्ने नै छ । महाधिवेशनस्थलमा अर्को रमाइलो पक्ष भनेको सबैजना एउटा लाइनमा उभिएर भोजन गर्नु पनि थियो । एमालेका केन्द्रीय नेतादेखि भर्खरका विद्यार्थी प्रतिनिधि साथीसँगै एउटा लाइनमा उभिनु समानता र समताको अनुपम नमुना थियो ।
थुप्रै सकारात्मक परिवर्तन देखिए तापनि केही कमजोरीहरु टड्कारो रूपमा देखिन्थ्यो । सम्मेलनस्थलमा अधिकांश प्रतिनिधि प्रथमपल्ट भेटिएका थिए, यसरी भेटिँदा नेतृत्व चयन गर्न कुनै उपयुक्त प्लेटफर्म उपलब्ध भएको देखिएन । उम्मेदवारहरुलाई सार्वजनिक सम्बोधन गर्ने अवसर प्रदान गरेको भए मतदाताले आफ्नो भावी नेतृत्वलाई थोरै बहुत परख्ने अवसर पाउने थिए । अनि अर्को टड्कारो खाँचो भनेको अनुशासन आयोगको उपस्थिति कमजोर देखिन्थ्यो । कुनै पनि उम्मेदवारले अनुचित रूपमा मत प्रभावित गर्न गराउन प्रयास गरे त्यसलाई रोक्न कुनै व्यवस्था नरहेको देखिन्थ्यो ।
यसरी हेर्दा समग्रमा केही कमजोरीका बाबजुद नेपाली लोकतान्त्रिक आन्दोलनको मियो बनेको अखिलमा एउटा सुखद अध्यायको सुरुवात भएको छ । राजनीतिमा लोकतान्त्रिक आन्तरिक अभ्यास मार्दै गएको सन्दर्भमा आन्तरिक प्रजातान्त्रिक अभ्यासको सुरुवातमात्र नभई गुटगत राजनीतिलाई रोक्ने उदाहरणको रूपमा प्रस्तुत भएको छ अखिल । यो सुखद अध्याय लेखनका निम्ति एमालेका नेतागण धन्यवादका पात्रमात्रै नभई अन्य मूलधारका राजनीतिक दलका निम्ति उदाहरणसमेत भएका छन् ।
(डा. खत्री नेपाल मेडिकल काउन्सिलका सदस्य हुन् ।)
शैक्षिक क्षेत्रमा यस्ता राजनीतिका अनैतिक गतिविधि तुरुन्त बन्देज गर्नुपर्छ। अराजक झुन्डहरु उत्पादन गर्ने ठाँउ कलेज हुनुहुन्न!