पूर्वराजाको आलोचना गर्ने ओलीलाई मनिषाको यस्तो प्रश्न
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुसँग सहकार्य प्रस्ताव गरेलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले उनको आलोचना गरे । हिजो पत्रकारसँग कुरा गर्दै ओलीले २४० वर्षसम्म राजसंस्थाले के गर्यो भन्दै प्रश्न गरेका थिए ।
ओलीको यस्तो प्रश्नमा दिग्गज अभिनेत्री मनिषा कोइरालाले असन्तुष्टि प्रकट गरेकी छन् । उनले आज एउटा ट्वीट गर्दै पूर्वराजाप्रति सहानुभूति दर्शाएकी हुन् ।
ओलीको अभिव्यक्तिप्रति लक्षित गर्दै मनिषाले भनेकी छन्, ‘उहाँलाई ३ वर्ष समय पनि दिइएको थिएन । यी मानिसहरु कसरी हिसाब गर्दैछन् ?’
मनिषा कोइरालाले यसअघि पूर्वराजाले प्रजातन्त्र दिवसका अवसरमा दिएको सन्देश ट्वीटरमा शेयर गरेकी थिइन् ।
कांग्रेसका ‘महामानव’ भुतपूर्व प्रधानमन्त्री बीपी काेइरालाकी नातिनी मनिषा कोइराला पछिल्लो समयमा राजसंस्थाप्रति झुकाव राख्दै आएकी छन् । उनले चुनावअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका सभाहरुमा सहभागीता जनाएकी थिइन् ।