सडक दुर्घटना न्यूनीकरणका लागि काम थाल्ने लुम्बिनी प्रदेश सरकारको घोषणा – Nepal Press

सडक दुर्घटना न्यूनीकरणका लागि काम थाल्ने लुम्बिनी प्रदेश सरकारको घोषणा

रुपन्देही । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले सडक दुर्घटनाबाट हुने अकाल मृत्युबाट नागरिकलाई बचाउन सबैको सहकार्य आवश्यक रहेको बताएका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको ‘नेशनल रोड सेफ्टी काउन्सिल नेपाल’ले आयोजना गरेको सडक सुरक्षा सम्बन्धी प्रदेशस्तरीय जनचेतनामूलक कार्यक्रम बोल्दै मन्त्री पन्थीले उक्त कुरा बताएका हुन् ।

‘बढ्दो दुर्घटनाका कारण हाम्रो समाज आक्रान्त छ, दुर्घटनाले समाजका योग्य र कुशल नागरिक समेत गुमाउनु परेको छ। यस्तो भयावह अवस्था कम गर्न सबैको सहकार्य जरुरी छ,’ उनले भने।

कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग, वन, वातावरण, पर्यटन तथा यातायात मन्त्री जानकी प्रसाद यादवले दुर्घटना न्यूनीकरणका लागि नागरिक सचेतना जगाउन प्रदेश सरकारले आवश्यक कदम चाल्ने बताए।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले नागरिक सचेत नभएसम्म सडक र सवारीमा हुने अव्यवस्था हटाउन कठिन हुने बताउँदै नागरिकलाई दुर्घटनाका विषयमा सचेत बनाउनु पहिलो आवश्यकता भएको बताए ।

लुम्बिनी प्रदेशसभा सदस्य तुलसीप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नासा फाउण्डेसनका महासचिव गोविन्द भट्टराईले सडक दुर्घटनाको अवस्था र मानवीय क्षतिको नियन्त्रण, अभियन्ता कमला आचार्यले सडक दुर्घटना न्यूनीकरणमा सामाजिक संघसंस्थाहरुको भूमिका, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले लुम्बिनी प्रदेशको ट्राफिक व्यवस्थापनका समस्या र अवस्था तथा सुरक्षित यात्रा अभियान नेपालका महासचिव दिनेश पाण्डेले दुर्घटना न्यूनीकरणका लागि नागरिकस्तरबाट भएका कार्यहरू बारे प्रस्तुतीकरण गरेका थिए ।

लुम्बिनी प्रदेशका पेशागत, व्यावसायिक तथा सामाजिक क्षेत्रको प्रतिनिधिहरूको सहभागिता रहेको सो कार्यक्रममा पूर्वाधार नीति, कार्यक्रम तथा सुरक्षित यातायातको दीर्घकालीन योजनाका लागि सुझावहरू प्रस्तुत भएका थिए ।

कार्यक्रमले प्रदेशसभा सदस्य तुलसी प्रसाद चौधरीको संयोजकत्वमा पूर्व प्रदेश सांसद दिपा विश्वकर्मा, नेपाल रेडक्रस सोसाईटीका दीपक क्षेत्री न्यौपाने, यातायात व्यवसायी नारायण प्रसाद घिमिरे, दिनेश फुल्लेल, इन्जिनियर नवसुजित भण्डारी, अधिकारकर्मी रिमा बिसी लगायत रहेको प्रोभिन्स रोडसेफ्टी एलायन्सको सचिवालय गठन गरेको छ ।

कार्यक्रमले नेपाल सरकारले प्रतिबद्धता व्यक्त गरेको सन् २०३० सम्ममा सडक दुर्घटना र यसबाट हुने हताहती तथा घाइतेको संख्या आधा घटाउने लक्ष्यलाई प्रदेशको सरकार, पालिका तथा नागरिक समुदायबाट साथ सहयोग तथा समर्थन व्यक्त गर्दै विभिन्न १७ बुँदे बुटवल घोषणापत्र समेत जारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर