फुलबारीः घर–घरको कथा – Nepal Press
चलचित्र समीक्षा:

फुलबारीः घर–घरको कथा

काठमाडौं । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘फुलबारी’ यतिबेला देशब्यापी प्रदर्शनमा छ । ‘कबड्डी’ सिरिजबाट स्थापित भएका यी प्रतिभाशाली निर्देशकको चलचित्रप्रति यसै पनि दर्शकको कौतुहल हुने गर्छ । त्यसमाथि ‘अभिनयका उस्ताद’ विपिन कार्कीको उपस्थितिले उत्साह दोब्बर हुने नै भयो । फलस्वरुप प्रारम्भिक दिनहरुमा चलचित्रघरहरु भरिभराउ छन् ।

परम्परागत सुत्रभन्दा बाहिर रहेर निर्माण भएको चलचित्र हो– फुलबारी । यसमा फिल्मी मरमसलाहरु केही पनि छैनन् । परम्परागत नायक–नायिका यो चलचित्रमा तपाईं भेट्नु हुन्न । वास्तविक जीवनसँग जोडिएको यस चलचित्रले आमनेपाली घरपरिवारको अहिलेको कथा–व्यथालाई चित्रण गरेको छ । एकप्रकारले भन्दा घर–घरको कथा हो ‘फुलबारी’ ।

यथार्थपरक विषयवस्तु र मुख्य पात्रहरुको खँदिलो अभिनयले चलचित्रलाई हेर्नलायक बनाएको छ । यद्यपि, खोट लगाउने ठाउँहरु पनि प्रशस्त छन् । खासगरि चलचित्रको पटकथालाई उपेन्द्र सुब्बाले जाँगर चलाएर फिनिसिङ नगरेको प्रतित हुन्छ ।

सुरुमा मुल कथाको चर्चा गरौंः

तीन छोराहरुका बुवा बुवा जयनारायण (विपिन कार्की) एक रिटायर्ड शिक्षक हुन् । उनी आफ्नी पत्नी लक्ष्मी (अरुणा कार्की) सँग इलामको एउटा ग्रामिण क्षेत्रमा खुशीपूर्वक जीवनयापन गरिरहेका छन् । जयनारायण आफ्नी श्रीमतीलाई जति माया गर्छन्, त्यतिकै सम्मान पनि गर्छन् ।

जयनारायण र लक्ष्मीका तीन छोरा फरक–फरक पेशामा छन् । आफ्नो कामको सिलसिलामा उनीहरु सबै शहरमा बस्छन् । जेठो छोरा व्यवसायी, माइलो संघर्षशील गायक र कान्छो छोरा प्रेमिका लिएर अष्ट्रेलिया भासिन आतुर विद्यार्थीका रुपमा देखाइएको छ । यही परिवारभित्र घटेको समस्या र आपसी मनमुटावलाई उनेर चलचित्र निर्माण भएको छ ।

श्रीमती बिरामी भएपछि जयनारायणले उपचारका लागि शहर लिएर आउँछन् । तर, कुनै पनि छोराले आमाबुवाका लागि समय दिन सक्दैनन् । अनि जेठी बुहारीको हेपाहा व्यवहारले उनीहरुलाई दुखी बनाउँछ । अन्ततः उनीहरु छोराको घर त्यागेर हिँड्छन् । त्यसपछि के–के हुन्छ, थाहा पाउन चलचित्र घरसम्मै जानुपर्छ ।

कथामा खासै नयाँपन छैन । ९० को दशकमा यस्तै कथावस्तुमा धेरै फिल्महरु बन्ने गर्थे । विषयवस्तुका हिसाबले यो रामबाबु गुरुङ ‘ब्रान्ड’ को सिनेमा होइन । यद्यपि, खास–खास दृष्यहरुमा उनले आफ्नो छाप छोड्न सफल छन् ।

कथाले नेपाली समाजको अहिलेको यथार्थलाई बोलेको छ । गाउँघरतिर हेर्ने हो भने प्रायः घरपरिवारमा छोराहरु काम वा अध्ययनको सिलसिलामा विदेश वा काठमाडौं हुन्छन् । छोरीहरु पनि बिहे गरेर गएपछि प्रायः घरमा बुवा र बुढी एक अर्काको सहारा बनेर बाँच्न विवश छन् । चाहेर वा नचाहेर छोराछोरीले बुवाआमाप्रतिको कर्तव्य निर्वाह गर्न सकिरहेका हुँदैनन्, जबकि छोराछोरीका लागि बुवाआमा जे गर्न पनि तयार हुन्छन् ।

सन्तानहरुलाई जति नै पढाएर सक्षम र आत्मनिर्भर बनाए पनि उनीहरु बुढेसकालका सहारा बन्न सक्दैनन् भन्ने तितो सन्देश चलचित्रले दिएको छ । अनि, रगतको नाताभन्दा भावनाको नाता ठूलो हुन्छ भन्ने पनि दर्शाउन खोजिएको छ ।

चलचित्रको बलियो पक्ष भनेको दर्शकलाई बाँधेर राख्ने क्षमता नै हो । सुरुवाती केही समय चलचित्र ‘बोरिङ’ लागे पनि विस्तारै चलत्रिले पिकअप लिन्छ । केही मन रुवाउने दृष्यहरु पनि छन्, जसले धेरैलाई आफ्नै घर–परिवारभित्रको यथार्थको झल्को आउन सक्छ ।

तर चलचित्रले जे सन्देश दिन खोजेको छ, त्यसलाई दह्रोसँग स्थापित गर्न पटकथा र संवादमा पर्याप्त मिहिनेत गरिएको छैन । कैयन दृष्यहरुमा खोट लगाउने ठाउँ छन् । सापट मागेको भन्दा धेरै पैसा दिने र आफूलाई अत्यावश्यक पर्दा पनि फिर्ता नमाग्ने विपिनको महादानी चरित्र यथार्थपरक लाग्दैन । घरबाट बुवाआमा हराउँदा टेन्सन लिएर बस्ने, तर खोजिनिती कतै नगर्ने छोराको चरित्र पनि आफैंमा विरोधाभासपूर्ण छ । त्यही छोराले एकाएक अस्पतालमा बुवालाई कसरी भेट्यो भन्ने प्रश्न अनुत्तरित छ ।

प्रियंकाले आफ्नो हिराको हार हराएको र काम गर्नेलाई दोष लगाएको दृष्य अत्यन्तै बासी लाग्छ । विगतका कयौं चलचित्र र टेलिचलचित्रमा यस्तो दृष्य दाहोरिएका छन् । त्यसमाथि हारजस्तो चिज बैठक कोठाको सोफामा भेटिनु झन् उदेकलाग्दो छ ।

छोराहरु हुँदाहुँदै बुवाले श्रीमतीलाई दागवत्ति दिएको देखाइनु त्रुटीपूर्ण छ । जतिसुकै मनमुटाव भए पनि आमाबुवाको मृत्यु हुँदा छोराहरुले नै दागवत्ति दिन्छन् । शल्यक्रिया सफल भएकी लक्ष्मीको स्वास्थ्य एकाएक कसरी बिग्रिन्छ भन्ने पनि पत्यारिलो ढंगले पेश गरिएको छैन । यसैगरी, छोराछोरी अमेरिकामा भएको एक बाबुले बाटोमा चिजबल र कुर्कुरे बेच्दै हिँड्नु अनि उसैले विपिनलाई लाखौं सहयोग गर्न सक्ने हैसियत राख्नु पनि तादम्यता नमिल्ने सन्दर्भहरु हुन् । यद्यपि, पटकथाका यी कमजोरीहरुलाई धेरै दर्शकले नजरअन्दाज गर्न सक्छन् ।

चलचित्र पूर्णरुपमा विपिन कार्की र अरुणा क्षेत्रीको वरिपरि घुमेको छ । बुढ्यौली जोडीका रुपमा देखाइएका उनीहरु नै चलचित्रका वास्तविक नायक–नायिका हुन् । भर्सेटाइल एक्टरका रुपमा परिचित विपिनले यस चलचित्रमा पनि आफूलाई भिन्नै अवतारमा प्रस्तुत गरेका छन् । यदाकदा उनको संवाद सम्प्रेषण बनाबटी लाग्छ, अन्यथा सुरुदेखि अन्त्यसम्म उनले नै यो चलचित्रलाई बोकेका छन् । कतिपय दृष्यमा उनले ‘गुजबम्प्स’ आउने कला प्रस्तुत गरेका छन् । यस चलचित्रमा उनको अभिनयभन्दा पनि बडील्याङ्वेजले छाप छाड्छ ।

विपिनजस्ता दिग्गज कलाकारसँग समानान्तर भूमिकामा रहेकी अरुणाले निकै मिहिनेत गरेकी छन् । चलचित्रमा यति बलियो भूमिका पाउनु नै अरुणाका लागि ठूलो कुरा थियो, जसमा उनले न्याय गर्ने प्रयास गरेकी छन् । उनको अभिनयमा निखार छ ।

चलचित्रमा दयाहाङ राई पनि छन्, तर उनको भूमिका जबरजस्ति घुसाइएको प्रतित हुन्छ । दयाहाङकै लागि केही दृष्यहरु सिर्जना गरिएका छन्, जसले मुलकथासँग सरोकार राख्दैन । हरेक चलचित्रमा एकैप्रकारको संवाद सम्प्रेषण र अभिनय गरिरहेका दयाहाङ यो चलचित्रमा पनि फरक देखिँदैनन् । फुलबारीमा उनी विपिन कार्कीको ओझेलमा परेका छन् भन्दा फरक नपर्ला ।

यस चलचित्रमा नायिका प्रियंका कार्कीले फरक खालको भूमिका पाएकी छन् । सधैँ रोमान्टिक र ग्ल्यामरस छविमा देखिदै आएकी उनी कठोर एवं रुष्ट बुहारीको चरित्रमा पनि फिट छिन् । उनको अभिनय परिपक्व छ । आमा बनेपछि उनको यो कमब्याक फिल्म हो ।

दोस्रो हाफदेखि केमियो रोलमा शिल्पा मास्केको इन्ट्री हुन्छ । छोटो भए पनि उनको भूमिकाले चलचित्रमा ट्विस्ट ल्याउँछ । शिल्पाको अभिनय मध्यम छ । अन्य कलाकारहरुले पनि आआफ्नो भूमिकामा न्याय गर्ने प्रयास गरेका छन् ।

चलचित्रको अर्को सवल पक्ष भनेको संगीत हो । अत्यन्तै कर्णप्रिय र मिठासयुक्त गीतहरु चलचित्रमा समावेश छन् । तर, ‘माया रैछ र त भर रैछ नि’ बोलको सुपरहिट गीत सही समयमा प्रयोग गरिएको जस्तो लाग्दैन । साथै, गीतहरुको लम्बाइ थोरै हुँदा दर्शकको धित मर्दैन ।

‘फुलबारी’ हेरिरहँदा कतिपय दृष्यहरुमा बलिउड चलचित्र ‘बागवान’ को झल्को आउन सक्छ । चलचित्रको मुख्य ‘थिम’ बागबानसँग मिल्दोजुल्दो छ । तर, कपिको आरोपबाट बच्न निर्देशक र लेखकले चतुरता अपनाएका छन् । चलचित्रको एउटा दृष्यमा दयाहाङ टिभीमा ‘बागबान’ हेर्दै रोइरहेको देखाइन्छ । अर्को दृष्यमा विपिनले बागबानका अमिताभ बच्चनको क्यारिकेचर गर्छन् ।

अमेरिकी छायांकार जोस हेरमले छायांकनमा आफ्नो सय प्रतिशत दिएका छन् । उनको मिहिनेत पर्दामा छर्लङ्ग्गै देखिन्छ । अन्य प्राविधिक पक्षहरुमा पनि फिल्म शसक्त छ ।

एक प्रकारले भन्नुपर्दा फुलबारी चलचित्र ‘पुरानो बोतलमा नयाँ रक्सी’ हो । विषयवस्तुमा पुरानै भए पनि प्रस्तुतिमा नयाँपन छ । परिवारमा बसेर चलचित्र हेर्न चाहने वा पारिवारिक चलचित्र रुचाउनेहरुका लागि फुलबारी सिफारिस गर्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *