अन्धकारमा बुटवलको भविष्य- भीमफेदी र पथ्थरकोट हुनबाट कसरी जोगाउने ?
संघीय सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेल, लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लीला गिरी, कांग्रेस नेता तथा निवर्तमान गृहमन्त्री बालकृष्ण खाण, एमाले नेता तथा पूर्वमन्त्री छविलाल विश्वकर्माको गृहक्षेत्र हो बुटवल । तर, केही समययता यहाँको सुनसान बजारले बुटवलको भविष्यमाथि चोर औंला ठड्याएको छ । भौतिक विकासमा देशकै ठूला आयोजनाहरुबाट चर्चा गराइएको रुपन्देहीको मुख्य बजार किन सुनसान बन्यो त ? यस विषयमा मुख्य राजनीतिक दल तथा विभिन्न सामाजिक संस्थाहरुको ध्यान पुगेकै छैन । विगतमा भएको व्यापार र चहलपहललाई सधैंभर ब्याज खानेगरी अझै योजना नबनाए अब यहाँको भविष्य अन्धकार हुने निश्चित छ ।
कुनै समय निकै नै चहलपहल भएका जिल्ला सदरमुकामहरु हिजोआज सुनसान छन् । इतिहासका वैभवशाली व्यापारिक केन्द्रहरु बन्दीपुर, भीमफेदी, तानसेन, पथ्थरकोट जस्ता बजारहरु सुनसान भएर फेरि बौरिने अवस्था कमै छ । तर, यी बजारहरुलाई पुनर्जीवित गर्ने चर्चाहरु हुने गर्दछन् ।
मान्छेको उद्यमशीलता, व्यापार, अस्पताल, शिक्षा र पर्यटन आदिले शहरलाई जीवन प्रदान गर्दछ । पश्चिम नेपालकै व्यापारको केन्द्र बटौली (पारि बुटवल) दशकौंंसम्म निकै चहलपहल रहेको कुरा अग्रजहरुले सुनाउनुहुन्छ । सिद्धार्थ राजमार्ग, पूर्वपश्चिम राजमार्ग खुल्नु र तिनाउमा पुल बनेसँगै बटौलीको चहलपहल खस्यौली भनिने आजको वारि बुटवल (खस्यौली)तर्फ सर्दै गयो । अहिले चिडिया खोला, गोलपार्क, पुल्चोक, ट्राफिकचोक क्रमशः तलतल झर्दै गएको देखिँदैछ ।
वर्षौंसम्म लथालिङ्ग सडकका कारण व्यापार नहुने तर घरबेटीले भाडा बढाउँदै लगेका कारण धेरै व्यापारीहरु व्यापारबाटै पलायन भए । केही नयाँ ठाउँको खोजीमा अन्यत्र गए । राज्यका निकाय तथा केही ठेकेदारका कारण भएको यो नोक्सानीको भर्पाइ कसले गर्छ ?
यस्ता छन् प्रमुख कारणहरुः
प्रदेश राजधानीले ओइलायो
५ वर्षअघि संघीय सरकारले रुपन्देहीको बुटवल क्षेत्रलाई प्रदेशको अस्थायी मुकाम तोक्यो । तर, दुई वर्षअघि यो क्षेत्रका समेत लोभीपापी सांसदहरुको मिलेमतोमा दुईतिहाइ मतले स्थायी राजधानी बुटवलबाट देउखुरी सारियो । उता हुनै नहुने भन्ने हाम्रो कुरा होइन । तर, देशभरका अस्थायी मुकाम स्थायी हुँदा बुटवल किन परेन ? हिजो सुरुमै ल्याउँदै नल्याएको भए यहाँको पुरानो थितिमै कायम रहने थियो । प्रदेश मुकाम बुटवललाई रोजेर संघबाट आएका कर्मचारी अहिले विचल्लीमा छन् । प्रदेश मुकामको अल्पकालीन चहलपहल अहिले एकाएक हराएको छ । यसको असर यहाँका सबै क्षेत्रमा परेको छ । यसको क्षतिपूर्ति केही गरे पनि हुनेछैन ।
चौराह-गोलपार्क बाटो निर्माणको असर
बनाउन थालिएको यो बाटोको कारण राजमार्गमा मोहडाका सटरहरुमा हिलो, धुलो र खाल्डाखुल्डीका कारण व्यापार भएन । वर्षौंसम्म लथालिङ्ग सडकका कारण व्यापार नहुने तर घरबेटीले भाडा बढाउँदै लगेका कारण धेरै व्यापारीहरु व्यापारबाटै पलायन भए । केही नयाँ ठाउँको खोजीमा अन्यत्र गए । राज्यका निकाय तथा केही ठेकेदारका कारण भएको यो नोक्सानीको भर्पाइ कसले गर्छ ? खास गरेर बाटोको जग्गामा बनेका घरहरु भत्काउन नदिन अदालतसम्मै चलखेल गर्ने घरबेटीहरुले गरेको पाप कुर्लंदैछ । राजमार्गका थुप्रै सटरहरु खाली हुँदै गएका छन् । अर्कोतर्फ बेलहिया चौराहा बाटो अलि छिटो बनेकाले बुटवलको व्यापार योगिकुटीभन्दा तल राजमार्गमा भैरहवासम्म फैलिँदै गयो र अझै जाने क्रम तीव्र छ ।
महंगो घरभाडा
हाटबजार लाइन, संगमपथ, अमरपथ, गल्लामण्डी र मैत्रीपथ जस्ता भित्री बजार क्षेत्रमा बैंक, सुन पसल र क्लिनिक तथा फार्मेसीहरु अनि फर्निसिङ तथा फर्निचरहरुले घरबेटीलाई आफैं धेरै भाडा दिएर उचाले । जसका कारण धेरै भाडा तिर्न नसक्ने साना व्यवसायीहरु खेदिए । अहिले बैंकहरु मर्ज हुँदै गएको, कोरोना र रुस-युक्रेन युद्धपछि व्यापारमा आएको मन्दीका कारण सबैलाई समस्या भएको छ ।
गणतन्त्र आएपछि ओलीको झापा र विष्णु पौडेलले रुपन्देहीमा सर्वाधिक बजेट ल्याउँछन् भनिन्छ । भनेअनुसारको बजेट जिल्लामा आएको पनि हो । तर, बजेटले स्थानीय उत्पादन र रोजगारी सृजनाको दीर्घकालीन योजनामा खासै योगदान भएन । अर्बौंका परियोजना देख्न, भाषण गर्न र जग्गा व्यापारीहरुलाई विज्ञापन गर्नमात्र सघायो ।
साना व्यापारीलाई भाटभटेनीको तप्केनी
भाटभटेनी खुलेपछि बुटवलका उपभोक्ताहरु त्यसतर्फ आकर्षित भए । सुरुसुरुमा रमाइलो लागेर पनि मान्छेहरु त्यता गएका थिए । पछि सबै प्रकारको सामान एकैठाउँमा पाइने तथा मोलमोलाइ गर्नु नपर्ने हुनाले धेरै मान्छेको रोजाइ बन्यो भाटभटेनी । त्यही समान बजारमा धेरै सस्तो पाइने भए पनि बार्गेनिङका कारण बाहिर ठगिएको अनुभूति पनि गर्ने रहेछन् । धेरैबेर कचकच गरेर समान किन्नुभन्दा गयो आफूलाई चाहिएको समान छान्यो, हिंड्यो । तर, यथार्थ फरक छ । बजारमा भन्दा भाटभटेनी धेरै नै महँगो र समानको गुणस्तर पनि राम्रो छैन । तर, के गर्ने मान्छेलाई सजिलो चाहिएको छ । अझ केही गृहिणीहरु यसोभन्दा रहेछन्, ‘सपिङ भनेको त भाटभटेनीमा गर्नुपर्छ । अब पनि कति कुकुरझैं डुलिरहनू !’ ससाना किराना, फेन्सी र कपडा पसलहरुको निम्ति त भाटभटेनी तप्केनीजस्तै बन्यो ।
पूर्वाधार विकासको छैन सकारात्मक प्रभाव
पञ्चायतकालमा धनुषामा हेमबहादुर मल्लले सरकारी बजेट घोप्टाउँछन् भन्ने हल्ला थियो । बहुदलमा खुमबहादुरले दाङ लग्थे रे, गणतन्त्र आएपछि ओलीको झापा र विष्णु पौडेलले रुपन्देहीमा सर्वाधिक बजेट ल्याउँछन् भनिन्छ । भनेअनुसारको बजेट जिल्लामा आएको पनि हो । तर, बजेटले स्थानीय उत्पादन र रोजगारी सृजनाको दीर्घकालीन योजनामा खासै योगदान भएन । अर्बौंका परियोजना देख्न, भाषण गर्न र जग्गा व्यापारीहरुलाई विज्ञापन गर्नमात्र सघायो । विकासे हल्लाको कारण घरधनीहरुले मनपरी भाडा वृद्धि गर्दा साना व्यापारीको बिल्लीबाँठमात्र भयो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, तिनाउ कोरिडोरमा बनेका झण्डै एक दर्जन पुलहरु, बुटवल बेलहिया सडक, पूर्वपश्चिम सडक, बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, बुटवलको उत्तरी क्षेत्रमा निर्माणाधीन दुई केबलकार, हिलपार्क र मणिमुकुन्द सेन उद्यानको प्रभाव पर्यटन क्षेत्रमा पनि आशातित रुपमा परेको देखिएन । ठूला पूर्वाधारको विकासपछि पनि लगानीकर्ताहरु निराश छन् । ३६ अर्ब ऋणमा बनेको अन्तर्राष्ट्रिय विमानस्थल जसरी पनि सञ्चालनमा ल्याउनुपर्ने चुनौती थपिएको छ । जिल्लामा भएका दुई-तीनवटा पाँचतारे होटल कुन मुस्किलले थामिएका छन् ? अझ बन्दै गरेकाको अवस्था के होला ?
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, तिनाउ कोरिडोरमा बनेका झण्डै एक दर्जन पुलहरु, बुटवल बेलहिया सडक, पूर्वपश्चिम सडक, बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, बुटवलको उत्तरी क्षेत्रमा निर्माणाधीन दुई केबलकार, हिलपार्क र मणिमुकुन्द सेन उद्यानको प्रभाव पर्यटन क्षेत्रमा पनि आशातित रुपमा परेको देखिएन ।
रुपन्देहीको तीव्र विकासको आशाले घरजग्गामा भएको लगानी चौपटको अवस्थामा छ । सर्वसाधारणले दुःख गरेर जम्मा गरेको पैसा घडेरीमा लगाएका थिए । अहिले त्यसको बिक्री रोकिएकाले एक प्रकारले पूँजी जाम भएको छ र आवश्यक पर्दा अचल सम्पत्तिले काम छोपेको छैन । विमानस्थल, पुल, सडक र भवन जस्ता पूर्वाधारहरु मात्र विकास भनेर नागरिकलाई बुझाइयो । उपभोग्य तथा निर्यातजन्य सामग्रीको उत्पादन कम भएर आयातमा मात्र रकम खर्च हुँदा बजारमा चलायमान पूँजी घटेर बजार शून्यतातर्फ उन्मुख हुँदैछ ।
झोले संघसंस्था
व्यापारीहरुका संघसंस्था बुटवल उद्योग वाणिज्य संघ, उद्योग संघ, व्यापार संघ, राष्ट्रिय उद्योग व्यापार संघ, विभिन्न पेशागत संघ–महासंघहरु यो क्षेत्रमा कार्यरत छन् । वर्षैपिच्छे सदस्यता शुल्क लिनेबाहेक ती संघसंस्थाले सदस्य व्यवसायीहरुको पक्षमा काम गर्नुको सट्टा पार्टीका नेता तथा मन्त्रीहरुलाई बधाई टक्राउने, जन्मदिनको शुभकामना दिने र कोही परलोक हुँदा श्रद्धाञ्जली अर्पण गर्नेमा सीमित भए । मालिकको झोला बोक्नु नै कर्तव्य सम्झने चरित्र सबैतिर देख्दा लज्जाबोध हुन्छ । तर, एक्लै परिने डरले हामी सबै व्यवसायी कतै न कतै जोडिएकै छौं ।
अन्तमा, केही वर्ष अघिदेखि सुरु भएको व्यापारमा अस्वस्थ प्रतिस्पर्धाको कारण घरभाडा अत्यन्तै महँगो भयो । च्याउ झैं खुलेका बैंकलाई अलि ठूलो घर देख्नै भएन । फर्निसिङ-फर्निचर, फार्मेसी-क्लिनिक, सुन पसल, सहकारी तथा अरु वित्तीय संस्थाहरुले घरबेटीहरुलाई अत्यधिक भाडा दिए । त्यो प्रतिस्पर्धाबाट अरु व्यापारी मारमा परे । घरभेटीहरुले लाखौं रकम डिपोजिट र चर्को भाडा असुलिरहे । घरभाडाको दरलाई विधि पद्धतिमा नलग्दा अरुको घरमा व्यवसाय गर्नेहरु अति मर्कामा छन् । खास गरेर सडकको काम ढिलो हुनु, कोरोना माहामारी, रुस-युक्रेन युद्ध र बैंकको ब्याज जस्ता कुराले उद्योग व्यापारमा आएको मन्दीलाई ख्याल गरेर बुटवलभित्रको घरभाडा आधा घटाउनुपर्ने अवस्था छ । आर्थिक मन्दीको असरलाई न्यून गर्न यो एउटा राहत हुनसक्छ । होइन भने बुटवललाई अहिलेको पारि बुटवल, भीमफेदी र पथ्थरकोट बन्नबाट कसैले रोक्न सक्ने छैन ।
केन्द्रका अर्थमन्त्री विष्णु पौडेल, प्रदेशका मुख्यमन्त्री लीला गिरी, बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेसहित सबै दलका नेताहरु तथा व्यवसाय सम्बद्ध सबै संघसंस्थाको नेतृत्वको समयमै चेत खुलोस् ।
(लेखक बुटवलका मुद्रण तथा मसलन्द व्यवसायी हुन् ।)
खबरदारी गर्न र सचेत गराउन छोडनु हुँदैन निरन्तर घच्घ्च्याउनु जरुरी छ धन्यवाद सर ।।