२०२३ जुनसम्मको शुल्क असुलिसकेको प्राधिकरणले किन गर्‍यो थाई एयरवेजको ग्राउण्ड ह्याण्डलिङ बन्द ? – Nepal Press

२०२३ जुनसम्मको शुल्क असुलिसकेको प्राधिकरणले किन गर्‍यो थाई एयरवेजको ग्राउण्ड ह्याण्डलिङ बन्द ?

काठमाडौं । सोमबारबाट ग्राउण्ड ह्याण्डलिङ सेवा बन्द भएको थाई एयरवेजसँग नागारिक उड्ययन प्राधिकरणले जुन २०२३ सम्मको सेवा शुल्क लिइसकेको पाइएको छ । झण्डै ४ महिना बढीको शुल्क बाँकी हुँदाहुँदै ग्राउण्ड ह्यान्डलिङ सेवा बन्द भएकोमा एयरवेजका कर्मचारी चकित भएका छन् ।

क्यानले एक पत्र पठाउँदै थाई एयवेजलाई सोमबार राति १२ बजेबाट ग्राउण्ड ह्याडलिङ सेवा बन्द गर्न निर्देशन दियो । तर, उक्त पत्र नआइपुगेको एयरवेज उच्च स्रोतले बताएको छ । प्राधिकरणले ग्राउण्ड ह्याण्डलिङ सेवा सञ्चालनका लागि सम्झौता गर्दै जुन २०२३ सम्मको शुल्क असुलिसकेको छ ।

थाई एयरका एक कर्मचारी भन्छन्, ‘यदि सेवा बन्द गराउनु थियो भने किन शुल्क लिएको ?’

कर्मचारीको प्रवेश पास नवीकरण नगर्ने, सवारी पास नवीकरण नगर्ने, ग्राउण्ड ह्याण्डलिङको निरन्तरताका लागि अनावश्यक झमेला दिएर विमानस्थलका प्रवन्धक प्रेमनाथ ठाकुरले अण्डरटेबल मनिको बार्गेनिङ गरेका थिए । १० लाख घुसको अडिओ बाहिरिएसँगै पर्यटनमन्त्री सुदन किराँतीले ठाकुरलाई निलम्बन गरिसकेका छन् ।

थाई एयरवेज नेपालको इन्जिनियर डिपार्टका प्रमुख पुटिवाट सिलापीसँग ग्राउण्ड ह्याण्डलिङ निरन्तरता अनुमति दिन ठाकुरले खुलेआमा पैसा मागेका थिए । यस विषयमा आफूले माथिल्लो निकायमा कुरा गरेको भन्दै सिलापीले इन्भोइसविना दिन नमिल्ने जवाफ दिएका थिए ।

त्यसपछि ठाकुरले यसको सबै जिम्मा एक व्यवसायीको नाम लिँदै (सोसाइटी इन्टरनेशनल ट्राभल) लाई दिएको बताएका थिए । ती व्यवसायीले सिलापीसँग रकम दिन र विस्तारै थाई स्माइलको नाममा पनि ग्राउण्ड ह्याण्डलिङको अनुमतिसम्म मिलाइदिने डिलिङ गरेको अडिओसमेत नेपाल प्रेसलाई प्राप्त भएको छ ।

ठाकुरले थाई एयरवेजको वेलफेयर फन्ड (कल्याणकारी कोष) बाट सो रकम उपलब्ध गराउन सकिने भन्दै यसका लागि बोससँग कुरा गर्नसमेत सुझाव दिएको अडिओमा सुनिन्छ ।

एयरवेजले ग्राउण्ड ह्याण्डलिङ सेवा नवीकरणका लागि निवेदन यसअघि नै दिएको भएपनि हालसम्म प्रक्रियामै नलगेको बताएको छ । क्यानको पत्र पाएर पनि ठाकुरले नवीकरणलाई प्रक्रियामा नलगी लुकाएर रकम मागेका थिए ।

ठाकुरले सधैँ बिचौलियामार्फत् घुसको डिलिङ गर्ने र बिचौलियाले पनि भारतीय कम्पनी ग्राउण्ड ह्याण्डलिङ कम्पनी मर्करीलगायत थाई एयरवेजले पाइरहेको  व्यापार टाउको दुखाई बनेको र यसलाई हटाउन चाहेको भन्दै अन्डरटेबल मनिको कुरा गरिरहन्थे । प्रेमनाथले घरि चुनाव खर्च नेतालाई दिनुपर्ने घरि मन्त्रीलाई मोटो रकम बुझाउनुपर्ने भन्दै डिल गर्ने गरेका थिए । यो रकमको कुनै भरपाई नहुने भन्दै ठाकुरले थाई एयरवेजका कर्मचारीलाई पटकपटक ताकेता गरिरहन्थे ।

पुटिवाट सिलापी भन्छन्, ‘म इन्जिनियरिङको काम गर्न नवीकरण प्रक्रियाका लागि कागजात लिएर बारम्बार धाए पनि कसैले पनि सुनेन । सधैँ एउटा न एउटा बहाना गरेर काममा अवरोध पुर्‍याइयो । १० लाख रकमसम्म माग्दै क्यानले पठाएको पत्र सबै प्रक्रियामा जांँदैनन् । हामी लुकाउँछौं निरन्तर काम गरिरहनु भन्ने जवाफमात्रै पाएँ । कोभिडको महामारीले थाई एयरवेजको आर्थिक अवस्था नाजुक भयो । कार्यालय खर्च धान्न पनि मुश्किल भइरहेको बेला सम्बन्धित अधिकारीले हाम्रो समस्या सुनेन् फिर्ता भए पनि कुनै असर नपर्ने भन्दै हामीमाथि निरन्तर धम्कीपूर्ण व्यवहार भयो ।’

एयरवेजले २०२२ डिसेम्बरसम्मको सबै रोयल्टिसमेत तिरिसकेको छ । रोयल्टीको जनवरीसम्मको बिल भर्खरै आएकोमा यो साताभित्र तिर्ने तयारीमा रहेको साथै जुनसम्मको शुल्क बुझाइसकेको लिखित पत्र टीआईए लेखा शाखामा दिँदासम्म कुनै जानकारी नपठाइएको थाई एयरका एक अधिकारी बताउँछन् ।

थाई एयर र थाई स्माइल दुवैको कारोबार भने नितान्त फरक हो । थाई स्माइलले उडान सञ्चालन सेवा लिएपनि थाईल्याण्डको नियामक निकायबाट आधिकारिक इजाजत नलिएका कारण तत्कालका लागि सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा रद्ध गरिएको प्राधिकरणले बताएको छ ।

थाई एयरवेजले कोरियन, थाई स्माइल, क्याथे प्यासिफिक, सिंगापुर लगायत विभिन्न वायुसेवालाई मर्मतसम्भारको सेवा दिँदै आएको थियो । अब ग्राउण्ड ह्याण्डलिङ सेवा नेपाल वायु सेवा निगमले दिने क्यानका प्रवक्ता जगन्नाथ निरौलाको भनाइ छ ।

बढी लिएको रकमबारे के भन्छ क्यान ?

क्यानले ग्राउण्ड ह्याण्डलिङ बन्द गराउने निर्णयसहित लेखेको पत्र थाई एयरवेजको हातमा किन नपुगेको भन्ने प्रसंगमा प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले प्रविधिको जमानामा पत्र पुगेन भन्नु गलत भएको बताए ।

उनले भने, ‘पत्र पठाएका छौं । नपुगेको भन्ने हुँदैन । गैरकानूनी रूपमा रहेको कम्पनीलाई नबुझेर जिम्मेवारी दिनु फरक कुरा हो तर बुझेपछि त दिनु भएन नि ! यदि उहाँहरूसँग सम्झौता गरेर बढी शुल्क असुलेको रहेछ भने फिर्ता गर्छौं । सेवा सञ्चालन गर्न भने दिँदैनौं,’ निरौलाले नेपाल प्रेससँग भने ।

उनले अब सम्पूर्ण सेल्फ ग्राउण्ड ह्याण्डलिङको काम नेपाल वायु सेवा कम्पनीले नै गर्ने भएकाले सेवा नरोकिने बताए । उनका अनुसार साताको ३७ उडान गरेको एयरलाइन्सले मात्र उडान गर्न पाउने प्रावधान छ ।

थाई स्माइल र थाई एयरवेज फरक हुन्

थाई स्माइल एयरलाइन्स र थाई एयरवेजको कारोबार फरक हो । थाई स्माइलले नेपालमा कारोबार गरेबापत सम्पूर्ण दायित्व आरआर ग्रुपले सञ्चालन गरेको सोसाइटी इन्टरनेशनल ट्राभलले भुक्तानी गर्नुपर्ने हुन्छ । उक्त ट्राभल कम्पनी थाईस्माइ एयरलाइन्सको नेपालको लागि आधिकारिक जीएसए हो ।

थाई एयरवेजमा थाईल्यान्ड सरकारको लगानी रहेका छ । यसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा दिँदै आएको थियो ।

नेपाली आकाशमा पहिलो पटक थाई एयरवेजको अन्तर्राष्ट्रिय उडान भएको थियो । प्राधिकरणको अभिलेखले नै ५४ वर्षअघि नेपालमा जेट विमानमार्फत पहिलो अन्तर्राष्ट्रिय उडान सुरू गर्ने एयरलाइन्स नै थाई एयरवेज भएको देखाउँछ । इतिहास बनाएको थाई एयरवेजले अहिले ग्राउण्ड ह्याण्डलिङ नपाउने गरी बन्द भयो ।

सिलापीले आफूहरूको नियत गलत नभएको गुनासो गरे । नेपालको पर्यटन क्षेत्रमा तथा राजस्व संकलनमा थाई एयरवेजले राम्रो योगदान रहेको स्मरण गराउँदै उनले सरकारलाई बुझाउनुपर्ने कर निरन्तर बुझाएको र आफूहरूमाथि कुनै दायित्व साथै बक्यौता नरहेको प्रष्ट पारे ।

२०६७ सालमा थाई एयरवेजलाई ग्राउण्ड ह्याण्डलिङका लागि क्यानले रकमसहित उल्लेख गरी प्रमाणित गरेको कागजात

भर्खरै सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा नवीकरण नगर्ने क्यानको निर्णय अनुसार प्रवेश पास फिर्ता गर्न थाई एयरलाई लेखिएको पत्र


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *