मुन्धुमलाई सबै नेपालीले पत्याउँदैनन्, तर किन वेदलाई पत्याइहाल्छन् ? – Nepal Press

मुन्धुमलाई सबै नेपालीले पत्याउँदैनन्, तर किन वेदलाई पत्याइहाल्छन् ?

पछिल्लो ३० वर्षको अवधिमा नेपाली साहित्यमा नयाँ अभियानहरु चले । हामीले विभिन्न नामहरु दियौं । यो सबै अभियानको एकै मक्सद थियो, हामीले आफ्नो खोजी गर्नु थियो वा हामीले आफ्नो खोजी गरेको हो । आफूलाई खोज्ने यो अभियानमा नेपाली साहित्यका विधाहरुमा पनि कविता विधा अत्यन्तै सक्रियतापूर्वक लागेको देखियो ।

नेपाल सिमानाको हिसाबले सानो होला । तर, विविधताले विशाल छ भन्ने तथ्य अकाट्य छ । त्यसैले हामीले विविधतालाई अलग र भिन्न पार्ने होइन । बायो डाइभर्सिटीले नेपाललाई बचाइराखे झैं हामीले विविधतालाई शक्तिको स्रोतका रुपमा लिनुपर्छ । हाम्रो सांस्कृतिक, भाषिक विविधता र सामाजिक जीवनमा देखापरेका विविधताले हामीलाई भिन्नभिन्न देखाए पनि यसले अन्ततोगत्वा समग्र नेपालीको शक्तिको स्रोतलाई देखाउँछ । अन्ततः अहिले हामी यिनै ठाउँहरुमा उभिएका छौं ।

यही वातावरणले गर्दा नै सृजनशील मान्छेलाई सृजना गर्न प्रोत्साहित गर्छ । उसको सृजनामा सर्जकको सामाजिक, सांस्कृतिक र भाषिक पृष्ठभूमिको प्रभाव परेकै हुन्छ । सृजना गर्नेले म सृजना गर्छु भनेरै गरेको हुन्छ । आदेश दिएर सृजना गर्दैन उसले । त्यसैले त अहिलेका कविहरुले लेखेका कविताहरुमा आफ्नो पहिचान अर्थात् अस्तित्वको खोजी देखापर्छन् ।

तीतो यथार्थ के हो भने साना समूहले पोखेको वा भनेको कुरा धेरैले पत्याउँदैनन् । नाथेहरु भनिदिन्छन् । ठूलाले भनेको मात्रै सबैले पत्याउँछन् । यो द्वन्द्व विश्वव्यापी हो । गिब न्यारेटिभमा विश्वभरि नै झगडा छ । हामीले मुन्धुममा यस्तो छ भन्दा सबै नेपालीले पत्याउँदैनन् । तर, वेदले यस्तो भनेको छ भन्दा सबैले पत्याएर अगाडि बढ्छन् । यसले सानो आख्यान, मिथकलाई छोप्दै जान्छ । त्यस्ता आख्यान र मिथक हराउँदै जान्छन् ।

तीतो यथार्थ के हो भने साना समूहले पोखेको वा भनेको कुरा धेरैले पत्याउँदैनन् । नाथेहरु भनिदिन्छन् । ठूलाले भनेको मात्रै सबैले पत्याउँछन् । यो द्वन्द्व विश्वव्यापी हो ।

यसले गर्दा विभिन्न साना अंगहरुले आफ्नो पहिचान गुमाउँदै जाने भए । उहिले मलाई कस्तो लाग्थ्यो भने यो नेपालमात्रै छ कि अर्को नेपाल पनि छ ? मैले अर्को नेपालको खोजी गरें । तर, सबैले जानेको नेपालभित्र बुझ्न नचाहेका मान्छेहरुले पनि विविधताको पहिचानयुक्त विशेषताहरु बुझे भने हाम्रो सामाजिक, सांस्कृतिक, धार्मिक, अध्यात्मिक तहमा आउने विरोधाभाषहरु कम भएर जानेछन् । यसले हाम्रो राष्ट्रिय जीवन सहज बनेर जान्छ जस्तो लाग्छ ।

कविहरुले अनेक तहको कल्पना गरेर आफ्नो कुरा, आफ्नो समाज, देश र समग्र जातिको भलोको लागि हुन सक्छ कि भनेर आफ्ना विचारहरु लिएर आउँछन् । कवि पराजित पोमुले पनि इतर आवाज भनेर नयाँ आवाजको खोजी उहिल्यैदेखि गरेका हुन् । मूलधारका आवाजमात्रै सबैको आवाज होइन । मूलधारले धेरैथोक ढाँटेको छ, झूट बोलेको छ । धेरैको आवाज सुन्नै नसकिने सानो र साँघुरो बनाएको छ । तर, ती आवाजको पनि खोजी हुनुपर्‍यो नि ! सानो आवाजको अस्तित्वहीनताले ठूलो आवाजलाई बलियो बनाउन सक्दैन । ठूलो आवाज नै सानो आवाजसँग तुलना गरेर ठूलो बन्ने हो । सानो आवाजको तुलनामै ठूलो आवाज बन्ने हो । सानो आवाज नै छैन भने ठूलो आवाजमाथि गहिरो प्रश्न उठ्छ ।

वास्तवमा हामी हौं भन्ने कुरा हामी आफैंले बुझ्नुपर्छ । अर्काले दिएको अर्थलाई डडाल्नोमा बोकेर कति टाढासम्म जाँदाखेरि हामी आफैं हुन सक्छौं र ? हामीले आफैंले बोकेको अर्थ बोकेर हिँड्दा पो सजिलो र सहज हुन्छ । त्यसले अन्तरदेखि बलियो बनाउने तागत पनि दिन्छ ।

लिम्बू समुदायमा ‘तङसिङ’ भन्ने शब्द छ । यो शब्द लिम्बूबाहेक अरुलाई अप्ठ्यारो लाग्छ । तर, लिम्बू समुदायबाट आएको लेखकले यसलाई प्रयोग गर्नसक्छ । यसको अर्थ भनेको हरेक लेखक आफ्नो सांस्कृतिक पृष्ठभूमिबाट प्रभावित भएकै हुन्छ । तङसिङ भन्ने त्यही कुरालाई हिन्दु वेदले एक प्रकारको सायोध्यता प्राप्ति भन्छ ।

मूलधारका आवाजमात्रै सबैको आवाज होइन । मूलधारले धेरैथोक ढाँटेको छ, झूट बोलेको छ । धेरैको आवाज सुन्नै नसकिने सानो र साँघुरो बनाएको छ । तर, ती आवाजको पनि खोजी हुनुपर्‍यो नि !

तङसिङमा समग्र पुर्खा र हामी एकै हौं भन्ने भावनाको बोध गरिन्छ । सृष्टि किन भयोदेखि लिएर मान्छेको सृष्टि भएदेखि नै मान्छेका विग्रह आएको हो, विचारमा मतभिन्नता आएको हो भनिन्छ । त्यो अर्कै हो, म अर्कै हो भन्ने कुराहरु मान्छेको सृष्टि भएदेखि नै आएको हो भन्छ तङसिङले । तर, त्यो चिजलाई हटाउने उपाय पनि बताउँछ । हामी सबैले हाम्रो आगत, विगत वर्तमानलाई गहिरिएर केलायौं भने हामी जीवनको पक्षमा छौं भन्ने कुरा बताउँछ ।

तङसिङले सबैको भलो होस्, सबै बाँचौं भनेर पानीको महत्वमाथि बताउँछ । पानीले गर्दा जीवन सम्भव छ भनेर भन्छ । र उत्साहपूर्वक अनुष्ठान पनि गराउँछ । तङसिङले फेरि भन्छ, ‘त्यति मात्रैले कहाँ हुन्छ ? जीवजन्तु नभई यो सृष्टि कसरी पूर्ण हुन्छ त ? सार्थक कसरी हुन्छ त ?’ त्यसका लागि जीवजन्तुलाई बचाउने उपायदेखि हावा, पानीका कुरा गर्छ । अस्तित्वलाई सम्झाइराख्न ठूलो अनुष्ठान हो तङसिङ ।

सामान्य अर्थमा मान्छेले ग्रह नाघेको भन्छन् । ग्रह नाघेको भन्नु सम्पूर्ण जीवनको विरुद्ध हुने चिजहरुलाई हामीले नाघेर वा पराजित गरेर जानु हो ।

अर्को छ, अम्लारी अर्थात् सुनाखरी । हेर्दा बडो सुन्दर । अर्को चल्तीको शब्द छ, प्रेमिल । त्यो भनेको प्रेमले भरिएको । अनि यो शब्दले एउटा आशा जगाउँछ । हामीलाई त समाजमा प्रेमको वातावरण पनि चाहिन्छ । त्यस्तो प्रेमिल परिस्थिति खडा गर्न सकेको खण्डमा समाज, देश स्वस्थ्य हुन्छ ।

हामीलाई एउटा कुरामा चिन्ता छ, यो देश हामी सबैको हो भन्नुपर्‍यो । तर, हामीलाई त यो देशले आफ्नो अंग नै ठान्दैन । हामीलाई पनि यो देश मेरो हो भन्ने ठाउँ दिनुपर्‍यो । कुनै आदिवासी, जनजाति कविले आफ्नो मातृभाषाको शब्द हाल्दा यो शब्द कहाँको हालिस् भन्ने होइन । त्यसले त नेपाली भाषाको शब्दको संख्या बढाइरहेको हुन्छ । नेपाली भाषालाई झनै विशाल बनाइरहेको हुन्छ । अंग्रेजी भाषामा दैनिक १५ देखि २० हजार शब्द थपिन्छ भनिन्छ । त्यसैले कविहरुको सधैंको प्रयत्न के हुन्छ भने राजनीतिक व्यक्तित्वहरुले सबै नेपाली हौं भनेर अंगालो मार्ने, स्वीकार गर्ने परिस्थिति बनोस् । सबै भाषालाई स्वीकार गरोस् । विभिन्न भाषाभाषी कविहरुले ल्याएका कुराहरुलाई सबैले चिनेर, जानेर, सांस्कृतिक सभ्यतालाई अंगीकार गर्दै जाने हो भने मात्रै नेपालको निर्माण हुन्छ ।

(कवि वैगारी काइँलाले कवि पराजित पोमुको कवितासंग्रह ‘मद्वारा मेरो निर्माण’को विमोचनका क्रममा दिएको अभिव्यक्तिको सम्पादित अंश ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *