राष्ट्रिय परिचय पत्र : ४५ जिल्लामा सकियो विवरण संकलन, १६ जिल्लामा जारी
काठमाडौं । सरकारले राष्ट्रिय परिचय पत्र वितरण गर्नका लागि १ करोडभन्दा बढी नागरिकको विवरण संकलन गरेको छ । गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका अनुसार अहिलेसम्म १ करोड ७ लाख २९ हजार २५६ जना नागरिकको विवरण संकलन भएको हो ।
विभागका अनुसार अभियानमार्फत ८१ लाख ५३ हजार ८९६ जनाको संकलन भएको छ भने इकाईमार्फत २५ लाख ७५ हजार ३६० जना नागरिकको विवरण संकलन भएको विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले नेपाल प्रेसलाई जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म ४५ जिल्लाका ४६३ स्थानीय तहका ४ हजार २ सय ९१ वटा विवरण संकलन कार्य अभियान सकिएको छ ।
हालसम्म जिल्लामा ताप्लेजुङ, पाँचथर, संखुवासभा, ओखलढुंगा, झापा, तेह्रथुम, उदयपुर, खोटाङ, सल्यान, गुल्मी, पाल्पा, नवलपरासी पूर्व, चितवन, सिन्धुली, काभ्रेपलाञ्चोक, कञ्चनपुर, अछाम, डडेल्धुरा, डोटी, मनाङ, नवलपरासी पश्चिम, कास्की, मकवानपुर, भोजपुर, इलाम, सुर्खेत, कैलाली, स्याङजा, भक्तपुर, धनकुटा, सर्लाही, सिन्धुपाल्चोक, रुकुम पश्चिम, तनहूँ, पर्वत, सप्तरी, रुपन्देही, सुनसरी, ललितपुर, बर्दिया, दोलखा, दार्चुला, गोरखा र बागलुङमा विवरण संकलन सकिएको छ ।
यस्तै, पुस मसान्तसम्म १६ जिल्लामा अभियान जारी रहेको पण्डिले बताए । मोरङ, कपिलवस्तु, मुस्ताङ, काठमाडौं, बझाङ, दाङ, सिराहा, धनुषा, धादिङ, बाँके, रामेछाप, बारा, पर्सा, रौतहट, महोत्तरी र लमजुङमा विवरण संकलनको कार्य जारी रहेको पौडेलले बताए ।