विश्वप्रकाशको नयाँ प्रस्ताव- रामचन्द्र पौडेलका लागि तीन दल मिलौं (भिडिओ) – Nepal Press

विश्वप्रकाशको नयाँ प्रस्ताव- रामचन्द्र पौडेलका लागि तीन दल मिलौं (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति उम्मेदवारको विषयमा नयाँ प्रस्ताव अघि सारेका छन् । बुधबार संसद बैठकबाट बाहिरिँदै उनले पूर्वप्रधानमन्त्रीहरूलाई राष्ट्रपतिको उम्मेदवार बनाउनु नहुने बताए ।

देशको प्रधानमन्त्री भएर कार्यकारी अधिकार प्रयोग गरिसकेका व्यक्तिहरूलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा अघि सार्नु उचित नहुने उनको तर्क छ । पूर्वप्रधानमन्त्रीहरूलाई राष्ट्रपतिको आकांक्षा नराख्न अनुरोध गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने शर्माको भनाई थियो ।

‘मैले शेरबहादुर देउवालाई राष्ट्रपति बनाउँ भनेको हो । तर, देशको प्रधानमन्त्री भइसकेर, कार्यकारी अधिकारलाई प्रयोग गरिसकेका कुनैपनि पूर्वप्रधानमन्त्रीहरूले राष्ट्रपति बन्ने आकांक्षातर्फ जानु, अझ उहाँहरूलाई अगाडि सार्नु त्यति उचित नहोला भन्ने साथीभाइहरूको भावनासँग म एकदम सहमत छु’, महामन्त्री शर्माले भने, ‘त्यसकारण चाहे शेरबहादुर देउवा, चाहे माधवकुमार नेपाल, चाहे बाबुराम भट्टराई उहाँहरूले कार्यकारी अधिकार प्रयोग गरिसकेर देशको प्रधानमन्त्रीको नेतृत्व गरिरहनुभएको छ । त्यसकारण उहाँहरू समेतको सहभागिता र समर्थनमा रामचन्द्र पौडेल वा अन्य नेताहरूलाई अगाडि सारेर जानु बढी उचित हुन्छ ।’

महामन्त्री शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले सबैलाई सुनको बाला देखाएको टिप्पणी गरे । राष्ट्रपति निर्वाचनको सन्दर्भमा देउवा, प्रचण्ड र माधव नेपाल एकठाउँमा आउनुपर्ने उनको सुझाव छ ।

शर्माले थपे, ‘सुनको बाला देखाउने भनेर कमरेड केपी ओलीले कांग्रेसलाई भन्नुहुन्थ्यो । सुनको बाला निकैवटा छ कि क्या हो ? तपाईँको बालकोटमा । कहिले उहाँ माधव कमरेडलाई देखाउनुहुन्छ । कहिले झलनाथ कमरेडलाई देखाउनुहुन्छ । कहिले महन्थ कमरेडलाई देखाउनुहुन्छ । उहाँको सुनको बालाको कुरामा अल्मल्लिनु अहिले हुँदैन । संसद विघटन गरेर प्रतिगमनतर्फ लम्किनुभएको थियो, त्यो सबै कोर्ष करेक्शन गराउने कुरामा माधव नेपाल, प्रचण्ड, शेरबहादुर देउवाको जुन भूमिका छ, त्यो भूमिका फेरिपनि एकठाउँमा आउनुपर्छ ।’

दोस्रो ठूलो दलले सभामुख र तेस्रो ठूलो दलले प्रधानमन्त्रीको पद लिएको अवस्थामा पहिलो दल हुनुका नाताले कांग्रेसले राष्ट्रपतिको पद पाउनुपर्ने महामन्त्री शर्माको जिकिर छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर