अक्षयकुमारले भनेः पेट पाल्न क्यानडाको नागरिकता लिएको थिएँ, अब त्याग्छु – Nepal Press

अक्षयकुमारले भनेः पेट पाल्न क्यानडाको नागरिकता लिएको थिएँ, अब त्याग्छु

भारतीय अभिनेता अक्षयकुमारले आफ्नो क्यानेडियन पासपोर्ट त्याग्ने निर्णय लिएको बताएका छन् । प्रक्रियाअनुसार फेरि भारतीय नागरिकता लिने उनको भनाइ छ ।

क्यानेडियन नागरिकता लिएको विषयमा अक्षयको बारम्बार आलोचना हुने गरेको थियो । हालै एक अन्तर्वार्तामा उनले राहदानी परिवर्तन गर्न निवेदन दिएको बताए ।

५५ वर्षीय स्टारले ‘आज तक’ मा दिएको एक अन्तर्वार्तामा भनेका छन्, ‘मेरो लागि भारत नै सबथोक हो । मैले जति कमाएको छु, पाएको छु, त्यो सब यहीबाट पाएको हो । म अब क्यानेडियन नागरिकता फिर्ता गर्ने प्रक्रियामा छु । मानिसहरु केही बुझ्दै नबुझी मलाई सधैं आलोचना गर्छन् । त्यस्तो देख्दा साह्रै नराम्रो लाग्छ ।’

९० को दशकमा करियर ओरालो लागेपछि आफू क्यानडाको नागरिकता लिन बाध्य बनेको अक्षयको दाबी छ ।

‘जति चलचित्र गरे पनि सबै फ्लप हुन्थ्यो । एक समय मलाई मेरा चलचित्र नै नचल्ने रहेछन् भन्ने भइसकेको थियो । तर, काम त गर्नु थियो । पेट पाल्नु थियो । सो समय मेरो एउटा साथी क्यानडामा थियो । उसले पनि बोलाएपछि म गएँ । म कामको लागि त्यहाँ गएको थिएँ’, उनले सुनाए ।

क्यानडा जानुपूर्व आफूले गरेको अन्तिम दुई चलचित्रका कारण आफू भारत फर्किएको उनको आशय छ । विगत सम्झिँदै खुशी भएका उनले सुनाए, ‘म क्यानडामा हुँदा मेरो दुईवटा चलचित्रमात्र रिलिज हुन बाँकी थियो । यो मेरो भाग्यको कुरा हो कि रिलिजपश्चात ती दुवै चलचित्र सुपरहिट भए । चलचित्रले अविश्वसनीय सफलता हात पारेपछि साथीले पनि मलाई भारत फर्कन सल्लाह दियो । थप केही चलचित्रको अफर पनि आएकाले म फेरि भारत फर्कें ।’

भारत फर्केर काम गर्न थालेपछि आफूसँग क्यानडाको राहदानी भएको कुरासमेत आफूले बिर्सेको उनको भनाइ छ ।

‘मैले मेरो क्यानडाको राहदानी परिवर्तन गर्नुपर्छ भनेर कहिल्यै सोचेकै थिइनँ । तर, अब भने मैले राहदानी परिवर्तन गर्न आवेदन दिएको छु’, उनले थपे ।

९० को दशकमा अक्षयकुमारका १५ वटाभन्दा बढी चलचित्र फ्लप भएका थिए । १५ फ्लप चलचित्रपछि ‘हेराफेरी’, ‘नमस्ते लन्डन’, ‘ट्वाइलेट–एक प्रेमकथा’ र ‘प्याडम्यान’ जस्ता चलचित्र अक्षयको करियरको टनिर्ङ प्वाइन्ट बने ।

लोकसभा चुनावअघि सन् २०१९ अप्रिलमा प्रधानमन्त्री नरेन्द्र मोदीसँगको अन्तर्वार्तापछि अक्षयकुमारको नागरिकता बहसको विषय बनेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *