‘राजा हटेपछि संसद र सत्तामा पुग्ने रहर कहिल्यै जागेन’
३ हजार कर्मचारीका कमाण्डर डा. रुपज्योति भन्छन्- व्यवसाय नै छोडिदिउँ जस्तो लागेको थियो तर, हिम्मत हारिनँ
काठमाडौं । नेपालकै वरिष्ठ व्यवसायी डा. रुपज्योतिको बोली लरबराउन थालिसक्यो, उमेरले नेटो काटिसक्यो । तर, व्यवसयिक उत्साह कति पनि घटेको छैन । अझै पनि उनी ज्योति भवनस्थित आफ्नो कार्यालयमा पुग्छन्, के के काम भइरहेको छ सबै अपडेट लिन्छन् ।
‘परिवार पूरै व्यवसायमा भिजिसकेको थियो । सन् १९४० मा बुबा मणिहर्ष ज्योतिको काठमाडौं मछिन्द्रबहालमा कपडाको व्यवसाय राम्रै चलेको थियो । तर, एक्कासि त्यही व्यवसायमा दैव लाग्यो । आगो कताबाट सल्कियो पत्तै भएन । क्षणभरमै व्यवसाय खरानी भयो । गर्जो राम्रैसँग चलेको व्यवसाय चौपट भएपछि बुबा अतालिए र कमाउन भारत छिरे । नेपाली धमान साहु निकै धनी र नाम चलेका कलकतामा बस्थे । उनैको भान्से भएर बुबाले काम गर्नुभयो । हामी पनि उतै हुर्कियौं । हाई स्कुलसम्म कलकतामै पढ्यौं’, डा. रुपज्योतिले आफ्नो विगत सम्झे ।
सानैदेखि नेतृत्वदायी भूमिका रुचाउने उनको कमाण्डमा तीन हजार कर्मचारी कार्यरत छन् । रुपज्योति सानैमा स्कुलको क्याप्टेन भए । कलेजमा केमिकल इञ्जिनियरिङ पढ्दा होस्टेलको तथा पीएचडी गरेको हार्डवर्ट युनिभर्सिटीको पनि नेतृत्वदायी भूमिकामै रहे ।
स्कुले जीवन कलकतामा बिताएका रुपज्योति कलेज पढ्न मुम्बई सिफ्ट भए । केमिकल इञ्जिनियरिङ सकेर सन् १९७० मा नेपाल फर्किए । त्यसलगत्तै उनले बुढानिलकण्ठ स्कुल निर्माणको ठेक्का पाए । तत्कालीन राजा वीरेन्द्रका छोरा दीपेन्द्रको आग्रहमा ब्रिटिस सरकारको सहयोगमा सो स्कुल बनेको थियो ।
चार वर्ष नेपालमै काम गरेपछि उनी अध्ययन गर्न सन् १९७४ मा अमेरिका हानिए । अमेरिकाको हार्डवर्ट युनिभर्सिटीबाट एमबीए र विद्यावारिधि गरे ।
ट्याक्टरबाट सुरु भएको व्यवसायिक यात्रा
उनले पहिलेदेखि नै बुबाको पदचाप पछ्याउँदै व्यवसायमा होमिने अठोट गरेका थिए । त्यसैले त केमिकल इञ्जिनियरिङका विद्यार्थी रुपज्योतिले व्यवसाय गर्न नै एमबीए गरे । भाजुरत्न इञ्जिनियरिङ सेल्स कम्पनीबाट बिक्री हुने ट्याक्टरको डिलरशिप उनले लिए । त्यतिबेला भाजुरत्नको ट्याक्टर निकै प्रचलित थियो । उनको व्यवसाय पनि राम्रै चल्यो ।
ज्योति ग्रुपअन्तर्गतको थुप्रै व्यवसायमा दाजुभाइ पद्म र रुप ज्योतिले हात हाले । पिता मणिहर्ष ज्योतिले सन् १९४० मा स्थापना गरेको ज्योति ग्रुप दाजुभाइकै व्यवसायको सुरुवाती र अन्तिम विन्दु बन्यो । झण्डै सय वर्षको इतिहास बोकेको ज्योति ग्रुपका अंशियार बने रुपज्योति ।
यो ग्रुपअन्तर्गत एक दर्जनभन्दा बढी कम्पनी तथा उद्योग छन् । हिमाल स्टिल, जय स्पिनिङ, ज्योति यार्न, हिमाल अक्सिजन सञ्चालनमा छ । हिमालयन बैंक, लुम्बिनी विकास बैंक, सगरमाथा इन्स्योरेन्स, ग्रान्डी हस्पिटल तथा बुटवल पावरमा पनि शेयर लगानी छ ।
‘भाजुरत्नको ट्याक्टर बेचें, ज्योति स्पिनिङ सुरु गरें । परिवार नै व्यावसायिक थियौं’, आफ्नो व्यवसाय विस्तारको कथा सुनाउँदै रुपज्योतिले भने, ‘अहिले पनि हिरोका बाइकहरु बिक्री गरिरहेका छौं । परवानिपुरमा मोटरसाइकल एसेम्ब्लिङ उद्योग खोलेका छौं ।’
बुबा मणिहर्षले परवानिपुरमा रोलिङ मिल जडान गर्न जापानबाट एउटा इञ्जिनिरयर झिकाएका थिए । त्यतिवेला ती इञ्जिनियरले नेपालमा मोटरसाइकल किन बेच्दैन भन्ने प्रश्नबाट अघि बढेको थियो रुपज्योतिको अर्को व्यवसाय ।
ती इञ्जिनियरका ज्वाइँ होण्डामा काम गर्थे । तिनैले ज्योति समूहलाई होण्डासँग परिचित बनायो । सन् १९६८ मा जापानको होण्डा ब्राण्डको बाइकको आधिकारिक बिक्रेता बनेको थियो स्याकार ट्रेडिङ । त्यो वेला महिनामा एउटा मोटरसाइकल बिक्री हुन्थ्यो । पछि एकसय वटासम्म पुग्यो ।
तत्कालीन समयमा कसैले सामान निर्यात गरेको छ भने बोनस लाइसेन्स दिने चलन थियो । कसैले निर्यात गरेको छ भने त्यसको ४० प्रतिशत बोनस पाउँथ्यो । त्यसले निर्यात गरेको रकमको ४० प्रतिशत आयात गर्न पाउने व्यवस्था भयो । त्यसले ज्योतिलाई मोटरसाइकल झिकाउन थप सहज भयो ।
पछि होण्डा भारत भित्रिएपछि हिरोसँग मिलेर काम गर्यो । हिरो होण्डाको आधिकारिक बिक्रेता ज्योति समूह नै बन्यो । सन् २०१० मा हिरो र होण्डा छुट्टिएपछि रुपज्योतिले हिरो राखे र हिरो ब्राण्डको मोटरसाइकल बेच्न थाले ।
पूर्वराजा ज्ञानेन्द्रले सांसददेखि मन्त्रीसम्म बनाए
उनी पढाइमा निकै अब्बल थिए । उनको बौद्धिकताको चर्चा राजदरबारसम्मै पुग्यो । तत्कालीन राजा वीरेन्द्र उनलाई संसद बनाउन चाहन्थे । आफूले संसद बनाउन चाहेको कुरा वीरेन्द्रले आफ्नो नोटबुकमा लेखेका थिए । तर, वीरेन्द्रले उनलाई संसद बनाउन नपाउँदै दरबार हत्याकाण्ड भयो । २०५८ सालमा राजा वीरेन्द्रको सपरिवारकै हत्या भयो ।
त्यसपछि देशको राजा ज्ञानेन्द्र बने । उनै ज्ञानेन्द्रले वीरेन्द्रको नोटमा देखेको नाम थियो डा. रुपज्योति । ज्ञानेन्द्रले आफूलाई संसदमा मनोनीत गर्ने प्रस्ताव गरेको उनले बताए । रुपज्योति सुनाउँछन्, ‘ज्ञानेन्द्र सरकारले बोलाएर म तपाईंलाई संसद बनाउँछु भन्नुभयो । अनि मैले म बिजनेस गर्ने मान्छे संसदमा जान्न भनें । अनि उहाँले कहाँ हुन्छ, मेरो दाइको नोटबुकमा तपाईंको नाम छ भन्नुभयो । उहाँ बित्नुभयो । म तपाईंलाई मनोनीत गर्छु भन्नुभयो । मैले सक्ने काम दिनुस् हुन्छ भनिदिएँ ।’
त्यतिवेला शेरबहादुर देउवा प्रधानमन्त्री थिए । डेढ वर्षसम्म संसदमा रहेर काम गरेका डा. रुपज्योतिलाई मन्त्रिमण्डलमा बस्न प्रस्ताव आयो ।
ज्ञानेन्द्रको सक्रिय शासनका बेला क्याबिनेटको यात्रा स्मरण गर्दै उनी सुनाउँछन्, ‘मलाई क्याबिनेटमा समावेश गराउने निर्णय भयो । मैले राजनीति गर्दिनँ भनें । तर, टेक्निकल काम भए गर्छु भनें । त्यसपछि मलाई अर्थ सहायकमन्त्रीको जिम्मेवारी दिनुभयो । त्यतिवेला मधुकरशमशेर अर्थमन्त्री हुनुहुन्थ्यो । तीन महिनापछि मधुकर शमशेरको काममा ज्ञानेन्द्र सन्तुष्ट नभएर उहाँलाई हटाउनुभयो । मलाई राज्यमन्त्री बनाए पनि पूरै अर्थमन्त्रीको जिम्मेवारी दिनुभयो । ६ महिना अर्थ मन्त्रालय सम्हालें । त्यसपछि राजा नै हटेपछि मेरो संसददेखि क्याबिनेटसम्मको यात्रामा पूर्णविराम लाग्यो ।’
त्यसपछि आफूमा कहिल्यै पनि संसद र सत्तामा पुग्ने रहर नजागेको उनी सुनाउँछन् ।
‘कहिलेकाहीं हतोत्साही हुन्छु’
‘कहिलेकाहीं त विभिन्न कारणले व्यवसाय नै छोडिदिउँ जस्तो पनि लाग्छ । तर, अर्को मनले भन्छ, यति धेरैको रोजीरोटी बनेको छस् हिम्मत नहार । अनि म सम्हालिन्छु ।’
राज्यले लिने नीतिमा स्थिरता नहुँदा व्यवसायमा समस्या आउने उनको अनुभव छ । राजनीति पनि सिद्धान्तमा चलेको महसुस आफूले नगरेको रुपज्योतिको टिप्पणी छ ।
‘बाहिरतिर जति नाफा गरे पनि हुन्छ । तर, करको दायरामा आउनुपर्छ । नेपालमा नाफा कमायो भने नाफाखोर भयो भनेर आलोचना खेप्नुपर्छ’, उनको गुनासो छ ।
सकेसम्म आफूलाई बेफुर्सदिलो बनाउने डा. रुपज्योति गोयन्का ग्रुपले सञ्चालन गरेको विपश्यनाका क्षेत्रीय आचार्य पनि हुन् । उनको फुर्सदको साथी बनेको छ विपश्यना । जसले आफूलाई कम रिसाउने बनाएको उनको भनाइ छ ।
हरेक मानिसमा साहस र जोखिम लिनसक्ने क्षमता भए जुनसुकै कुरामा पनि सफलता पाइने उनले बुझेको मन्त्र हो । ‘कारोबार गरेपछि सरकारले उद्योग व्यवसायलाई सुरक्षा दिनुपर्ने हो । तर, त्यसो नहुँदा व्यवसायमै असुरक्षित भएको महसुस हुन्छ’, उनी भन्छन् ।
छिटो प्रतिफलको आशमा लाग्दा मानिसहरु हतोत्साही हुने भएकाले मेहनत गरेर कमाएको प्रतिफल नै टिकाउ हुने रुपज्योतिको बुझाइ छ ।