६१ सहसचिवको सरुवा हुँदा ३ उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए
काठमाडौं । सरकारले ६१ सहसचिव सरुवा गर्ने क्रममा ३ उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पनि हेरफेर गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले धरान उपमहानगरपालिका, जनकपुर उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेरफेर गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका सहसचिव उद्धव रिजालको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशमा सरुवा गरेको छ ।
धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका मातृका भट्टराईलाई दिइएको छ ।
मन्त्रालयले जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश १ मा कार्यरत सहसचिव कृष्णप्रसाद सापकोटालाई दिएको छ भने तुलसीपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकै अतिरिक्त समूहमा रहेका सहसचिव रामबहादुर केसीलाई दिएको छ ।