यू-१९ विश्वकप छनोट : कुवेतलाई १०० रनमा समेट्दै नेपालको लगातार दोस्रो जित, आकाशको ६ विकेट
काठमाडौं । आकाश चन्दको ६ विकेट प्रेरित यूएईमा जारी आईसीसी यू–१९ विश्वकप एसिया रिजन छनोटमा नेपालले कुवेतलाई १०० रनमा समेट्दै लगातार दोस्रो जित निकालेको छ ।
नेपालले दिएको ३४४ रनको विजयी लक्ष्य पछ्याएको कुवेत ३०।५ ओभरमा १०० रनमा सीमित हुँदै अलआउट भयो ।
कुवेतका ओपनर जुडे क्रिस्टोफर सालदानाले सर्वाधिक २६ रन बनाए, अर्का ओपनर हित किशोर भाइ यहिन्सु १६ रन र यासुफ सिद्धिक १९ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका बलर आकाश चन्दले सर्वाधिक ६ विकेट लिए । उनले ९ ओभरमा ४३ रन खर्चिए । हेमन्त धामी र दिपेश कँडेलले २–२ विकेट लिए ।
यसअघि, टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४३ रनको योगफल तयार पारेको छ । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक १२५ रनको अविजित इनिङ खेले । उनले १ सय १७ बलमा ९ चौका र तीन छक्का प्रहार गरे ।
ओपनर अर्जुन कुमालले १ सय १२ बल खेल्दै १ सय ८ रन योगदान गर्दा अर्का ओपनर दीपक बोहरा २७ बलमा २ चौकासहित १३ रन बनाएर आउट भए । विशाल विक्रम केसी २३ रनि र दीपक बोहरा १९ रनमा पभेलियन फर्कँदा दीपक प्रसाद डुम्रे २० रनमा अविजित हरे ।
कुवेतका आर्स साहिल काज्मी र हेनरी थोमसले दुई–दुई विकेट लिँदा हाइबेर अली र जय महेशकुमार मेहेताले समान एक विकेट लिए ।
विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा नेपालले सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो ।
हङकङ, मलेसिया, सिंगापुर, यूएई र कुवेत सम्मिलित प्रतियोगितामा नेपालले तेस्रो खेल सोमबार हङकङ, चौथो मङ्गलवार मलेसिया र अन्तिम खेलमा बिहीबार घरेलु टिम यूएईको सामना गर्नेछ ।
सिंगल राउन्ड रोबिन पद्धतिमा हुने खेलको विजेता टिमले २०२४मा श्रीलंकामा आयोजना हुने यू१९ विश्वकप खेल्नेछ ।