देश किन पर्यो पछाडि ? यी हुन् राजनीतिज्ञका ३ कमजोर कडी
यो देशको विडम्बना, हामी त्यस्तो लोकतन्त्रको अभ्यास गर्दै छौं, जहाँ हरेक सरकारले प्रधानमन्त्री बन्न नपाउँदै (मन्त्रिपरिषदको पूर्णताको कुरै नगरौं) आफ्नो कुर्सी बचाउने दौडधुपमा लाग्नुपर्छ । यो सरकार बनेको कति दिन भयो ? सरकारका प्रधानमन्त्रीले कुर्सी जोगाउने काममा बाहेक विकासका काममा समय दिन पाउनुभएको छ त ? छ भने थाहा हुनेले भन्नुहोला ।
त्यसो त पन्ध्र-बीस थान निर्देशनहरू पनि आए क्यार । यो सरकारभन्दा अगाडि पछिल्ला ३० वर्षमा बनेका सबै सरकार प्रमुखहरूको प्रायजस्तो समय सरकार जोगाउनमै गएको थियो भन्दा धेरै गलत हुँदैन । यो देशलाई फेरि एकपटक सिंगापुर बनाउनसक्ने ममात्रै हुँ भन्दै तँछाडमछाड गरेर सरकारमा जाने र सरकार नै जोगाउने खेलमा सरिक हुने महान खेलाडीहरूलाई गरिब जनताले कसरी थेगिरहेका होलान् ? अनि जनताको दुःख बुझेर त्यसलाई हटाउनको लागि काम गर्न चाहीँ कुन मसिहालाई गुहार्नु पर्ने होला ? प्रजातन्त्र भनेको भोट दिने र कर तिर्ने प्रजा भएको राजनीतिक प्रणाली हो भनेर परिभाषित गर्दा पो न्याय होला कि ?
तैपनि नेताहरूले नै पढुन् भनेर यो आलेख तयार पारिएको हो । पढ्नेको फुर्सद, जाँगर र रुची नभए पनि लेख्नेको त धित मर्छ नि !
नेपाली नेताहरू इमान्दार छैनन्, पढेगुनेका छैनन्, बोलेको बिर्सन्छन्, कमाउन मात्रै ध्यान दिन्छन्, गरौं भन्ने सोच नै छैन, भिजन नै छैन, सृजनशीलता छैन, सुझबुझ छैन, जनताको पीडाप्रति संवेदनशीलता छैन, भोट माग्ने बेलामा मात्र गाउँ र जनताको याद गर्छन्, विपक्षी नेताहरूको कुरा काट्नमै समय बिताउँछन् । यस्तै-यस्तै कुरा धेरै सुनिन्छ चियापसलमा । तर, यी कुराहरू पूर्णतः सत्य नहुन सक्छन् । कम्तीमा पनि एउटा ठोस अध्ययन नगरिकन यही कारणले गर्दा नेताहरूले विकासमा ध्यान दिन नसकेका होलान् भनेर भनिहाल्न चाहीँ सकिँदैन ।
सामान्य नेपाली जनताले समेत बुझ्ने गरी नेपालका नेताहरूमा यी ३ विषयमा सर्वव्यापकरूपमा कमजोरी देखिएको छ, जसको कारणले गर्दा पो जनताले अपेक्षा गरेका सानातिना कुराहरू पनि पूरा हुन सकेका छैनन् कि भन्ने लागेर यहाँ चर्चा गर्न खोजिएको हो ।
नेपाली नेतामा भिजन छैन भन्ने कुरालाई मान्न सकिँदैन किनकी सूचनाको पर्याप्त पहुँच भएको युग र देश-विदेश घुमेर विभिन्न आधुनिक ज्ञान हासिल गरेर हाम्रा नेताहरू टाठा भैसकेका छन् । केपी ओलीदेखि लिएर गगन थापा, बालेन्द्र शाह, रवि लामिछानेसम्म आइपुग्दा कसैका पनि भाषण सुन्दा लाग्दैन कि हामीले कमजोर मानिसलाई नेता छानेका छौं । विचार गरेर ल्याउँदा बोल्नमा हाम्रा प्रायजसो नेताहरू सबै अब्बल नै छन् र यो आफैंमा राम्रो पक्ष पनि हो ।
हाम्रा धेरै नेताहरू पढेलेखेका पनि छन् । होला कसै-कसैले औपचारिक डिग्री नलिएका होलान्, तर स्वअध्ययन र आफ्नो क्षेत्रको ज्ञान सबैमा राम्रो नै देखिएको छ ।
इमान्दारिताको प्रश्न धेरैजसो नेतामा पक्कै पनि धेर-थोर होला तर यो त हामीले संस्कारगतरूपमा नै सुधार गर्नुपर्ने कुरा हो । इमान्दारिताको कमी वा अभाव सबैले देखेबुझेको कारण हो भन्न सकिन्छ किनकी स-साना तर सिहंदरबार र बालुवाटार बीचैका कामहरू (जस्तो कि पुरानो बसपार्कको पार्किङ मल जुन देख्दा हाम्रा प्रधानमन्त्रीहरूको आँखा बिझाउँदो हो कि ?) समेत वर्षौंसम्म पुरा हुन नसकेको देख्दा हाम्रा त्यस्ता भिजनरी नेताहरूको ध्यान कता जाँदो हो झैं भन्ने लाग्छ । नेताहरूमा अवगुणहरू बढी भएर वा सकारात्मक गुणहरू कम भएर यसो भएको होला ? कुनै राजनीतिशास्त्रको विद्यार्थीको लागि शोधको राम्रो विषयवस्तु हुनसक्छ यो ।
सामान्य नेपाली जनताले समेत बुझ्ने गरी नेपालका नेताहरूमा यी ३ विषयमा सर्वव्यापकरूपमा कमजोरी देखिएको छ, जसको कारणले गर्दा पो जनताले अपेक्षा गरेका सानातिना कुराहरू पनि पूरा हुन सकेका छैनन् कि भन्ने लागेर यहाँ चर्चा गर्न खोजिएको हो ।
१) कमजोर व्यवस्थापकीय क्षमता
व्यवस्थापकीय क्षमता वा कौशल भन्नाले न्यूनतम स्रोत र साधनको उच्चतम उपयोग गर्दै फरक खालका क्षमता र उद्देश्य भएका मानिसहरूलाई एउटै लक्ष्यमा एकाकार गरेर वाञ्छित नतिजा प्राप्तिका लागि निरन्तर लागिरहने र हरहालमा काम फत्ते गरेर मात्र सन्तोष मान्ने गुण वा कला हो । ठूला-ठूला परियोजना समयमै गुणस्तरीयरूपमा पूरा गर्नको लागि त मुख्य नेता आफैंले सम्भव भएमा हरेक दुई-तीन दिनमा, हैन भने पनि हरेक हप्तामा परियोजनमा प्रत्यक्षरूपमा काम गर्ने टीमसँग (आसेमासेमार्फत होइन) भेट्ने, ब्रिफिङ लिने तथा निगरानी लिने गर्नुपर्छ । समयसीमा र मापन गर्न सक्ने नतिजाबिनाको सतही र लाए अह्राएको खाले काम गर्ने काइदाले समस्याका पहाडहरूलाई खोस्रन मात्रै पनि सकिँदैन । अहिलेका नेताले निजामती कर्मचारीलाई दिने कोरा निर्देशन भनेको हास्यास्पद झाराटराइ हो जसको खास कुनै अर्थ हुँदैन ।
नेता कसरी प्रोफेसनल हुन सक्छ र आफ्नो व्यवस्थापकीय क्षमताबाट असम्भव काम पनि गरेर देखाउन सक्छ भन्ने कुरा बुझ्न धेरै टाढा पुग्नै पर्दैन । हाम्रै आँगनका छिमेकी नेता अरबिन्द केजरीवाल र सि जीन पिङले कसरी मिहिनरूपमा कुनै पनि योजनाहरू बुन्छन् र ती योजनाका लागि मरिमेटेर लागि पर्छन् भन्ने हेर्यौं भने सजिलै थाहा पाउन सकिन्छ । जाँगर हुने हो भने हाम्रा सम्भावना बोकेका नयाँ नेताहरूले सफल नेता हुन र देशको मुहार फेर्न के गर्नु पर्ने रहेछ भन्ने कुरा बुझ्नका लागि लि क्वान यु को ‘फर्म थर्ड वर्ल्ड टु फस्ट वर्ल्ड’ भन्ने किताब र सी जीन पिङको ‘द गर्भनेन्स अफ चाइना’ भन्ने किताब पढे निकै लाभदायक हुनेछ ।
हाम्रा नेताहरूमा काम गरेर देखाउनु पर्छ भन्ने हुटहुटी भनौं वा जुनुन छ, जुन आफैंमा सकारात्मक कुरा हो । तर सबै कुरा लथालिङ्ग भएको देशमा निर्देशन दिएर मात्र काम हुन सक्दैन । हर समय तनमन सोही परियोजनामा लगाइरहनुपर्छ ।
जुन नेताले पढिसक्नुभएको छ, उहाँको व्यवहारमा पक्कै केही परिवर्तन आइसकेको होला । तर, किताब पढ्नासाथ राम्रो नेता बनिहालिन्छ भन्ने अर्थमा यसलाई नलिइयोस । यद्यपि ठूला नेताको अनुभवबाट सिक्न सकिन्छ भन्ने मात्र अभिप्राय हो । हुन त ती नेताहरूले आ-आफ्नै परिवेशमा आधारित भएर काम गरेका थिए र नेपालको आफ्नै सन्दर्भ र परिवेश छ । यद्यपि मानवीय आवश्यकता र समस्या विश्वभरी नै उस्तै छन् ।
नेपालकै कुरा गर्ने हो भने आफ्नो व्यवस्थापकीय क्षमताको प्रयोग गर्दै अहोरात्र लागिपरेर असम्भवलाई सम्भव तुल्याउने व्यवस्थापक एकजना देखिएका छन् । ती हुन् कुलमान घिसिङ । उनी राजनितिक व्यक्तित्व नभए पनि एक कुशल व्यवस्थापक हुन् जसले आफ्ना पूर्ववर्तीले गरेको ठोकुवालाई समेत झूटो साबित गर्दै दिनमा १६ घण्टा अन्धकारमा बस्ने देशलाई केही महिनाभित्रै लोडसेडिङमुक्त बनाइदिए । त्यसो अरु पनि धेरै होलान् जसले आ-आफ्नो स्थानमा बसेर देश र जनतालाई फाइदा हुने साना-ठूला कामहरू सम्पादन गरे होलान्, जसप्रति यो देश र समाज सधैँ कृतज्ञ छ ।
हाम्रा नेताहरूमा काम गरेर देखाउनु पर्छ भन्ने हुटहुटी भनौं वा जुनुन छ, जुन आफैंमा सकारात्मक कुरा हो । तर सबै कुरा लथालिङ्ग भएको देशमा निर्देशन दिएर मात्र काम हुन सक्दैन । हर समय तनमन सोही परियोजनामा लगाइरहनुपर्छ । ली क्वान यु आ-आफ्नो किताबमा यही भन्छन् कि तिमी आफैं बढी जोतिनुपर्छ, यदि तिमी परिवर्तनका वाहक नेता हुन चाहन्छौ भने । हो, तिमीले चुस्त टीम बनाउनु पर्छ तर त्यो टीम प्रत्यक्ष काम गर्ने हुनुपर्छ नकि आसेपासेको ।
आजको दिनसम्मलाई नियाल्ने हो भने डा. बाबुराम भट्टराई, गगन थापा, वसन्त नेम्वाङजस्ता केही नेताहरूमा धेरथोर व्यवस्थापकीय क्षमता देखिन्छ, किनकी उनीहरूले छोटै समयमा पनि केही संरचनागत परिवर्तन हुने कामहरू गरेर देखाएका थिए । नत्र भने धेरै नेताहरूले आजसम्म कुरै मात्र गरिरहेका छन् । केही नयाँ नेताहरू चाहीँ बढी लहडी पाराका, आउनासाथ सबै समस्या छुमन्तर गर्लान् जस्तोगरी उत्ताउलिने, तर योजना, सुझबुझको अभावमा गरिब जनता झन् पिसिने । त्यसरी अत्तालिएर गरिएका कामले अरु दर्जनौं लफडाहरू ल्याइदिएपछि तिनै लफडाको उल्झनले समय घर्काइसक्छ ।
२) भारदारी र आसेपासे प्रथा
यो प्रथा गरीब देशमा हुने राजनितिको सबैभन्दा मुख्य विशेषता वा सबै नेताले अनुशरण गर्ने प्रथा हो । टीम मेकिङको नाममा सत्तामा जाने सिँढी यसै जादुमयी प्रथाबाट तयार गरिन्छ । तर, सत्तामा पुगेपछि भने तीनै भाइभारदारको पजनी, सेवा र सुविधाको जोहो गर्दागर्दै आममानिसका समस्यालाई सुन्ने, देख्ने र बुझ्ने शारीरिक र मानसिक क्षमताहरू विलुप्त हुन पुग्छन् । भाइभारदारले यति ठूलो घेराबार लगाइदिन्छन् कि नेताले ती आसेपासेभन्दा अरुलाई न सुन्न सक्छ न त देख्न नै । ती ‘आपा’ हरू नै सबैभन्दा प्रिय, सबैभन्दा मधुर, सबैभन्दा सत्यवादी, सवैभन्दा विकासप्रेमी, सर्वज्ञानी र आफ्ना शुभचिन्तक । राम्रै नेतालाई पनि सजिलै सडाइदिन सक्ने खुबी भाइभारदारी आसेपासेहरूमा हुनेगर्छ ।
जगदीश घिमिरेले आफ्नो ‘अन्तर्मनको यात्रा’ भन्ने किताबमा उल्लेख गरेको ‘शुभचिन्तक’ कथामा शुभचिन्तकहरूको सल्लाह मान्दामान्दै ठूला मानिसहरू यति धेरै अधोगतिमा जान्छन् कि उनीहरू आफ्नै मृत्युको मुखमा पुग्छन् भन्ने चित्रण गरेका छन् । अन्त्यमा गएर मुख्यपात्रले भन्छ कि मलाई मेरा हरेक शुभचिन्तकहरूको डकारमा आफ्नै मासुबाट बनेको सुरूवातको गन्ध आएझैं लाग्छ । तर, हाम्रा नेताहरूले त्यस्तो डकारको गन्ध थाहा पाउने तन्तु विकास गर्न सकेकै छैनन् झैं लाग्छ । ‘आपा’ हरूले आफ्ना नेताहरू कान्तिबिहीन हुन पुग्दा कसरी माकुराका बच्चाले झैं आफैंलाई सिध्याउँछन् भन्ने कुराहरूको दृष्टान्त हाम्रै देशका फोर्स्ड-रिटार्यड भएका वा हुन लागेका नेतालाई हेरेर सजिलै बुझ्न सकिन्छ ।
टीम मेकिङको नाममा सत्तामा जाने सिँढी यसै जादुमयी प्रथाबाट तयार गरिन्छ । तर, सत्तामा पुगेपछि भने तीनै भाइभारदारको पजनी, सेवा र सुविधाको जोहो गर्दागर्दै आममानिसका समस्यालाई सुन्ने, देख्ने र बुझ्ने शारीरिक र मानसिक क्षमताहरू विलुप्त हुन पुग्छन् ।
नेताहरूको चश्मामा यति धेरै बादल लागिसकेको हुन्छ कि त्यो खराब नै हो भनेर सामाजिक आचरण र कानूनी प्रमाणबाट पुष्टी भैसक्दा पनि उसको पृष्ठपोषण र बचाउ गर्नु नेताको मुख्य कर्तव्य बन्न जान्छ । त्यसो त केही व्यक्तिहरूलाई मिडिया जगतले खुइल्याइदिएका घटना पनि हाम्रो समाजमा भेटिन्छन् तर देशको राजनितिमा धमिरा लाग्नमा आसेपासेकै बढी हात छ । सांसदका टिकट आसेपासेलाई, समानुपातिकका सिट आसेपासेलाई, ठेक्कापट्टाको पजनी : आसेपासेलाई, मन्त्रिका कुर्सी आसेपासेलाई, संवैधानिक नियुक्ति आसेपासेलाई, निगमका जीएम आसेपासेलाई, करिअर तालिम, भत्ता वा विदेश भ्रमण आसेपासेलाई, सल्लाहकार आसेपासेलाई, पिए आसेपासेलाई । सबैतिर आसेपासे ।
नेतासँग कुनै नागरिकलाई भेट्न मन लाग्यो, आफ्ना दुःख पीडा पोख्न वा कुनै विषयमा आफ्ना विचारहरू सुनाउन मन लाग्यो भने आसेपासेबाट नै गुज्रनुपर्छ । आसेपासेलाई फकाउन सकियो भने मात्र नेताको पँहुच पाउन सकिन्छ र आसेपासे के भएमा फकिन्छन् भन्ने कुरा नेपाली पाठकलाई बताइरहनुपर्ने कुरा हो जस्तो लाग्दैन । तपाईँलाई अमूल्य समय दिँदा नेता वा आसेपासेलाई के फाइदा हुन्छ ? धेरैजसो आपाबाट आउने कडीवाला प्रश्न यही हो । आपाको विश्लेषणबाट पहिल्यै यो पानी पार्ने बादल होइन भन्ने लाग्यो भने जनताले कुनै रेस्पोन्स नै पाउँदैनन्, पीएका फोन पनि उठ्दैनन् । जनता र नेताबीचको सम्पर्क सूत्र यहीँबाटै कट हुन्छ ।
३) प्रशंसामात्रै सुन्ने लत
मानिस भएर जन्मेपछि हरेकले जीवनमा सबैभन्दा बढी व्यहोर्नु पर्ने पीडा आलोचनाको नै हुनुपर्छ सायद । को होला विवादरहित वा आलोचनारहित । जसले बढी काम गर्नुपर्छ आलोचनाको भारी पनि उसैले बढी बेहोर्नुपर्छ । अझ जनताको बीचमा गएर काम गर्न खोज्नेले त आफ्नो थालमा अपजसको भाग खानाको भन्दा ठूलो आउँछ भन्ने कुरा पहिल्यै आत्मसात गर्नुपर्छ । नेताजति नै असल भए पनि गाली पाउँछन् नै किनकी राम्रो काम नै गरे पनि सबै जनताको मन बुझाउन सकिँदैन ।
अझ हाम्रो जस्तो देशमा जहाँ स्रोत र साधनको उपलब्धताभन्दा आवश्यकता कयौं गुणा बढी छ, त्यहाँ जनताका चाहनाहरूलाई एकैपटक कसरी सम्बोधन गर्न सकिएला र ? त्यसमाथिको लाचार प्रणाली अनि भाइभारदारी र आसेपासे तरिकाले चलेको देश ! अझमाथि नेताहरूको अकर्मण्यता ! सत्ता र मन्त्री पद पाए मात्र विकास गरेर देखाउन सकिन्छ भन्ने मनोदशा ! त्यसैले आलोचना आउँछ र त्यसलाई राजनीतिक पेशाको अभिन्न अंगको रूपमा लिनु जरुरी देखिन्छ ।
जाँगर हुने हो भने हाम्रा सम्भावना बोकेका नयाँ नेताहरूले सफल नेता हुन र देशको मुहार फेर्न के गर्नु पर्ने रहेछ भन्ने कुरा बुझ्नका लागि लि क्वान यु को ‘फर्म थर्ड वर्ल्ड टु फस्ट वर्ल्ड’ भन्ने किताब र सी जीन पिङको ‘द गर्भनेन्स अफ चाइना’ भन्ने किताब पढे निकै लाभदायक हुनेछ ।
यदि तपाईंले प्रंशसा मात्रै पाइरहनु भएको छ भने मान्नुहोस कि तपाईं भाइ-भारदार, आसेपासे र तपाईंबाट आफ्नो स्वार्थ पूरा गर्न चाहने मतलबी व्यक्तिहरूको बीचमा हुनुहुन्छ । ती मतलबीहरूले तपाईँ र देशको भन्दा पहिला आफ्नो स्वार्थको दुनो सोझ्याउन थाल्छन् । वास्तवमा आलोचनालाई सकारात्मकरूपमा लिने हो भने यसले मानिसलाई अझ सरल, असल, सक्षम र सकारात्मक बाटोतर्फ डोर्याइरहेको हुन्छ । तर, हाम्रा नेताहरू आलोचनालाई त ढिम्कनै दिनुहुन्न भन्ने पक्षमा छन् । कोही साइबर सेना प्रयोग गर्ने, कोही अरिंगाल खन्याउने भने कोही आलोचनाको विरुद्ध घेराऊ, बन्दका धम्की वा कुटपिटमा समेत उत्रने ।
सीधै भन्नुपर्दा आलोचनाको रापताप सहन नसक्नेले राजनीतिकर्म नगर्दा बेस । कम्तीमा स्वास्थ्यको बचत हुन्छ । मनोसामाजिक समस्या कम आउन सक्छ । जनताले पनि अर्को नम्र र सहनशील नेता पाउने अवसर पाउँछन् । त्यसो त आफूले नगरेका गल्तीको प्रतिवाद नै नगर्ने भन्ने होइन तर त्यसको लागि पनि शिष्टता, सामाजिक मर्यादा वा निर्दिष्ट तरिका अवलम्बन गर्यो भने आफैंलाई सहज र सरल पर्ने हो । कम्तीमा आमनेताको जस्तो आफ्नो अमूल्य समय अर्काको आलोचना गरेर बिताउनु पर्दैन । आलोचना गर्दा हाम्रो दिमाग पनि नकारात्मक भैरहेको हुन्छ भने मनोविज्ञान पनि तनावपूर्ण भैरहेको हुन्छ जसले गर्दा श्रृजनात्मकता लगभग शून्य नै भएको हुन्छ । अनि त्यस्तो दिमागले कसरी जनताका पीडालाई राहत दिन सक्ला ? घाउमा मल्हम लगाउन सक्ला ?