आलोपालो प्रधानमन्त्रीको समझदारीमा अहिल्यै असमझदारी, माओवादी र कांग्रेसले स्वामित्व लिएनन् – Nepal Press

आलोपालो प्रधानमन्त्रीको समझदारीमा अहिल्यै असमझदारी, माओवादी र कांग्रेसले स्वामित्व लिएनन्

काठमाडौं । नयाँ आठदलीय गठबन्धनले गत शुक्रबार राष्ट्रपति कांग्रेसलाई दिने सहमति गर्दैगर्दा तीन दलका प्रमुख नेताहरु आलोपालो प्रधानमन्त्री बन्ने ‘जेन्टलमेन्ट एग्रिमेन्ट’ भएको खबर बाहिरिएको थियो । तर, उक्त अपुष्ट समझदारीको भविष्यलाई लिएर अहिल्यै आशंका उब्जिन थालेको छ ।

बालुवाटारमा शुक्रबार साँझ बसेको आठ दलको बैठकले राष्ट्रपति कांग्रेसलाई दिने सर्वसम्मत निर्णय गरेको थियो । त्यसबाहेक अर्को औपचारिक निर्णय केही भएको छैन । तर, आठ दलको बैठकपछि तीन दल (कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी) को शीर्ष नेतृत्वबीच अनौपचारिक छलफल भयो । सोही छलफलमा प्रचण्डपछि माधव नेपाल र त्यसपछि देउवा प्रधानमन्त्री बन्ने भद्र समझदारी भएको स्रोतको दाबी छ ।

नेकपा एस निकट स्रोतले भन्यो, ‘प्रचण्डपछि प्रधानमन्त्री बन्ने ग्यारेन्टी भएपछि नै नेपाल राष्ट्रपतिको दावेदारीबाट पछि हट्नुभएको हो ।’

स्रोतका अनुसार प्रचण्ड अढाई वर्ष, माधव नेपाल १ वर्ष जति र देउवा डेढ वर्ष प्रधानमन्त्री बन्ने समझदारी भएको छ । तर, अहिले कांग्रेस र माओवादीले भने त्यस्तो सहमतिप्रति अनभिज्ञता प्रकट गर्न थालेका छन् । नेकपा एसका अध्यक्ष माधव नेपालले भद्र सहमतिबारे पार्टीमा जानकारी गराए पनि अन्य दुई नेताले भने केही सीमित नेतालाई मात्रै बताएको बुझिएको छ ।

माओवादी वरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले आलोपालो प्रधानमन्त्रीको सहमतिबारे पार्टीलाई थाहा नभएको बताए ।
‘तीन नेताहरुबीच त्यस्तो कुराकानी भएको भए बेग्लै कुरा । तर, पार्टीगत तवरमा राष्ट्रपतिभन्दा बाहेक अर्को समझदारी भएको छैन’, उनले भने, ‘अध्यक्षज्यूले पनि त्यस्तो ब्रिफिङ गर्नुभएको छैन ।’

माओवादीका महासचिव देव गुरुङले पनि आलोपालो प्रधानमन्त्रीको सहमतिबारे थाहा नभएको बताए । उनले भने, ‘जसले सहमति भएको हो भनिरहेका छन् उसैलाई सोध्नुहोला । मलाई जानकारी भएन ।’

त्यसो भए प्रचण्ड नै पाँच वर्ष प्रधानमन्त्री रहने माओवादीको बुझाइ हो ? भन्ने प्रश्न गर्दा उनले फोन काटिदिए ।

यता नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पनि राष्ट्रपतिको विषयमा मात्रै सहमति भएको बताए । ‘प्रधानमन्त्रीबारे सहमति भएको होइन’, उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने ।

तर, नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डे भने शुक्रबार राति आलोपालो प्रधानमन्त्रीबारे भद्र सहमति भएको बताउँछन् । ‘ढुक्क हुनुस्, शीर्ष नेतृत्व तहमा सहमति भएको हो र समय आएपछि त्यसको कार्यान्वयन हुन्छ भन्नेमा हामी विश्वस्त छौं’, उनले भने ।

त्यस दिन बसेको आठ दलको बैठकमा पाण्डे पनि सहभागी थिए । उक्त बैठकमा पनि आलोपालो प्रधानमन्त्रीबारे छलफल भएको उनले उल्लेख गरे ।

‘आठै दल सहभागी भएको बैठकमा छलफल भएपछि सबैले तीन शीर्ष नेतालाई यो विषय टुंग्याउने जिम्मा दिइएको थियो । उहाँहरुले प्रचण्डपछि नेपाल र देउवा पालैपालो प्रधानमन्त्री बन्ने भद्र समझदारी गर्नुभएको मेरो जानकारीमा छ’, पाण्डेले भने ।

नेकपा एसकै कतिपय नेता-कार्यकर्ता भने एमालेसँग २ महिनाअघि गरेको सहमति नमान्ने प्रचण्डले अढाई वर्षपछि माधव नेपाललाई प्रधानमन्त्री बनाउलान् भनेर विश्वास गर्न नसकिने बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर