पल शाहका वकिल भन्छन्- सरकार सर्वोच्चमा नजाने आशा छ, उहाँले कसैप्रति प्रतिशोध राख्नुहुन्न
काठमाडाैं । अभिनेता पूर्णविक्रम शाह उर्फ पल शाहलाई पोखरा उच्च अदालतले सफाइ दिएपछि उनका फ्यान र शुभेच्छुकहरुमा खुशीयाली छाएको छ ।
बलात्कारजस्तो गम्भीर आरोपमा निर्दोष ठहर हुनु पलको व्यक्तिगत जीवनका लागि ठूलै राहत हो ।
पलका वकिल कमलामोहन वाग्ले उच्च अदालतले दिएको फैसलाले न्याय मिलेको बताउँछन् । आजसम्म जतिपनि शारीरिक तथा मानसिक यातना सहे पनि फैसलाले ठूलो राहत दिएको उनको भनाइ छ ।
‘उहाँ पूर्णरुपमा दोषमुक्त हुनुभएको छ । १ वर्षसम्म अनाहकमा जेल बस्नुपर्यो । तर, नेपालको कानूनमा यस्तोमा कुनै क्षतिपूर्तिको व्यवस्था छैन । तर, उहाँका लागि क्षतिपूर्तिभन्दा फैसला नै ठूलो कुरा हो,’ उनले भने ।
नवलपुर जिल्ला अदालतले पललाई अढाइ वर्ष जेल सजायका साथै ‘पीडित’लाई १० लाख रुपैयाँ क्षतिपूर्ति र २५ हजार जरिवाना सुनाएको थियो । तर, पलले क्षतिपूर्ति दिएका छैनन् । पीडित भनिएकी गायिकाले नै आफू कुनै आर्थिक क्षतिपूर्ति नलिने घोषणा गरेकी थिइन् ।
यता, तनहुँ जिल्ला अदालतले पललाई सफाइ दिने फैसला गरेको थियो । उक्त फैसलाका विरुद्ध सरकारले पुनरावेदन गर्ने सम्भावना अझै बाँकी छ । यस्ता मुद्दामा सरकारी पक्षबाट एक तहमाथि पुनरावेदन गर्नैपर्ने कानूनी व्यवस्था रहेको छ । त्यस्तो पुनरावेदन आएको खण्डमा सामना गर्ने वाग्ले बताउँछन् ।
‘हामीलाई आशा छ कि यो यहीँ टुंगिन्छ । तर, पुनरावेदन गरिए पनि हामी विश्वस्त छौं,’ उनले भने ।
उच्च अदालतको फैसलामाथि भने सर्वोच्चमा पुनरावेदन नलाग्ने उनी बताउँछन् । ‘यस्ता मुद्दा सामान्यतया उच्चमा नै टुंगिन्छन् । सर्वोच्चमा जाने भनेको मुद्दा दोहोर्याइ पाउँ (दोपा)मा जाने हो । सम्भवतः सरकार सर्वोच्चमा नजाला,’ उनले भने ।
फैसलाबाट जेलमुक्त भएपछि पलले आफूलाई आरोप लगाउनेविरुद्ध कुनै कदम चाल्छन् ? वाग्ले त्यस्तो सम्भावना नरहेको बताउँछन् ।
‘उहाँले कसैप्रति पनि प्रतिशोधको भावना राख्नुहुन्न । हामीले पनि त्यही सल्लाह दिनेछौं । कोहीविरुद्ध उजुरबाजुर गर्ने काम हुँदैन । उहाँ आफ्नो करिअरमा नै केन्द्रित बन्नुहुन्छ,’ वाग्लेले भने ।