म किन लेख्छु ? घरीघरी आफैंलाई सोध्छु – Nepal Press

म किन लेख्छु ? घरीघरी आफैंलाई सोध्छु

उपत्यका भएर होला, काठमाडौंबाट बाहिर हेर्न गाह्रो छ । दृष्टिलाई अहङ्कार र भ्रमका पहाडहरुले छेकिदिन्छन् । काठमाडौंले बाहिर हे¥यो भने पनि काठमाडौं नै देख्न खोज्छ । त्यसैले काठमाडौंमा हुनु र नहुनुको गहिरो अर्थ छ । अपवादबाहेक काठमाडौंमा नहुनु भनेको नहुनु नै हो । तर, गजब के भयो भने यसपटक म काठमाडौं बोलाइएँ ।

तर, काठमाडौंमा मेरो यो उपस्थिति काठमाडौंले मलाई देखेर होइन, मलाई यहाँ बोलाएको त प्रवासी नेपाली श्रमिकहरुको संगठन अनेसास कतार च्याप्टरले हो । त्यसैले सर्वप्रथम कतार च्याप्टरप्रति आभार व्यक्त गर्दछु । जीवनभरि नेपाली साहित्यलाई माया गर्नुभएका दिवंगत शिखर वैद्यप्रति हार्दिक श्रद्घाञ्जली व्यक्त गर्दछु ।

अनेसास शिखर पुरस्कार जस्तो महत्तम पुरस्कारले सम्मानित भएको छु । थाहा छ, यो यथार्थ हो । तर पनि यो क्षण मलाई एउटा सुखद सपना जस्तो लागिरहेछ । यसको कारण छ । कारणमा मूलतः मेरो लेखनको पृष्ठभूमि छ ।

झूटो बोलेको छु र कथित धर्मले भने जस्तै कुनै नर्ककुण्ड कतै छ भने म त्यसमा डुबुँ । तर, कसम खाएर भन्छु- मन निचोरेर लेखिरहँदा मेरा आँखामा कुनै पुरस्कारको प्रतिविम्ब कहिल्यै थिएन । मेरा आँखामा त झलझली केवल तिनै मानिसहरुका तस्वीर थियो, जसलाई मैले अनायासै प्रेम गर्न पुग्थें । कविता लेखिरहँदा मेरो मनमा कुनै पद, पदवी र सम्मानप्रतिको आशक्ति होइन, यात्रामा भेटिएका कथाका पात्रहरुप्रतिको अनुराग र प्रेममात्रै ओहोरदोहोर गरिरहन्थ्यो ।

त्यो यात्रामा मैले जीवनका अनेक रंगहरु भेटें । अव्यवस्थाको आँधीले उडाएका सपनाहरु देखें । अँधेर-राजले कुल्चिएका अनुरागहरु भेटें । जीवनको कठोर सत्य र नाङ्गोपन भेटें ।

अनेक पात्रहरु भेटिने र तिनका कथाहरुलाई आफ्नो सिर्जनामा गाँस्न मलाई बाध्य पार्ने त्यो यात्रा मेरो पेशासँग जोडिएको थियो । म ठान्थें- एउटा विद्युत इन्जिनियर हुनुको अर्थमा यो देशको कुनाकाप्चासम्म विद्युतको उज्यालो पुर्‍याउनुमा मात्रै मेरो जीवनको अर्थ थियो । वर्षौंदेखि टुकीको मधुरो दियोमा होमवर्क गर्न र किताब पढ्न बाध्य नानीहरुले विद्युतको चहकिलो उज्यालोमा रमाइरमाइ लेखपढ गरेको देख्दा मलाई अनौठो र अपूर्व आनन्द आउँथ्यो । आफ्नो जीवन सार्थक भएको लाग्थ्यो ।

तर, मर्चबारदेखि मुस्ताङसम्म, दैलेखदेखि दार्चुलासम्म, दोलखादेखि संखुवासभासम्म, रोल्पादेखि डोल्पासम्म, पाल्पादेखि जुम्लासम्मको त्यो अविश्रान्त यात्रामा मैले आनन्दमात्रै होइन, पीडा पनि पाएँ । सुखको अनन्त तृष्णा र दुःखको महासागर भेट्टाएँ । त्यो यात्रामा मैले जीवनका अनेक रंगहरु भेटें । अव्यवस्थाको आँधीले उडाएका सपनाहरु देखें । अँधेर-राजले कुल्चिएका अनुरागहरु भेटें । जीवनको कठोर सत्य र नाङ्गोपन भेटें ।

त्यसपछि मैले कविता लेख्न थालें । निबन्ध लेख्न थालें ।

म किन लेख्छु ? घरीघरी आफैंलाई सोध्छु । र, आफैंले उत्तर दिन्छु ।

म कुनै महान लेखक होइन । त्यसैले म स्वायन्त सुखायका निम्ति लेख्दिनँ । म स्वच्छन्द लहड, नाम, दाम र सम्मानका लागि लेख्दिनँ । मेरो लेखनको निश्चित अभिप्राय छ । उद्देश्य छ र निश्चित लक्षित वर्ग छ । त्योे लक्षित वर्ग भनेको मैले प्रेम गर्ने अन्तिम किनारका मानिसहरु हुन् । ती मानिसहरु जसका ससाना आकाङ्क्षा र सपना, ससाना राग र अनुराग, ससाना आवश्यकता र अधिकार कथित धर्मद्वारा निर्देशित राज्य व्यवस्थाले छिन्नभिन्न पारेको छ । दलाल क्रूर शासन व्यवस्थाले तिनको इतिहासमाथि त अन्याय गर्‍यो गर्‍यो, तिनको वर्तमानमाथि पनि अनवरत घात गरिरहेको छ । अनि, अवच्छिन्न पीडाले तिनका ओठबाट हरदम निराशाको सुस्केरा निसृतः भइरहेको छ ।

जीवन यात्रामा भेटिएका अनेक पात्रहरुले मलाई लेख्न लगाउँछन् । अनि म जानी नजानी लेख्छु । किनभने म ती पात्रहरुलाई प्रेम गर्दछु । मैले मेरा सारा कविताहरु यात्रामा भेटिएका तिनै पात्रहरुबाट टिपेको हुँ ।

शासकले तिनको त्यो सुस्केरामा आत्मसमर्पणको आवाज सुन्छ, म भने क्रान्तिको व्यथित सङ्गीत सुन्छु । आँधीअघिको मौनताको सङ्गीत सुन्छु । तर, देख्छु- त्यो सङ्गीत एक्लो छ । बिचरा एकदमै एक्लो छ । एकदमै उदास छ । सोच्छु- अब त्यो सङ्गीतमा जीवनको गीत भर्नुपर्दछ ! हो, त्यही गीत पूरा गरेर त्यही सङ्गीतमा भर्ने प्रयास मेरो लेखनको अभीष्ट हो । त्यही गीतको खोज मेरो कविताको उद्देश्य हो ।

जीवन यात्रामा भेटिएका अनेक पात्रहरुले मलाई लेख्न लगाउँछन् । अनि म जानी नजानी लेख्छु । किनभने म ती पात्रहरुलाई प्रेम गर्दछु । मैले मेरा सारा कविताहरु यात्रामा भेटिएका तिनै पात्रहरुबाट टिपेको हुँ । मैले मेरा कविताहरु नदी किनारमा गिट्टी कुटिरहेका नानीहरुका रक्ताम्मे औंलाहरुबाट टिपेको हुँ । देउरालीमा तोक्माको भरमा भारी अड्याएर सुस्केरा काडिरहेका भरियाहरुका चर्चरी फुटेका पाइतलाबाट टिपेको हुँ । जुगजुग पहिले साम्राज्यहरुको युद्धमा हराइगएको लाहुरेले आफ्नी मायालुसँग ‘दशैंमा फर्की आउने’ गरेको बाचाबाट टिपेको हुँ । कफिनमा बन्द हुनुअघि अनकन्टार मरूभूमिमा भेंडा चराइरहेको मजदुरको असहाय, पीडापूर्ण र एक्लो अन्तिम उच्छवासबाट टिपेको हुँ । विदेशिएका सन्तानलाई कुर्दाकुर्दै अस्ताचलको घामजस्ता बनेका असहाय आमाबाबाको आँखाबाट खसिरहेका आँसुबाट टिपेको हुँ । हिरासतमा मारिए पनि बेपत्ता ठानिएका लावारिस शहीदहरुका अनाथ नानीहरुका अतृप्त इच्छाहरुको पीडा पोखरीबाट टिपेको हुँ ।

म देखिरहेछु- यो अद्वितीय समारोहमा खाडीमा काम गरेर फर्केका कैयौं श्रमिक साथीहरु पनि सहभागी हुनुहुन्छ । प्रातः स्मरणीय शिखर वैद्य आफै कतारमा कार्यरत हुनुहुन्थ्यो । यस समारोहका अध्यक्ष तथा अति नै सक्रिय र सिर्जनशील, नयाँ पुस्ताका लागि प्रेरणाका स्रोत रेगिस्तानी कवि आदरणीय तीर्थ संगम राई अझै पनि कतारमै श्रम गरिरहनु भएको छ । र, यहाँहरुलाई निवेदन गरुँ, म आफैं पनि सन् २००६ देखि २००९ सम्म कतारमै श्रम गरिरहेको थिएँ । मैले खाडीको घाम सहेको छु, जाडो भोगेको छु । रेगिस्तानको दुःख, संघर्ष र त्यो संघर्षको जगमा उभिन खोजिरहेको उज्याला सम्भावनाहरु पनि देखेको छु ।

पसिना नबग्ने जिन्दगी, जिन्दगी होइन भन्ने कुरामा हामी स्पष्ट हुनुपर्दछ । देशमा होस् कि परदेशमा, पसिना त बगाउनु नै छ । तर, त्यही पसिनाको पाइन हालेर हामीले सिर्जनाहरुलाई अझै धारिलो बनाउनु छ भन्ने मन्त्रलाई बिर्सिनु हुँदैन ।

मैले खाडीमा कवितामा आँसु होइन, बिस्तारै बिस्तारै आक्रोश झरेको देखेको छु । विस्फोटक बनेर मनको उकुसमुकुस पड्केको देखेको छु । साँझ अबेलासम्म दोहाको तरवार गेटदेखि कविता कुनासम्म चेतनाको टुकी बालेर कविताको जुलुस हिँडेको देखेको छु ।

प्रवासी श्रमिक मित्रहरु हो ! पसिना नबग्ने जिन्दगी, जिन्दगी होइन भन्ने कुरामा हामी स्पष्ट हुनुपर्दछ । देशमा होस् कि परदेशमा, पसिना त बगाउनु नै छ । तर, त्यही पसिनाको पाइन हालेर हामीले सिर्जनाहरुलाई अझै धारिलो बनाउनु छ भन्ने मन्त्रलाई बिर्सिनु हुँदैन । र, मञ्जुश्रीको तरवारले चोभारको डाँडोलाई काटेजस्तै कविताको त्यही धारले पीडा पोखरी जमाइरहेको पहाडलाई काट्नु छ । रेमिट्यान्स भित्र्याउने ध्याउन्नामा वर्षौंदेखि देशलाई पक्षघात दिइरहेको मन्दविष जस्तो शासकको जहरलाई काट्नु छ । सधैं सधैं ऐँठनाधीशजस्तो देखिने सत्ताको कहरलाई काट्नु छ ।

अन्त्यमा, अनेसास कतार च्याप्टर र अनेसास शिखर पुरस्कार बोर्डप्रति आभार व्यक्त गर्दछु । प्रवासमा पसिनाको नदीमा मिसिन सिर्जनाको झरना बगिरहेका प्रवासी स्रष्टाहरुको भावनाप्रति ऐक्यबद्धता प्रकट गर्दछु । मलाई सधैं सधैं प्रेम र प्रेरणा दिने मेरा बाबाआमा, छोराछोरी, जीवन संगिनी रेनुजी र समस्त प्रियजनहप्रति सतत श्रद्धा र प्रेम अर्पण गर्दछु ।

(अनेसास शिखर पुरस्कार २०७९ बाट सम्मानित कवि गिरि श्रीस मगरले पुरस्कार अर्पण समारोहमा व्यक्त गरेको मन्तव्य । -सं.)


प्रतिक्रिया

2 thoughts on “म किन लेख्छु ? घरीघरी आफैंलाई सोध्छु

  1. मर्मस्पर्शी भावना अभिव्यक्त भएकाे रहेछ । पुरस्कृत दाजु र पुरस्कार प्रदान गर्ने संस्थालाई धेरै सम्मान ब्यक्त गर्दछु । जहाँ रहेपनि जहाँ भएपनि हामी ,हाम्रै कथाव्यथा लेख्छाैं,सुन्छाैं ।

  2. मेरो लेखनको निश्चित अभिप्राय छ । उद्देश्य छ र निश्चित लक्षित वर्ग छ । त्योे लक्षित वर्ग भनेको मैले प्रेम गर्ने अन्तिम किनारका मानिसहरु हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *