सदनमा परराष्ट्रमन्त्रीले भनिन्- नबोलाएका विदेशी अधिकारी नेपाल भ्रमणमा आउँदा राजनीतिक वातावरण खलबलियो (भिडिओ) – Nepal Press

सदनमा परराष्ट्रमन्त्रीले भनिन्- नबोलाएका विदेशी अधिकारी नेपाल भ्रमणमा आउँदा राजनीतिक वातावरण खलबलियो (भिडिओ)

क्याबिनेटको निर्णय लत्याएर जेनेभामा अर्कैलाई पठाइएकोमा उठाइन् प्रश्न

काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले नबोलाएका विदेशी अधिकारी नेपाल भ्रमणमा आउँदा राजनीतिक वातावरण खलबलिएको टिप्पणी गरेकी छन् । सोमबारको राष्ट्रियसभा बैठकमा उनको यो  सम्बोधन फेरिएको राजनीतिक कोर्षतर्फ लक्षित देखिन्थ्यो

विदेशी प्रतिनिधिको भेटमा भेटहरूमा अनिवार्य परराष्ट्र मन्त्रालयको उपस्थिति हुनुपर्ने कुरा मन्त्रिपरिषद्बाट निर्णय गराएको स्मरण गराउँदै उनले दलका नेताहरूले कार्यान्वयनमा इमान्दारिता देखाउन नसकेको पनि बताइन् ।

उनले संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को ५२औँ सभामा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै पूर्व कानूनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालालाई पठाउने सरकारको निर्णयको कानूनी वैधतामाथि पनि प्रश्न उठाएकी छन् ।

परराष्ट्रमन्त्री पौडेलले मन्त्रिपरिषद्को निर्णय अनुसार आफूले नेतृत्व गर्दै ५ सदस्य टोली आइतबार जेनेभा जाने तय भएपनि प्रधानमन्त्रीको निर्देशनअनुसार आफू जान नपाएको बताइन् ।

मन्त्रिपरिषद्ले विज्ञको रुपमा पूर्वकानूनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालालाई आफूसँगै टोलीमा जाने निर्णय गराएपनि अन्तिममा कोइरालालाई नै नेपालको नेतृत्व दिइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन् ।
कोइरालालाई सरकारको सल्लाहकारका रुपमा नियुक्ति गरेर सल्लाहकारको हैसियतमा पठाइएको सुनेको भन्दै सल्लाहकार नियुक्तिका लागि औपचारिक निर्णय नभएको मन्त्री पौड्यालले जानकारी गराइन् ।

मन्त्री पौड्यालले भनिन्, ‘जसलाई विज्ञ भनेर हामीले टोलीमा समाहित गरेका थियौँ । उहाँले नेपालको टोलीको नेतृत्व गर्ने भन्ने खालको कुरा आएको छ । तर, औपचारिक रूपमा यसको निर्णय भइसकेको मलाई थाहा छैन । र सल्लाहकारमा नियुक्त गरेर अख्तियारी दिने हो कि भन्ने कुरा पनि हामीले सुनेका छौँ । तर यसको कानूनी हैसियत के हो ? कार्यकारीले नेतृत्व गर्ने सभामा सल्लाहकारले नेतृत्व गर्न
मिल्छ कि मिल्दैन ? अथवा विज्ञले नेतृत्व गर्न मिल्छ कि मिल्दैन ? यस्ता केही कानूनी कुराहरु छन् । जसलाई प्रष्ट पार्नुपर्ने जरुरी हुन्छ ।’

नेपालको संक्रमणकालिन न्यायको सम्बन्धमा बेला बेलामा प्रश्न उठ्ने गरेको भन्दै उनले त्यसलाई पीडितमैत्री बनाएर टुंग्याउनुपर्नेमा जोड दिइन् । मानव अधिकारको क्षेत्रमा नेपालले अन्तर्राष्ट्रिय विश्वसनीयता
गुमाउनु नहुने बताइन् ।

मन्त्री पौडेलले आफू परराष्ट्रमन्त्री भएको ४२ दिन भएको स्मरण गराउँदै सानो काम गरेर ठूलो प्रभाव पर्ने खालको धेरै काम गरेको बताएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर