सन्दीपलाई भेटेको भोलिपल्ट किशोरीले भनेकी थिइन्- मेरो जीवनकै सबैभन्दा खुशीको दिन
अस्ति मैले सन्दीप लामिछानेलाई अंकमाल गरेँ भन्दै साथीलाई टेक्स्ट म्यासेज
काठमाडौं । सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई थुनामा राख्नु नपर्ने तथा विदेश जान लगाइएको रोक फुकुवा गर्न आदेश दिँदा केही नयाँ तथ्यहरुको उजागर गरेको छ ।
बलात्कार भएको भनिएको भोलिपल्ट पीडित किशोरीले मोबाइलमा लेखेको म्यासेजलाई सर्वोच्चले आफ्नो फैसलामा उद्धृत गरेको छ ।
सर्वोच्चको फैसलामा उल्लेख भए अनुसार सन्दीपले किशोरीलाई आफ्नो गाडीमा राखेर नगरकोट लगेका थिए । अनि, त्यही रात उनीहरु काठमाडौं फर्केर होटल काठमाडौं इनको कोठा नम्बर ३०५ मा बसेका थिए ।
प्रत्यक्षदर्शीको बयान तथा प्रमाणहरुको हावाला दिँदै सर्वोच्चले होटलमा आउँदा र जाँदा दुवैजना सहज अवस्थामा देखिएको उल्लेख गरेको छ । साथै सन्दीपले नै गाडीमा राखेर किशोरीलाई होस्टलसम्म पुर्याइदिएको पनि फैसलामा जनाइएको छ ।
‘भोलिपल्ट प्रतिवादीको गाडीमा बसी पिडितको होस्टल अगाडि गई गाडीबाट ओेर्लेको देखिन्छ,’ सर्वोच्चले भनेको छ, ‘होटलको सिसिटीभी फुटेज पेनड्राइभबाट खोल्दा त्यसमा सहजताका साथ आएको र गएको देखिएको छ । साथै, कागज गर्ने व्यक्तिले पनि बलात्कारको कुरा सञ्चारमाध्यमबाट थाहा पाएको बताएका छन् ।’
अदालतले पिडितको यौनीमा घाउ देखिएको तर, वीर्यको प्रमाण नदेखिएको फैसलामा जनाएको छ । फैसला सुनाउनुअघि सर्वोच्चका न्यायाधीसद्वयले सन्दीपको खोजी गरेका थिए । तर, आज सन्दीप अदालतमा उपस्थित थिएनन् । त्यसपछि सन्दीपका वकिल सरोज घिमिरेले न्यायधीसहरुसँग कुराकानी गरेर फर्किए ।
सर्वोच्चले अन्य आधारहरु पनि प्रस्तुत गर्दै त्यसरात बलात्कार भएको नहुन सक्ने आशय प्रकट गरेको छ ।
‘पीडितको रुममेटको बकपत्र हेर्दा प्रतिवादीलाई भेट गरेको र नगरकोट गएको भोलिपल्ट पिडिताले ‘लाइफमा सबैभन्दा खुशीको दिन भएको’ बताएकी थिइन् । उनले सन्दीपको नामको जर्सी ल्याएर ल्यापटपमा खुशी भएर हुटिङ समेत गरेकी थिइन् ।
उनको मोबाइलबाट ‘हि ड्रप मि एट माइ स्पट एन्ड आइ एम सेफ’ (उसले मलाई मेरो ठाउँमा ड्रप गरिदियो र म सुरक्षित छु) भनेर म्यासेज टेक्स्ट गरेको देखिन्छ । वारदातपछि पठाएको ‘आइ जस्ट हग सन्दीप लामिछाने द डे बिफोर स्टरडे’ (मैले अस्ति मात्रै सन्दीप लामिछानेलाई हग गरेँ) भनि टेक्स्ट पठाएको समेत देखिन्छ ।’
घटनापश्चात पनि प्रतिवादी र पिडिताबीच ह्वाट्सएप र स्न्यापच्याटमा पटकपटक वार्ता तथा म्यासेज आदानप्रदान दखिएको फैसलामा उल्लेख छ ।