सर्वसाधारण ठग्ने नयाँ आइडियाः पावर बैंकको खोलमा माटो – Nepal Press

सर्वसाधारण ठग्ने नयाँ आइडियाः पावर बैंकको खोलमा माटो

रुपन्देही । ग्रामीण क्षेत्रमा भारतीय नागरिकले सर्वसाधारण ठग्ने नयाँ नयाँ तरिका अपनाएका भेटिन्छन् । पछिल्लोपटक चिठ्ठाको नाममा पावर बैंक पर्यो भनी पावर बैंकको खोलभित्र गिलो माटो राखी बिक्री गर्ने दुई जना भारतीय रुपन्देहीको सालझण्डीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर जिल्ला, चन्दनताय गाउँ बस्ने २८ वर्षीय विवेक कुमार भट्ट र सोही ठाउँका २५ वर्षीय सर्वेश कुमार भट्ट रहेका छन् ।
इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार उनीहरुको साथबाट एमआई २० हजार मेघा एम्पीएर लेखिएको पलाष्टिकको बट्टा माटोको ‘पावर बैंक’ ६ थान, डाटा केबल ६ थान, साडी, कुर्ता, सर्ट पाईन्ट एक-एक थान, स्क्रयाच कुपन ७९ थान पक्राउ गरिएको छ । यसैगरी ठगी गर्न प्रयोग गरिएको प्रेस लेखिएको यूपी ५५ एएफ १५१९ नम्बरको स्पेलेन्डर मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसरी गरेका थिए ठगी

आइतबार दिउँसो सैनामैना नगरपालिका–१० सालझण्डी झिमझिमेस्थितमा भारतीय नम्बरको मोटरसाइकल अगाडि पछाडि प्रेस लेखिएको मोटरसाइकल आउँछ ।

मोटरसाइकलमा आएका दुई जना मानिसहरुले नेपाली ५० को चिठ्ठा काटेमा केही कपडा र एमआई कम्पनीको मोवाईलको ओरिजिनल पावर बैंक पर्ने भनि मानिसहरुलाई आकर्षित गर्छन् । प्रलोभनमा परी स्थानीयले चिठ्ठा किन्छन्, ५० को चिठ्ठा स्क्रयाच गर्दा सबैमा पावर बैंक पर्छ । ती भारतीयहरुले पहिले नै सेट गरिएको कुपनहरु पावर बैंक पर्नेगरी बिक्री गरी गरेका हुन्छन् ।

उक्त पावर बैंक परेपछि पुनः नेपाली रु १२०० रुपैया दिनु पर्ने र सो पावर बैंकको बजार मुल्य ३२०० पर्ने उनीहरुले बताउँछन् । उनीहरुले पावर बैंकमा हाल चार्ज नभएको र घरमा लगी ४-५ घण्टा चार्ज गरेपछि मात्र काम गर्छ भनि मानिसहरुलाई बताउँछन् । ५० रुपैयाँको चिठ्ठामा ३२ सय पर्ने चिज १२ सयमा पाउने भएपछि खुसीहुँदै घरमा लगेर मानिसहरुले पावर बैंक घरमा लगेर घण्टौ चार्ज गर्दा पनि चार्ज नभएपछि आफू ठगिएको शंका गर्न थाल्छन् ।

चार्ज नभएको पावर बैंकलाई खोलेर हेर्दा भित्र माटोमात्रै भेटिएपछि उनीहरुलाई बल्ल मात्रै आफू ठगिएको पत्ता लाग्छ । आफू ठगिएपछि प्रहरीमा उजुरी आएसँगै अनुसन्धानका लागि पक्राउ गरिएका भारतीयको साथबाट झुक्क्याउन राखिएको सामग्रीहरु फेला परेको हो ।

उनीहरुलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले यस्ता अपरिचित व्यक्तिले गरेका कामहरुबाट सर्तक रहन आग्रह गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *