मुख्यमन्त्रीलाई कैदी बन्दीको गुनासो- सुत्ने ठाउँ छैन, अत्यावश्यक कुरामा समेत समस्या भयो
पोखरा । कास्की कारागारमा रहेका कैदी बन्दीहरूले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई कारागारमा बसोबासको उचित व्यवस्थापन नभएको गुनासो गरेका छन् ।
कारागार निरीक्षण गर्न गएका मुख्यमन्त्री अधिकारीलाई कैदी बन्दीहरूले कारागारमा क्षमताभन्दा बढी कैदी बन्दी रहेकाले सुत्ने ठाउँको अभाव भएको गुनासो गरेका हुन् ।
कैदी बन्दीले क्षमताभन्दा बढी कैदी बन्दी भएकाले स–साना कोठामा कोच्चिएर बस्नुपर्ने बाध्यता भएको कास्कीका कारागार प्रमुख भीमराज कोइरालाले बताए । कैदी बन्दीको बसोबासको व्यवस्थापनमा सहजीकरण गरिदिन गरिदिन समेत उनले आग्रह गरे ।
कारागार प्रमुख कोइरालाले मुख्यमन्त्री अधिकारीलाई कारागारमा क्षमताभन्दा बढी कैदी, बन्दी रहेकाले त्यसको व्यवस्थापन गर्न संघ सरकारसमक्ष समन्वय गरिदिन अनुरोध गरे ।
मुख्यमन्त्री अधिकारीले कारागारको सबै ब्लकमा पुगेर कैदी, बन्दीलाई भेटी गुनासो सुने ।
कैदीबन्दीहरुले समयानुकूल सिधा खर्चको कमी भएको तथा सुरक्षा, सरसफाइ, बिजुली, शौचालय, पानीको प्रयोग, स्वास्थ्य परीक्षण जस्ता अत्यावश्यक कुरामा समेत समस्या रहेको मुख्यमन्त्री अधिकारीलाई ध्यानाकर्षण गराए ।
कारागारमा खेलकुद सामग्री, शौचालय र पुस्तकालय अभाव रहेको र मनोरञ्जनको कुनै व्यवस्था नभएको तथा सीपमूलक तालिमको व्यवस्था नभएको कैदीबन्दीहरुले दुखेसो पोखे ।
मुख्यमन्त्री अधिकारीले कारागार व्यवस्थापन संघ सरकारको भएता पनि प्रदेश सरकारले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘सबै कारागारको सञ्चालन तथा व्यवस्थापन संघ सरकारको जिम्मामा पर्छ,’ मुख्यमन्त्री अधिकारीले भने, ‘कारागारमा रहेका कैदी बन्दीलाई सही रूपमा व्यवस्थापन गर्नका लागि संघ सरकारसँग नियमित रूपमा समन्वय र सहकार्य गरिनेछ ।’
मुख्यमन्त्रीले कारागारमा भान्सा, बस्ने ठाउँ र कैदी बन्दीका व्यक्तिगत समस्या प्रदेश सरकारलाई लिखित रूपमा उपलब्ध गराउन आग्रह गरे ।
कास्की कारागारमा महिला ब्लकमा ४६ महिला छन् । पुरुषतर्फ क ब्लकमा ३ सय ४२ र ख ब्लकमा ३ सय ६८ पुरुष गरी कास्की कारागारमा कुल ७ सय ६३ कैदी, बन्दी छन् ।
गण्डकी प्रदेशका मुख्य न्यायाधीवक्ताले कारागार नियमित रूपमा निरीक्षण गरी सुधारको लागि प्रतिवेदन सरकारसमक्ष पेश गर्ने प्रचलन छ ।
प्रदेश सरकारको तर्फबाट समेत बेला बखत कारागार निरीक्षण हुँदै आएको छ ।