‘कमेडी क्लब’मा ‘छक्का पञ्जा’को कब्जा, ‘छड्के’ आएन कि इन्ट्री पाएन ?
काठमाडौं । अहिले सर्वाधिक हेरिने टेलिभिजन रियालिटी शोमा पर्छ- कमेडी क्लब विथ च्याम्पियन । नयाँ पुस्ताका प्रतिभाशाली कमेडीयनहरुको जमघटले यो कार्यक्रमलाई दिनप्रतिदिन लोकप्रिय बनाइरहेको छ ।
दर्शकहरुको आकर्षण बढेसँगै कमेडी क्लवलाई नयाँ रिलिज हुन लागेको नेपाली चलचित्रको प्रमोसनका लागि पनि निर्माता-निर्देशकहरुले उपयोग गरिरहेका छन् ।
पछिल्लो समय बजारमा आएका अधिकांश चलचित्रले यो कार्यक्रमलाई प्रमोसनका लागि रोजेका गरेका छन् । चलचित्रका निर्माता-निर्देशक र कलाकारहरु यो शोमा गएर कलाकारहरुसँगै रमाइलो गर्ने गर्छन् ।
आउँदो शुक्रबार दुईवटा नयाँ चलचित्र एकसाथ रिलिज हुँदैछन्- छक्का पञ्जा ४ र छड्के २ । सुपरहिट फिल्मको सिक्वेल भएकाले छक्कापञ्जा ४ र सुपरस्टार अनमोल केसीको फिल्म भएकाले छड्के २ दुवैमा दर्शकको व्यापक चासो छ ।
यी दुई फिल्ममध्ये कमेडी क्लवमा छक्का पञ्जा-४ लाई ‘ब्याक टु ब्याक’ स्थान दिइएको छ । यस शोको तीन वटा एपिसोडमा छक्कापञ्जा ४ का टिम मेम्बरहरु आएर फिल्म प्रमोसन गरिसकेका छन् ।
४७ औं एपिसोडमा चलचित्रको गीतकार संगीतकार गायिका र निर्मल शर्मा आएका थिए । ४८ औं एपिसोडमा ग्याप भयो । ४९ औं एपिसोडमा नीर शाह, बुद्धि तामाङ र राज आचार्य आए । फेरि ५० औं एपिसोडमा दिपकराज गिरी, बेनिशा हमाल, माग्ने बुढालगायत आएका छन् ।
फागनु १९ गते नै रिलिज हुन लागेको ‘छड्के’का टिमबाट भने अहिलेसम्म कार्यक्रममा कसैको उपस्थिति देखिएको छैन ।
यो शोमा दिपाश्री निरौला ‘अध्यक्ष’ को भूमिकामा छिन्, जो छक्का पञ्जा ४ कि एक निर्मात्री हुन् । उनकै प्रभावले गर्दा पनि लगातार छक्कापञ्जाको प्रमोसन भइरहेको हो कि भन्ने दर्शकको अनुमान छ ।
छड्के २ का निर्माता प्रशान गिरी गत माघमा सो रियालिटी शोका निर्मातासँग आफूहरुको कुराकानी भएको बताउँछन् । त्यसबेला आफूहरुले समय दिन नसकेको उनको भनाइ छ ।
‘माघको लास्ट विकतिर बोलाउनुभएको थियो, हामी बाहिर भएकाले त्यो बेला भ्याएनौं । पछि हामीले जान खोजेका थियौं । तर, उहाँहरुले त्यति इन्ट्रेस्ट दिनुभएन,’ उनले भने ।
आफ्नो चलचित्रको यत्तिकै पनि प्रमोसन भइरहेकाले यसलाई चिन्ताको विषयका रुपमा नलिएको गिरीले बताए ।
‘हामीले राम्रो कन्टेन्ट दिएका छौं, त्यसैले दर्शकहरु हलसम्म आउनुहुन्छ भन्ने विश्वास छ । फेरि अनमोल केसी भइसकेपछि इनिसियल ब्यापारको त्यति चिन्ता हुँदैन । त्यसपछि फिल्म टिकाउने भनेको त माउथ पब्लिसिटीले नै हो,’ उनले भने ।
यस्तो पक्षपात किन ???