स्कुटर चोरलाई चिनजानकै आधारमा दाङमा डीएसपीले दिए उन्मुक्ति – Nepal Press

स्कुटर चोरलाई चिनजानकै आधारमा दाङमा डीएसपीले दिए उन्मुक्ति

दाङ । दाङ प्रहरीले स्कुटर चोरीमा संलग्न युवालाई चिनजानको आधारमा मुद्दा नचलाई उन्मुक्ति दिएको खुलेको छ । चोरहरूलाई बचाएको आरोप लागेपछि लुम्बिनी प्रदेश प्रहरी कार्यालयको छानबिन टोलीले उक्त निष्कर्ष निकालेको हो ।

कार्यालय प्रमुखकै निर्देशनमा पीडितकै सहमति लिएर प्रहरीले स्कुटर चोरलाई चिनजानका आधारमा मुद्दा नचलाई छोड्न निर्देशन दिएको निष्कर्षसहित समितिले प्रहरी प्रमुख डीआईजी टेकप्रसाद राईलाई प्रतिवेदन बुझाइसकेको छ । पीडितले पनि स्कुटर चोर आफन्त भएकोले मुद्दा नचलाउन भनेको र प्रहरीले त्यसमा सहजीकरण गरेर मुद्दा मिलाइदिएको छानबिन समितिले निष्कर्ष निकालेको डीआईजी राईले बताए ।

उनले भने, ‘कार्यालय प्रमुखकै निर्देशनमा स्कुटर चोरलाई मुद्दा नचलाई छोड्ने काम भएको छ, छानबिन प्रतिवेदन अध्ययन गर्दैछु, समितिले औल्याएका कमजोरीअनुसार नै सुरक्षा अधिकारीलाई विभागीय कारबाही हुन्छ, प्रहरी प्रधान कार्यालयबाट गर्नुपर्ने कारबाहीमा मैले सिफारिस नै गर्छु, प्रहरीको शंकास्पद गतिविधिले संगठन नै बदनाम गर्ने काम भयो ।’

त्यस वेला एसपी वीरबहादुर वली बिदामा बसेका थिए । निमीत्त प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका डीएसपी राजन गौतमले स्कुटर चोरलाई छोड्न निर्देशन दिएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । डीआईजी राईले स्कुटर चोरलाई प्रहरीले नै संरक्षण गरेको सन्देश प्रवाह भएकाले यसमा प्रहरी संगठनले गलत मनसाय राखेर काम गर्ने प्रहरी अधिकारीलाई कारबाही हुने बताए ।

गएको शुक्रबार दिउँसो साढे १ बजे नोवेल ट्रेडिङ प्रालिको घोराही-१५ बीपीचोकको टीभीएस शोरुमबाट नचिनेका व्यक्तिले टीभीएस स्कुटर लगेपछि शोरुम सञ्चालकले शोरुमबाट स्कुटर चोरी भएको भन्दै सामाजिक सन्जालमा आक्रोशसहित लेखेका थिए । शोरुम सञ्चालक चित्रबहादुर विष्टका अनुसार शुक्रबार दिउँसो दुई लाख ९५ हजार नौ सय मूल्यको एनटर्क स्कुटर चोरी भएको थियो ।

चोरलाई जोगाउन प्रहरीको मिलेमतो भए/नभएकोबारे छानबिन गरेर कारबाही गर्न एसपी नवरत्न पौडेलको नेतृत्वमा समिति गठन भएको थियो ।

चोरीमा संलग्नलाई प्रहरीले पक्राउ नगरेको भन्दै सञ्चालक विष्टले असन्तुष्टि जनाउदै गुनासो गरे । विष्टले सीसी क्यामरा फुटेजसहित निवेदन सोहि दिन जिल्ला प्रहरी कार्यालय दाङमा बुझाए । त्यसपछि प्रहरी अनुसन्धानमा जुट्यो । माघ २४ मा घोराही-३ का कुमार रानालाई स्कुटर चोरीमा संलग्न भएको आरोपमा पक्राउ गरिएपनि मुद्दा नचलाइ छाडिएको थियो ।

दाङका डीएसपी राजन गौतमले पीडित पक्षले नै चोरी गर्ने मान्छे चिनजानको मान्छे भएकाले मुद्दा नचलाउन आग्रह गरेकाले छाडिएको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *