करिश्माबारे आपत्तिजनक अभिव्यक्ति दिएका डिल्लीरामविरुद्ध मुद्दा दर्ता
काठमाडौं। अभिनेत्री करिश्मा मानन्धरकाे निजी जीवनबारे आपत्तिजनक अन्तर्वार्ता दिएको आरोपमा पक्राउ परेका डिल्लीराम खनालविरुद्ध काठमाडौं जिल्ला अदालतमा आइतबार अभियोग पत्र दर्ता भएको छ।
सरकारी वकिल कार्यालयले खनालसहित उनको अन्तर्वार्ता लिएर प्रशारण गर्ने युट्युब च्यानल र यसका सञ्चालकलाई पनि प्रतिवादी बनाएको छ।
उनीहरुविरुद्ध एक लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय माग गरिएको छ।
अन्तर्वार्ता प्रशारण भएपछि करिश्माले साइबर ब्युरोमा जाहेरी दिएकी थिइन्। खनालले आफूले हल्ला सुनेको भरमा बोलेको बयान दिएका छन्। उनले पीडितको सन्दर्भ जोडिएको आफ्नो अन्तर्वार्ताको छोटो क्लिप टिकटक बनाएर भाइरल बनाइएको पनि उल्लेख गरेका छन्।