‘छड्के २.०’ : उफ्रन नसकेको ‘मेन्डक’ – Nepal Press
समीक्षा

‘छड्के २.०’ : उफ्रन नसकेको ‘मेन्डक’

काठमाडौं । फरक जनरामा आफूलाई स्थापित गर्न चाहन्थे अभिनेता अनमोल केसी । सधैं ‘लभर ब्वाय’को ट्याग भिरेका उनलाई फरक रुपमा देख्न सकिन्छ, चलचित्र ‘छड्के २.०’ मा । तर, अनमोलको ग्याङ्स्टार अवतारलाई दर्शकले भने सीधै खारेज गरिदिएका छन् ।

हलहरुमा ‘छड्के २.०’ को प्रारम्भिक व्यापार निराशाजनक छ । यसअघि अनमोलका कुनै पनि चलचित्रले यति कमजोर ओपनिङ गरेका थिएनन् । सँगै रिलिज भएको चलचित्र ‘छक्कापञ्जा ४’ ले आक्रामक व्यापार गरिरहेका बेला ‘छड्के २.०’ फ्लपको बाटोमा छ, जुन अनमोलका लागि ठूलो सेटब्याक हो ।

एक घण्टा ४० मिनेटको चलचित्रले दर्शकलाई बाँधेर राख्न नसक्नु नै यस चलचित्रको मुख्य कमजोरी देखिन्छ । फिल्ममा कथाको विकास पटक्कै स्वाभाविक र विश्वासिलो छैन ।

यार्सागुम्बा वरिपरि घुमेको कथामा अनमोलले ‘मेन्डक’ (भ्यागुतोलाई हिन्दीमा मेन्डक भनिन्छ, सम्भवतः त्यही शब्दलाई सापटी लिइएको)को भूमिकामा छन् । गुण्डा नाइके साम्तेनले यार्साका लागि मेन्डकको बुबाआमाको हत्या गर्छ । हत्याको बदला लिन मेन्डक चितवनमा ग्याङ बनाएर हुर्किरहेको छ । उसको एकमात्रै ध्येय भनेको साम्तेनको इहलीला समाप्त पारेर आफ्ना बुवाआमाको हत्याको प्रतिशोध लिनु हो ।

बदलाको कथामै जोडिन्छन् याङ्की, फिलिप, पपुलर । उनीहरुको क्यारेक्टरलाई चलचित्रले बलियोसँग स्थापित गरेको छैन । न कुनै अनुभूति, न कुनै बदलाको भावना, न कुनै सपना र उद्देश्य न त केही प्राप्ति गर्ने चाहना । फिलिप, याङ्की र पपुलर फिल्मका बुख्याँचा पात्रहरु हुन् ।

कुनै पनि कथामा जोडिएका हरेक पात्रको आफ्नो निश्चित गन्तव्य हुन्छ । केही न केही कारणले तानेर उनीहरु कथामा जोडिन्छन् र कुनै न कुनै ठोस कारणले उनीहरु कथाबाट अलग्गिन्छन् । फिल्ममा कुनै पनि पात्र क्यामेराको फ्रेममा देखिनुले मात्रै दर्शकलाई अनुभूति र एकाग्रताको यात्रामा लैजाँदैन । त्यो पात्रको विगत, त्यो पात्रको संघर्ष र साधनाले दर्शक तानिँदै जाने हो ।

याङ्की आफैंमा इञ्जिनियरिङ पढिरहेकी छन् । सँगै बारमा नाचिरहेकी पनि छन् । याङ्कीसँग मेन्डकको पहिलो भेट त्यही हुन्छ । तर, त्यहाँ लफडा हुन्छ । लगत्तै अर्को सिक्वेन्समा टाँगामा हिँडिरहेका मेन्डक र फिलिपले याङ्कीलाई देख्छन् । बाइक बिग्रेर बाटोमा चुरोट तानिरहेकी याङ्की विनासर्त, विनातर्क फिलिपलाई बाइकको जिम्मा दिएर टाँगामा चढ्छिन् । लगत्तै उनीहरुको परिचय हुन्छ । त्यसपछि अचानक याङ्की मेन्डकको गर्लफ्रेण्ड बन्छिन् ।

यति सहज र अस्वाभाविक घटना वास्तविक जीवनमा त सम्भव छैन । फिल्ममा देखाउँदा पनि दर्शकले पत्याउँदैनन् भनेर अहिले ‘छड्के २.०’ ले पुष्टि गरिरहेको छ । गर्लफ्रेण्ड बनिसकेपछि पनि मेन्डकको पछिपछि हिँडिरहनुमा याङ्कीको पात्रसँग कुनै गतिलो तर्क छैन । त्यसरी पिछलग्गू भएर हिँड्ने स्वभाव भएको पात्र पनि होइनन् तिनी ।

फिलिप विनाउद्देश्य बरालिएको अर्को पात्र हो । त्यो समूहमा जोडिनुको औचित्य कतै पुष्टि भएको छैन । घरिघरि अमेरिकाबाट बाउको फोन आउनुबाहेक फिलिपको अर्को काम छैन । फिल्ममा फिलिप फिलरको रुपमा प्रयोग भएका छन् । युरो-अमेरिकन टोन निकालेर नेपाली बोल्नुले मात्रै दर्शकलाई स्वाद दिँदैन । अन्य पात्रहरुको पनि हालत उस्तै छ ।

मेनडगलाई स्थापित गर्ने ध्याउन्नमा अन्य पात्रहरुलाई फिलरको रुपमा प्रयोग गरिएको छ । दर्शक त हरेक पात्रसँग जोडिन्छन् । चाहे त्यो पात्रको भूमिका तीन मिनेट नै किन नहोस् ! अथवा एक सिनमात्रै किन नहोस् । दर्शकले हरेक पात्रसँग अनुभूति साट्न चाहन्छन् । त्यही साटासाट गरिएको अनुभूतिमा आनन्द मान्छन् । हाँस्नुपर्ने ठाउँमा पात्रसँगै हाँस्छन् । रुनुपर्ने ठाउँमा पात्रसँगै रुन्छन् । आक्रोशित हुनुपर्ने ठाउँमा पात्रसँगै आक्रोशित हुन्छन् । सबै दर्शकलाई मुख्य पात्रले मात्रै खिचिरहन्छ भन्ने भ्रमबाट मुक्त हुन सकेको भएमात्रै ‘छड्के २.०’ ले दर्शकलाई छड्के हान्न सक्थ्यो ।

साम्तेनको भान्जा खजुरेकी श्रीमतीको भूमिकामा रहेकी सृजना सुब्बाको पात्र परिचयमै बोल्ड अवतारमा देखिन्छिन् । निर्णयक भूमिकामा छिन् जस्तो लाग्छिन् । लगत्तै त्यो पात्र यति सुस्त देखिन्छ कि दर्शकलाई झिँजो लाग्न थाल्छ । त्यति बोल्ड रुपमा देखिएकी पात्रले कतै न कतै निर्णायक ट्वीस्ट ल्याउँछ भनेर दर्शकको प्रतीक्षा हुन्छ । तर, तिनको निधारमा भ्यागुताको चित्र बनाउनुबाहेक अर्को गतिलो काम नै केही देखिँदैन ।

फिल्मको पटकथा अत्यधिक कमजोर छ । घटनाको विकास, उतारचढाव, ती उतारचढावमा पात्रहरुको उपस्थिति कतै पनि तालमेल छैन । सिर्फ पात्रहरुले ‘बीप’ हाल्नुपर्ने संवाद बोल्नुबाहेक अर्थोक गर्नै सक्दैनन् ।

छायांकनमा पनि ‘छड्के २.०’ले छड्के हानेको छ । चितवन, मनाङमा खिचिएको दृश्यमा कतै पनि कथाको मियो समातेर खिचिएको छैन । जे मनलाग्यो, त्यही सट हाने झैं लाग्छ दर्शकलाई । न फाइट सिनमा क्यामेरा राम्रोसँग चलाइएको छ न त अन्य सिनमा । फिल्मका लागि होइन, डकुमेन्ट्रीका लागि चलाइए जस्तो लाग्छ क्यामेरा । ब्याकग्राउण्ड स्कोरले दर्शकको कानलाई कुनै पनि कोणबाट तृप्ति दिँदैन । बरु झनझनाहट र बोरिङ महसुस गराउँछ ।

डनको भूमिकामा देखिएका मेन्डक अर्थात अनमोल केसी न डनको जस्तो स्वभावमा देखिन्छन् न त गल्ली फाइट गर्ने टोले गुण्डा जस्तो लाग्छन् । टोले गुण्डाको पनि आफ्नै खाले चरित्र र विशेषता हुन्छन् । टोले गुण्डासँग पनि आकर्षण गर्नसक्ने आफ्नै खाले कलर हुन्छ । त्यो पनि केसीमा देखिँदैन । डनको भूमिका त उनको हुलिया र चरित्रले सुहाउँदै सुहाउँदैन । निर्देशक निगम श्रेष्ठले जबरजस्ती अक्कडो चरित्र मुखमा कोचाइदिएपछि अनमोलले प्रयास चाहिँ गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर