ओलम्पियन रघुराज वन्तलाई ‘लाइफटाइम एचिभमेन्ट’ अवार्ड – Nepal Press

ओलम्पियन रघुराज वन्तलाई ‘लाइफटाइम एचिभमेन्ट’ अवार्ड

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक बर्ष आयोजना गर्ने एन्एसजेएफ अवार्ड २०७८ को ’लाइफटाइम एचिभमेन्ट’ अवार्ड जितेका छन् ।

वन्त २६ वर्षिय युवा मिस्टर काठमान्डू, राष्ट्रिय च्याम्पियन स्प्रिन्टर, नेपाल एमेच्योर एथलेटिक्स संघका अध्यक्ष, राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष, नेपाल ओलम्पिक कमिटीका महासचिव अनि ओलम्पियन हुन् ।

नेपाली खेलकुदमा रघुराज वन्तका थुप्रै आयामहरु छन् ।

नेपाली खेलकुद क्षेत्रमा उनी एउटा यस्ता ऐतिहासिक पात्र हून्, जसले खेलाडीका रुपमा ओलम्पिक सम्मको उच्चतम यात्रा तय गरे । प्रशिक्षकका रुपमा उत्कृष्ट खेलाडीहरु उत्पादन गरे । पदाधिकारीका रुपमा एथलेटिक्स संघ हाँके अनि राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्ष र नेपाल ओलम्पिक कमिटीको महासचिव सम्म भए। खेलकुदमा यस्ता पात्र दोस्रो छैनन् ।

खेलकुदमा फक्रिन माहोल चाहिन्छ, रघुराज यस मानेमा भाग्यमानी थिए की चाक्सीबारीको आफ्नै घरमा उनले त्यो वातावरण भरपुर मात्रामा पाए ।

बुबा गणेश राज वन्त नरशम्शेरको पालाका नामूद फुटबल खेलाडी थिए। उ बेला भारतबाट हक्की स्टिक ल्याएर नेपालमा खेल्ने पुस्ताका खेलाडी ।

बुबा, बाजे दरबारमा काम गर्ने । शहिद धर्मभक्त माथेमा वन्तका आफ्नै फुपुको छोरा । अनि रघुराज वन्त के कम र।
शारिरीक सुगठनका शौखिन उनी २४ वर्षमा मिस्टर काठमान्डू बनेका थिए ।

उनले नखेलेको खेल पनि कम छ। फुटबल, रक क्लाम्विङ, हक्की, टेबल टेनिस र बक्सिङ पनि। कायाकिङका त पहिलो ब्याचका खेलाडी हुन वन्त ।

यद्यपी उनको प्रिय खेल हो एथलेटिक्स र उनको विधा १०० मिटर स्प्रिन्ट, जहाँबाट वन्तको वास्तविक छवी खुलेको थियो । १०० मिटरमा एकछत्र राज गरेका उनी ७ वर्ष लगातार च्याम्पियन भएका थिए ।

पढाईमा अब्बल, चाक्सीबारी घरानाका अनि हक्की स्वभावका वन्त तत्कालिन राजकुमार धिरेन्द्र शाहलाई हात मिलाउँदा ५ वर्ष निलम्बनमा परेको थियो । तर सरकारबाटै माफि पनि भएको थियो रे ।

खेल्दा खेल्दै वन्त जापानमा पढ्न गए। त्यहाँ स्पोर्ट्स फिजोलोजी पढ्दा नेपालका एक समयका चर्चित जर्मन प्रशिक्षक गुन्टर लाँगे उनका क्लास मेट थिए । र त्यो ज्ञानलाई उनले नेपालमा बाँडेका हुन्। बैकुण्ठ मानन्धरले पहिलो दक्षिण एसियाली खेलकुदमा पहिलो स्वर्ण जित्दा वन्त उनका मेन्टर थिए । नेपाली सेनालाई त उनले धेरै वर्ष च्याम्पियन बनाए ।

वन्तले जीवनमा खेलकुद बाहेक अरु कुरा सोच्दै सोचेनन् । जे गरे खेलकुदकै लागि गरे । ८० को दशकमा वन्त रोड रेसका पायोनियर थिए । आफ्ना सहकर्मी रचेलाहरुले उनको सम्मानमा वन्त गोल्डेन स्प्रिन्ट मिटू नामको प्रतियोगिता नै शुरु गरेको थिए ।

प्रजातन्त्र प्राप्ती पछि नेपाल एथलेटिक्स संघको अध्यक्ष बनेका वन्त राखेपको सदस्य हुंदै कोषाध्यक्ष र नेपाल ओलम्पिक कमिटीको महासचिव बने ।

तर पदाधिकारीको रुपमा जिम्मेवारी बहन गर्दा भने उनको यात्रामा थुप्रै आरोह अवरोह आयो। फलत उनले यी सबै जिम्मेवारीहरु एकैपटक चटक्कै त्यागिदिए । खेलकुदमा चुर्लुम्म डुबेका ब्यक्ति एकाएक खेलकुदबाट टाढिन खोजेका थिए आध्यात्मिक दुनियाँमा ।

तर मनले के मान्थ्यो र । भौतिक रुपमा उपस्थिति नभएपनि भित्रभित्रै खेलाडीहरुलाई निरन्तर सहयोग गरिनै रहे वन्तले ।
उनको पुनरागमन भयो १२ औं साग पछि अझ बलियो मनोबलका साथ, नयाँ नयाँ खेलाडी खोज्ने अभियानका साथ भयो । खेलाडीको क्षमता पढ्न अब्बल उनले दुई वर्षको बीचमा नै उनले सन्तोषी श्रेष्ठ जस्तो खेलाडी उत्पादन गरे। जसले १३ औं सागमा पहिलो महिला एथलेटिक्स खेलाडिको कीर्तिमान रच्दै सागमा स्वर्ण जितिन् ।

अहिले ७२ वर्षका भए रघुराज वन्त पुरै जीवन खेलकुदमा समर्पित भइसक्यो, खेलकुदबाट जति पाए त्यो भन्दा बढी दिइसके । अहिले उनले एउटा लक्ष्य कोरिसकेका छन् सन्तोषी जस्तै खेलाडीहरु उत्पादन गर्दै जाने । यसरी नै बाँकी जीवन एथलेटिक्स ट्रयाकमै बिताइदिने ।

दशरथ रंगशामा पुग्नुपर्छ, उनी त्यहाँ कुनामा बसेर खेलाडी नियालीरहेका भेटिन्छन् । न उनलाई पूर्वपदाधिकारी हुनुको घमण्ड छ न ओलम्पियन हुनुको शान झार्ने शौख। न कसैबाट केही पाउने आश ।

खेलकुद क्षेत्रले उनलाई कतिको चिने थाहा छैन। नेपाल खेलकुद पत्रकार मञ्चले भने उनलाई उनको आजीवन योगदानको उच्च मुल्याँकन गर्दै एनएसजेएफले उनलाई लाइफटाइम एचिभमेन्ट अवार्ड २०७८ प्रदान गरेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *